प्रदेश संसद कति समावेशी ?

प्रमिला कुँवर २०७९ मंसिर १९ गते १०:३७

प्रमिला कुँवर, पोखरा ।
मंसिर ४ गते भएको आम निर्वाचनको नतिजा अब लगभग आएको छ । गण्डकी प्रदेशमा स्याङ्जा २ को नतिजा आएपछि गणना बाँकी कतै रहन्न । यो निर्वाचनबाट गण्डकी प्रदेश सभाका लागि प्रत्यक्षबाट ३६ जना निर्वाचित हुन्छन् । बाँकी २४ जना समानुपातिक प्रणालीबाट आउँछन् र ६० सदस्यीय प्रदेश सभा हुन्छ ।

नेपालको संविधानले समानुपातिकमात्रै होइन समावेशी सिद्धान्त अंगिकार गरेको छ । संसदमा ३३ प्रतिशत महिला अनिवार्यको संवैधानिक व्यवस्था छ । तर दलहरुले प्रत्यक्षतर्फ महिलालाई कम अवसर दिए । एमालेले ३ जनालाई प्रत्यक्ष उम्मेदवार बनाएमध्ये २ जनाले जितेका छन् ।

माओवादीकी एकमात्रै महिला उम्मेदवार अमृता थापामगर स्याङ्जा १ (१)मा एमालेकी महिला उम्मेदवार सीता सुन्दाससँग पराजित भइन् भने कांग्रेसले कहीं पनि महिलालाई उम्मेदवार बनाएन । नवलपुर २ (१) मा एमालेकै पद्मा जिसी चुनिएकी छन् ।

Advertisement
  • —प्रत्यक्षमा २ महिला एमालेबाट निर्वाचित हुँदा कांग्रेस र माओवादीबाट शून्य
  • —कांग्रेस, एमाले र माओवादीबाट खसआर्यकै बर्चस्व

उम्मेदवार उठाउने बेलामै दलहरुले दलित, महिला, जनजाति तथा पछाडि पारिएका वर्गलाई पार्टीले उपेक्षा गरेका थिए । समावेशिता ध्यानमा राख्न भने पनि माथिल्लो वर्ग र पहुँवालालाई मात्र टिकट पाएको देखिन्छ ।

प्रतिनिधि सभामा प्रदेशभर पार्टीगत तथा स्वतन्त्र गरी ८ जना दलित तथा ३ मुस्लिमको उम्मेदवारी परेको थियो । तीमध्ये १ जना पनि निर्वाचित हुन सकेनन् । प्रदेश सभामा १३ दलित र ३ जना मुस्लिमको उम्मेदवारी परेकोमा स्याङ्जाबाट सुन्दास निर्वाचित भएकी छन् ।

Advertisement

कांग्रेसले प्रतिनिधि सभामा १० क्षेत्र जितेको छ । जसमा आदिवासी ३ जना निर्वाचित भएका छन् । मुस्ताङमा योगेश गौचन थकाली विजयी भएका छन् । मनाङमा टेकबहादुर गुरुङ र म्याग्दीमा खमबहादुर गर्बुजा निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित उम्मेदवारमध्ये २ जनामात्र जनजातिले चुनाव जितेका छन् । लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् भने कास्की १ मा मनबहादुर गुरुङ विजयी भएका छन् ।

एमाले उम्मेदवार ५ क्षेत्रमा विजयी बनेको छ । एमालेले प्रतिनिधि सभा सदस्यमा ३ जना महिला उठाएकोमा कास्की २ बाट विद्या भट्टराई निर्वाचित भएकी छन् । कांग्रेस र माओवादीले प्रतिनिधि सभामा महिला उम्मेदवार उठाएनन् ।

प्रदेश सभामा कांग्रेसबाट जितेका १८ मध्ये १० जना खसआर्य, ८ आदिवासी जनजाति छन् । प्रदेश सभामा एमालेले १२ क्षेत्र जितेको छ । जसमा जनजातिबाट ३ जना निर्वाचित भएका छन् । खसआर्यबाट ७ जना छन् । २ जना महिला छन् ।

  • तीमध्ये एक खसआर्य र एक दलित समुदायका हुन् । समावेशिताको सबैभन्दा धेरै वकालत गर्ने पार्टी हो माओवादी केन्द्र । तर यो पार्टीबाट एक जनामात्र जनजाति निर्वाचित भएका छन् । बाँकी ४ जना खसआर्य समुदायका हुन् ।
  • गण्डकी प्रदेश सभामा समावेशिता
  • पार्टी जितेको सिट महिला दलित आदिवासी जनजाति खसआर्य
  • कांग्रेस १८ ० ० ८ १०
  • एमाले १२ २ (दलित महिलासहित) १ ३ ७
  • माओवादी केन्द्र ५ ० ० १ ४
  • स्वतन्त्र १ ० ० १ ०
  • जम्मा ३६ २ १ १३ २१

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया