उपन्यास ‘छाइल’ काे समीक्षा

समाधान संवाददाता २०७९ साउन २३ गते १३:४९

पोखरा ।
लोकराज भट्टको चर्चित उपन्यास ‘छाइल’ पोखरेली पाठकहरुले पनि रुचाएका छन् । डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरुले बताएका छन् ।

आइतबार ‘पुछारसिटे अभियान‘ को संयोजनमा प्रकाशक ‘बुक्स हिमालय’ ले हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजना गरेको ‘छाइल विमर्श’ कार्यक्रममा मिहिन ढंगले पुस्तकको समीक्षा गरिएको छ ।

‘यति मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ कि उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यताको छायाँ हो छाइल’ डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ छायाँ । ‘छाइल’ मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन् । पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले उजिल्याउने जमर्को गरेको छ ।

Advertisement

कार्यक्रममा समीक्षक गौरी तमूले भनिन्, ‘सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा बोकेको उपन्यास छाइलमा काव्यात्मक भाषा प्रयोग गरिएको छ । यो पठनिय कृति हो’ । उपन्यासमा अनाम गाउँका एक युवाको सपना र सङ्घर्षको हृदय पगाल्ने कथा छ । यसले जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ । सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्’ ।

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुसग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ । यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीयकथा भेटिने छ । जीतुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउँछ । ‘छाइल’ मा माटोको रङ मजाले पोतिएको छ । प्रकृतिको सङ्गीतले मनलाई शीतलो पारिदिन्छ । डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन् । सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन । संवाद सूक्तिमय छन् ।

Advertisement

कार्यक्रममा पाठकका तर्फबाट हसिना बस्नेतले भनिन्, ‘छाइलमा बाल मनोविज्ञानको मिठो चित्रण गरिएको छ’ । बेलाबेलामा डेउडा गाउँदै सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले रोचक ढंगले कार्यक्रम चलाएका थिए । कार्यक्रममा छाइलका अर्का पाठक एवं पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यस अघि पढेको थिइनँ’ ।
त्यस अबसरमा समीक्षकहरुले उपन्यासको कमजोरी पनि औंल्याएका थिए ।

‘यसमा वर्तमाना सुदूरपश्चिमको तस्बिर त राम्रोसँग आएको छ’, समीक्षक पौडेलले भने, ‘उपन्यासकारले भबिश्यको सदूरपश्चिमको मार्गचित्र पनि दिन सक्नु पथ्र्यो । दिएका छैनन’ । समीक्षक तमूले त उपन्यासमा महिला पात्रलाई कमजोर रुपमा उभ्याएकोमा असहमति जनाइन् । ‘सुदूरपश्चिममा जसले पनि बाका मात्र कुरा ल्याउँछन्। बाका मात्र पीडा देखाउँछन् । आमाका कथा किन आउँदैनन’, उनले सोधिन्, ‘के छोराछोरीका लागि बाले मात्र सपना देख्छन् । आमाले देख्दैनन् ?’

कार्यक्रममा नेपाली साहित्यका शिखर पुरुष सरुभक्तले आशीर्वचन प्रदान गरेका थिए । उनले समाजको वास्तविक कथा बोकेको साहित्य नै मौलिक साहित्य हुनेमा जोड दिए । ‘छाइल’ उपन्यास जस्तै कृतिहरु भोलि अनुवाद भएमा विश्व साहित्यले नेपालको अबस्था बुझ्नेछ’ उनले भने, ‘सुदूरपश्चिम, कर्नाली र हिमाली साहित्य अझै लेखिनुपर्छ’ । उपन्यासकार भट्टले सबै पाठक र समीक्षकलाई धन्यवाद दिँदै उनीहरुको सल्लाह मनन गर्ने बताए ।

प्रकाशन संस्थाका प्रमुख पवन शाक्यकाअनुसार पोखराबाट सुरु भएको पुस्तक यात्रा क्रमशः चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्नेछ ।

तपाईको प्रतिक्रिया