
जोमसोम ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिए पनि उपल्लो मुस्ताङ अहिले प्रायः सुनसान छ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएका सीमावर्ती क्षेत्रका गाउँमा आसन्न निर्वाचनको कुनै रौनक देखिन्न ।
उपल्लो मुस्ताङमा अहिले बिहान र बेलुकी तापक्रम माइनस ५ डिग्रीमा झरेको छ । दिउँसो घाम लाग्दा केही न्यानो छ । कात्तिक लागेपछि उपल्लो मुस्ताङमा घरका धारा, सेफ्टी ट्याङ्की, कुलो, नदी आफैं जमेर बरफ बन्छन् ।
अत्यधिक चिसोले स्थानीयको दैनिक जनजीवन प्रभावित हुने भएकाले उपल्लो मुस्ताङी हिउँद याममा चिसो छल्न बेसी झर्ने सदिंयौदेखिको परम्परा हो । बेसी झरेका कतिपयको पोखरा, काठमाडौंमा आफ्नै घर छन् ।
३५ सय मतदाता रहेको उपल्लो मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेंसी झरिसकेका छन्
समुन्द्री सतहको करिब ४ हजार मिटर उचाईमा अवस्थित उपल्लो मुस्ताङका दुई गाउँपालिका हुन्ः लोमान्थाङ र लोघेकर दामोदरकुण्ड । यी मुस्ताङको प्रदेश (१) निर्वाचन क्षेत्रभित्र पर्दछन् । अहिले मुस्ताङका राजनीतिक पार्टीले घरदैलो अभियानलाई तीव्रता दिए पनि गाउँमा मतदाता नहुँदा उम्मेदवारको मत माग्ने काम प्रभावित बनेको छ ।
उपल्लो मुस्ताङको सीमावर्ती गाउँका अधिकांश घरका ढोकामा अहिले ताल्चा मारिएको देखिन्छ । केही घरमा एक जना घर कुरुवामात्र छन् । बाँकी सबै चिसो छल्न बेसी झरिसकेका छन् ।
लोमान्थाङ गाउँपालिका ५ का वडा सदस्य छेवाङ रिङझिङ गुरुङले उपल्लो मुस्ताङका ६० प्रतिशत नागरिक चिसो छल्न बेसी झरिसकेको जानकारी दिए । ‘लोमान्थाङमा करिब ९ सय जनसंख्या छ । अहिले निर्वाचन मिति नजिकिए पनि गाउँमा १ सय ५० देखि २ सय जतिमात्र छन्,’ वडा सदस्य गुरुङले भने, ‘गाउँमा सीमित मान्छे मात्र छन् । उनीहरु पनि भोट खसालेर बेसी झर्ने तयारीमा छन् ।’
उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका साबिक गाविस लोमान्थाङ, छोसेर। छोनुप लगायतका गाउँमा घरहरु रित्तो रहेको एमालेका प्रदेश (१) का उम्मेदवार ईन्द्रधारा बिष्टले सुनाए । ‘मैले आइतबारदेखि मत माग्न घरदैलो सुरु गरेको छु ।
मेरो क्षेत्रका १० वटै वडा घुमिसकें,’ उम्मेदवार बिष्टले भने, ‘लोघेकरका यारा, घारा, ढि, सुर्खाङ लगायतका केही गाउँमा मतदाताको उपस्थिति देखिए पनि अघिकांश वडाका मतदाता जिल्लामा छैनन् ।’
नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार योगेश गौचन थकाली पनि अहिले उपल्लो मुस्ताङमा घरदैलो गर्दै छन् । उनले उपल्लो मुस्ताङमा घरदैलो गर्दा मतदाता भेट्न मुस्किल परेको बताए ।
‘निर्वाचन नै जाडो समयमा पर्यो, यो बेला यहाँका मतदाता जिल्लामा बस्दैनन् भन्ने थाहा नै छ,’ उम्मेदवार थकालीले भने, ‘यहाँ जति मतदातालाई भेट्न सक्यौं सक्यौ, बेसी झरेकाले बेसीनै पुगेर मत माग्न पर्ला, उनीहरुलाई जिल्लामा फर्काएर मतदानमा सरिक गर्नु नै चुनौती छ ।’
उपल्लो मुस्ताङमा पशुपालक कृषक र गोठालाहरु गाउँमा छन् । गाउँमा भोट खसाल्ने प्रतिक्षामा बसेका केही नागरिकबाहेक पूरै उपल्लो मुस्ताङ सुनसान छ । केही उपल्लो मुस्ताङी हिउँयामको मौसममा घुम्ती व्यापार गर्न छिमेक देश भारतसम्म पुग्छन् ।
उपल्लो मुस्ताङमा एकबाली मात्र खेतीपाती हुन्छ, खेतीपातीले बाह्रै महिना पुग्दैन ।
यार्तुङ पर्व सुरु सकिएपछि उपल्लो मुस्ताङमा चिसो बढ्न सुरु गर्छ । त्यस बेलासम्म उपल्लो मुस्ताङीले अन्न्बाली घरमा भित्र्याइसकेका हुन्छन् । चिसो छल्न बेसी झरेका र हिउँदै व्यापारमा बेसी झरेका मुस्ताङी गर्मी बढेपछि बैशाख महिनामा उकालो लाग्छन् ।
उपल्लो मुस्ताङका दुई पालिकाका सामुदायिक र गुम्बा बिद्यालय चिसो छल्न घुम्ती कक्षा सञ्चालन गर्न असोजमै पोखरा झरिसकेका छन् । यसरी बेसी झरेका घुम्ती विद्यालय पनि बैशाख महिनामा साविककै स्थानमा आएर पठनपाठन सुरु गरिन्छ ।
तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, थासाङ र घरपझोङ गाउँपालिकामा पनि मतदातालाई अन्नबाली थन्क्याउन र हिउँदेबाली लगाउन भ्याईनभ्याई छ । मतदाताको व्यस्तता र मतदाता जिल्लामा नहुँदा अपेक्षा गरिए अनुसारको मतदााताको सहभागी नहुने देखिएको छ । उपल्लो मुस्ताङका २ पालिकामा ३ हजार ५ सय ४१ जना मतदाता र १६ मतदान केन्द्र छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया