गण्डकीमा लगानीका लागि उद्ममीहरुको भेला, लगानी गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा ।
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रदेश सरकारले उद्यमी, व्यवसायीलाई आह्वान गरेको छ । यसक्रममा प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्यमी लगानीकर्ता सम्मेलनमार्फत उक्त आग्रह गरेको हो । सम्मेलन कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रमा शनिबार भएको थियो । सम्मेलन आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले मन्त्रालयसँग सहकार्य गरेको थियो ।
सम्मेलनमा गण्डकी प्रदेशका उद्यमी व्यवसायी सहभागी थिए । त्यस अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै रुचिका क्षेत्रमा लगानी गर्न व्यवसायी र उद्यमीलाई आग्रह गरे । ‘कमसेकम एउटा मेगा प्रोजेक्ट ल्याइदिनोस्,’ लगानीकर्तालाई उनले भने । समृद्ध प्रदेश बनाउन राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानी नभई नहुने उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले जग्गा उपलब्ध गराउन कठिन हुने गरेको अनुभव बाँडे । उद्यमीहरुले गर्ने लगानीको अधिकांश लागत जग्गामा लाग्ने गरेको पनि उनको भनाइ थियो ।
उद्योग मन्त्री मणिभद्र शर्माले लगानीकर्तालाई गण्डकी प्रदेशले तय गरेका समृद्धिका आधारमा लगानीका लागि आग्रह गरे । उनले प्रदेशले पर्यटनलाई समृद्धिको प्रमुख आधार मानेको जानकारी दिए । पोखराका मेयर धनराज आचार्यले पोखराको समृद्धिको आधार पनि पर्यटन नै भएको बताए । उनले भने, ‘पोखराको पर्यटनमा खर्बाैंको लगानी भएको छ, यो पनि एउटा उद्योग हो, सरकारले उद्योगको परिभाषालाई यसरी पनि हेर्नुपर्छ ।’ उनले पर्यटन क्षेत्रका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिने जानकारी पनि दिए । ‘हामी लगानीकर्तालाई रेडकार्पेट ओछ्याएर स्वागत गर्न तयार छौं,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जताको सरकारले सहजीकरण गरिदिन्छ, उद्यमी र लगानीकर्ता त्यतै जाने विचार प्रकट गरे । तसर्थ उद्यमी व्यवसायीका लागि सजिलो र सुविधा उपलब्ध गराउन उनले आग्रह गरे । ‘राज्य सपोर्टिभ भयो भने छोटो समयमा धेरै काम गर्न सक्छौं,’ उनले भने, ‘त्यसको प्रतिफल राज्यलाई पनि हुन्छ ।’ उनले निजी क्षेत्रको लगानीलाई पनि राज्यले आफ्नै ठानेर काम गर्दा मलेसियामा समृद्धि हाँसिल भएको त्यहाँका एकजना पूर्वप्रधानमन्त्रीसँगको भेटवार्ता र अनुभव पनि कार्यक्रममा बाँडे ।
महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले पनि उद्यमीका लागि अनुकूल वातावरण तयार गरिदिन अनुरोध गरे । उद्यमी अरुण सुमार्गीले सुकिलामुकिला मान्छेहरुले माटो नछोएसम्म कृषिमा व्यावसायिकीकरण हुन नसक्ने बताए । उनले स्पेल्ना नामको लेउको खेती गण्डकी प्रदेशमा गर्न सकिने सुझाव दिए । पार्किया जातको रुख १२ लाख रुपैयाँमा बिक्री हुने पनि सुमार्गीले सुनाए ।
प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकारले आयोजना तथा योजना बैंकहरु बनाएर लगानीकर्तालाई लगानीको क्षेत्र छुट्याइदिनुपर्ने विचार राखे । मन्त्री कँडेलको अध्यक्षताको कार्यक्रम उद्योग महशाखा प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए भने योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले समेत बोलेका थिए । लगानीकर्ता सम्मेलनमा पर्यटनकर्मी लक्की कार्की, टीकाराम सापकोटा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।










पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया