पाेखराकाे फिर्के नहरमाथि धराप !

सञ्जय रानाभाट २०७९ साउन २१ गते १३:३२

सँगै हिँड्दा श्रीमान् श्रीमती यही नहरमा परेर श्रीमतीको मृत्यु भयोे । अहिले यस्तो अवस्था हुँदा पनि कसैले स्ल्याब हाल्न पहल गरेको छैन ।
विष्णुमाया लामिछाने, स्थानीय

सञ्जय रानाभाट
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ र ५ जोड्ने गरी फिर्के पुलमाथि बागलुङ राजमार्गमा साँघुरो पुल छ । राजमार्ग ६ लेनको तर पुल २ लेनको हुँदा तीव्र गतिका सवारी साधन अनियन्त्रित हुँदा दुर्घटनामा पर्ने गरेका छन् । पोखरामा पछिल्लो समय सबैभन्दा बढी दुर्घटना हुने ठाउँ फिर्के पुल आसपास बनेको छ ।


पुलमा दायाँबायाँ २÷२ लेन बढाएर ६ लेनको बनाउन २०७५ असोजमा ८ गते सम्झौता पुल निर्माणको म्याद सकिँदा पनि पुल निर्माण अगाडि बढ्न सकेको छैन । राजमार्गको त्यो पुल आडैमा अर्काे पनि पुल छ, जहाँबाट लभ्लीडाँडातिर पुगिन्छ । त्यो पुलले पनि जोखिम निम्त्याइरहेको छ । वडा नम्बर ४ र ५ नै जोड्ने सिँचाइका लागि बनेको फिर्के खोलामाथि नहर छ । त्यही नहरलाई पुलको काममा प्रयोग गर्न ढकन हालिएको छ ।

Advertisement


मालेपाटन, पस्र्याङ र लभ्लीडाँडा जाने पैदलयात्री, स्थानीय, बाइक चालक यो नहरमाथिबाट हिँड्छन् । छोटो र नजिकको दूरी भएकाले विकल्पका रुपमा यात्रुहरुले यही बाटो रोज्छन् । उक्त नहरमाथिको ढकन केही दिनदेखि पोखरामा परेको झरीले खसाल्यो । ढकन (स्ल्याब) खसेको साता दिन पुग्न लाग्दा पनि अर्काे हालिएको छैन । मानिसहरु दिनहुँ त्यही बाटो जोखिम मोलेरै हिँडिरहेका छन् ।


‘घुमेर जानुभन्दा यो सबैले प्रयोग गर्छन्, अस्ति बिहान धन्न एउटा बाइक परेन,’ स्थानीय विष्णुमाया लामिछानले भनिन्, ‘राति नै पानीको बेगले स्ल्याब फालेछ । बिहान आउने मान्छेले नदेखेपछि बाइक धन्न परेन । बाइक बिग्रिए पनि मान्छेलाई केही भएन ।’ स्थानीय सरकारदेखि सिँचाइ कार्यालयले अर्को स्ल्याब हाल्ने पहल नगर्दा यात्रुहरु हत्केलामा ज्यानको बाजी राखेर यात्रा गरिहेका छन् ।

Advertisement


उक्त पुलबाटै हिँड्दा एक जना महिलाको नहरमै परेर मृत्यु भएको स्थानीय सम्झन्छन् । स्थानीय लामिछानेले ४÷५ वर्षअघि श्रीमान् र श्रीमतीसँग हिँड्ने क्रममा उक्त ठाउँमा मृत्यु भएको सुनाइन् । ‘सँगै हिँड्का श्रीमान्÷श्रीमती पनि यही नहरमा परेर श्रीमतीको मृत्यु भयोे,’ उनले भनिन्, ‘अहिले यस्तो अवस्था हुँदा पनि कसैले स्ल्याब हाल्न पहल गरेको छैन ।’ वडालाई खबर गरेर हेर्न आएपनि स्ल्याब हाल्न पहल नगरेको उनले बताइन् ।


पोखरा मालेपाटनको सिँचाइका लागि नहर बनाएरपछि त्यसैमाथि पुल बनाइएको हो । बर्खायाममा यति पानीको आवश्यकता नपर्ने भए पनि हिँउदमा यो नहरबाट मालेपाटनवासीले कृषिखेती उक्त सिँचाइको लाभ लिन्छन् । विष्णुमायाले बाटो हिँड्ने यात्रुहरुले नहरको पानी सुकाइदिन आग्रह गर्ने गरेको बताइन् । ‘नहरको पानी सुकाइदिन भन्छन् । कहाँबाट बन्द गर्ने हो । मलाई केही थाहा छैन । सम्बन्धित निकायले पनि नहरको पानी बन्द गरेको छैन,’ उनले भनिन्, ‘साना बालबालिका, भारी बोकेका मान्छे हिँड्दा डर लाग्छ । छिटोभन्दा छिटो कि पानी सुकाइदिनुप¥यो हैन, भने मर्मत गरिदिनुपर्छ ।’


पस्र्याङ बस्दै आएका रामप्रसाद रेग्मी पनि आफू ओहोरदोहोर गर्दा डर लाग्ने बताउँछन् । ‘यहाँ राज्यको मनलाग्दी छ । कसैले कसैको मतलब राख्दैन,’ उनले भने, ‘म दैनिक ३ पटक ओहोरदोहोर गर्छु । कहिले के हुने हो । थाहा छैन । नयाँ मान्छे यो बाटो हिँड्दा फेरि दुर्घटना नहोला भन्न सकिँदैन ।’ उनले उक्त बाटोको विकल्पमा अरु बाटो नजिक नभएकाले यही बाटो प्रयोग गरेको बताए । आफूले समस्या बताए पनि सम्बन्धित निकायहरु वडा, महानगर, सिँचाइ कार्यालय चुप लागेर बसेको रेग्मीले बताए ।

पोखरा ५ का कार्यबाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले भने यस विषयमा आफूहरु जानकार भएकाले छिट्टै स्ल्याब हाल्ने व्यवस्था गर्ने बताए । ‘हामीहरुले पनि आजै (शुक्रबार) अनुगमन गरेका छौं । छिटोभन्दा छिटो समस्या समाधन गर्छाैं,’ पराजुलीले भने । पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले यस विषयमा ध्यानकर्षण भइसकेकाले तत्काल समस्या समाधान गर्ने बताएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया