मुस्ताङको विकासमा पूर्व सांसदहरुको चाँसो भन्छन्,‘विकास निर्माणलाई गति देउ’

पूर्व सांसद तुलाचनले भने,‘ नेतृत्वमा जो आएपनि हामीलाई कुनै फरक पर्दैन,मात्र हाम्रा चाहना हो विकास र समृद्धिले गति प्राप्त गरोस् ।’

समाधान संवाददाता २०७९ मंसिर २२ गते १६:४८
विकासको काम गति दिनपर्ने भन्दै सडक विभागमा पुगे मुस्ताङ पूर्व सांसदसहितको टोली ।

जोमसोम– समाधान दैनिकमा ‘राष्ट्रिय गौरवको सडकमा ठेकेदारको ठट्टा’ शिर्षकमा समाचार प्रकाशित भयो । उक्त समाचार समाधानको अनलाईन पोर्टलमा पनि प्रकाशित भयो । समाचार प्रकाशित भएसंगै मुस्ताङका नेकपा एमालेका पूर्व सांसदहरुले राष्ट्रिय गौरवको सडक र अन्य जिल्लाका विकास योजनामा चाँसो दिए ।
मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको नेतृत्वमा एक टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमा पुगे । टोलीमा गण्डकी प्रदेशका पूर्व सांसद महेन्द्रबहादुर थकाली ,ईन्द्रधारा बिष्ट, एमाले मुस्ताङ जिल्ला अध्यक्ष आशबहादुर थकाली र समाजसेवी केमी छेचाङ गुरुङ थिए । उनीहरुले सडक विभागका महानिर्देशक अर्जुन जंग थापा र उत्तर÷दक्षिण तथा व्यापारिक मार्ग निर्देशानालयका आयोजना निर्देशक श्याम खड्का र सीबीई राजेश पौडेललाई विभागमै पुगेर भेटे । त्यसबेला पूर्व सांसदसहितको टोलीले (बेनी–जोमसोम–कोरला)सडकका आयोजना प्रमुख जगत प्रजापतीलाई पनि विभागमै बोलाईयो । सो अवसरमा पूर्व सांसद तुलाचनसहितको टोलीले राष्ट्रिय गौरवको सडकसहित अन्य जिल्लाको विकास योजना भईरहेका ढिलासुस्तीकाम बिषयमा बेली बिस्तार लगाए । मुस्ताङको समग्र विकासमा निर्माण कन्ट्रक्सनकै ढिलासुस्तीले आफुहरु निर्वाचनमा पराजय व्यवहोर्न परेको समेत विभागमा सुनाए ।
विकासलाई गति दिनुपर्ने माग राख्दै सडक विभाग पुगेका पूर्व सांसदहरुको टोलीले आफुहरु निर्वाचनमा पराजय भएपनि मुस्ताङको समग्र विकासमा उक्तिकै चाँसो रहेको जनाए । निर्वाचनमा हामी पराजय भयौ,अब हामीलाई यसमा कुनै मतलव छैन भन्ने हुँदैन, हाम्रो चाहना भन्नेकै जिल्लाको समृद्धि र विकास हो, विकासलेनै विभिन्न अवसर सृजना गर्छ ,यसैले ढिलासुस्तीको योजनालाई यथाशिघ्र तीब्रता दिईयोस् ।’
सडक विभागको ध्यानआर्कषण गर्न पुगेका यसअघिका पूर्व सांसदसहितको टोलीले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा निर्माण कम्पनीका कारण ढिलासुस्ती भएको दोहो¥याई रहे । उनीहरुले एमालेको कार्यकालमा सुरु भएका विकास योजना सुस्त भईरहेको र अब विभागले त्यसलाई तीब्रता दिन कडा एक्सनको नीति लिनुपर्ने उल्लेख गरेका छन् ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत मालढुङ्गा –बेनी १३ किमी सडक ,चराङ –छोसेर २५ किमी सडक, खन्ती–जोमसोम १६ किमी सडक,जोमसोम–कागबेनी कालोपत्रे सडक र अन्य पुलहरु समेत निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र परिरहेको पूर्व सांसदहरुले विभागका निर्देशक थापालाई बताए ।
मालढुङ्गा–बेनी १३ किमी सडक दुई वर्ष अघि ठेक्का सम्झौता भएको थियो ।अहिले सो सडकको काम ठप्पै छ ।
राष्ट्रिय गौरवको सडक २०७४ सालदेखि सुरु भएपनि ६ खण्डको काम सकिदा चराङ–छोसेर २५ किमी सडकको काम पुरा हुन सकेको छैन । तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको उक्त खण्डमा ८५ प्रतिशत काम हुँदा दुई वर्षदेखि सडक स्तरोन्नतिको काम ठप्पै छ । यसै गरी आयोजना अन्तर्गत बेनी–जोमसोम चौथो खण्डको काम पनि अहिले ठप्पै छ । कोवाङ–जोमसोम १६ किमी सडक स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । ७ करोड ५२ लाख लागत उक्त खण्डको काम निर्माण कन्ट्रक्सनले अलपत्र छाडेको हो । कन्ट्रक्सनले जोमसोम बजार क्षेत्रका केही काम गरेपनि बाँकी काम लथालिङ छाडेको छ ।
यस्तै, गतवर्षको सुरुआती चरणमै ठेक्का सम्झौता भएको जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडकको काम पनि अलपत्र छ । कन्ट्रक्सनले १४ महिनामा जम्मा ७ प्रतिशत काम गरेर बाँकी काम त्यसै छाडेको हो ।कालोपत्रेका लागि आत्रेय सारस जेभीले लागत भन्दा आधा रकम घटेर २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । अहिले निर्माण कन्ट्रक्सनका प्रतिनिधि पनि सम्पर्कमा छैनन् । यस्तै, राष्ट्रिय गौरवको सडक अन्तर्गत मार्फा,कागबेनी,छुसाङ, घमी र चराङ लगायतका स्थानमा निर्माणधिन सडक पुल पनि निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र परेको छ ।
यसअघि बेनी–जोमसोम–कोरला सडक आयोजनाले दुई÷दुई पटक निर्माण कम्पनीलाई काममा फर्किन चेतावनी पत्र विभागमा पठाएपनि निर्माण कम्पनीहरुले त्यसलाई अटेर गरी बसेको पाईएको छ । मुस्ताङका पूर्व सांसदसहितको टोलीले राष्ट्रिय गौरवको सडकमा देखिएका वेथितीहरुको जानकारी गराएपछि सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले निर्माण कम्पनीहरुलाई एकसाता भित्र काम नफर्किएमा ठेक्का सम्झौता तोड्न आयोजना प्रमुख जगत प्रजापतीलाई निर्देशन दिएका छन् ।आयोजना प्रमुख प्रजापतीले मुस्ताङका पूर्व सांसदसहितको टोलीले सडकको बिषयमा विभागको ध्यानआर्कषण गराएको जानकारी दिएको पुष्टि गरे ।उनले छलफलमा कतिपय निर्माण कन्ट्रक्सनसंग फोन र कतिपयलाई भेटेर काममा फर्किन अल्टिमेटम दिएको बताए ।‘विभागबाट निर्देशन प्राप्त भएको छ, अब छलछाम र अटेरीले हुँदैन,’आयोजना प्रमुख प्रजापतीले भने,‘ अब ७ दिनभित्र उपकरण र जनशक्ती फिल्डमा नदेखिएमा ठेक्का सम्झौता तोड्ने समेतको प्रक्रिया अघि बढ्नेछ ।’
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पक्की पुल नहुँदा बर्खायाममा सवारी साधनलाई सास्ती हुँने गरेकोमा पूर्व सांसदहरुको भेटमा म्याग्दीको तिप्ल्याङमा पक्की पुल बनेपछि फाल्टु रहेको बेलिब्रिजलाई रुप्से झरनामा स्थान्तरण गर्ने सहमती भएको आयोजना प्रमुख प्रजापतीले बताए । ३ वर्षअघि रुप्से झरनामा बाढी÷पहिरोले निर्माणधिन पक्की पुल बगाएको थियो । त्यहाँ आवश्यक प्रक्रिया पू¥याएर असार अगावै पुल स्थान्तरण गरिने उनले बताए ।
यस्तै, पूर्व सांसदसहितको टोली बुधबारनै झोलुङे पुल महाशाखा पुगेर आयोजना प्रमुखको ध्यानआर्कषण गराएका छन् । उनीहरुले थासाङ गाउँपालिका–२को खन्ती–सौरु जोड्ने संस्पेन्स पुल निर्माण कम्पनीको कारण ढिलासुस्ती भएको जानकारी गराएका छन् । २०७७ सालमा संस्पेन्स ब्रिज डिभिजन कार्यालयले खन्ती –सौरु जोड्ने ५७० मिटर लामो संस्पेन्सन पुलको ठेक्का सम्झौता गरेको थियो । पुलको ईलाईट रुविना जेभीले ३० महिनामा सम्पन्न गर्न गरी ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।तर,निर्माण कन्ट्रक्सनले कोभिडको कारण जनाउँदै ढिलासुस्ती भएको बताएको थियो । कोभिड नियन्त्रणमा आईसकेको लामो समय बितिसक्दा समेत खन्ती–सौरु जोड्ने पुलको काम १० प्रतिशत पनि अघि बढ्न सकेको छैन । कम्पनीको निर्देशक जयदेव थापाले पुलको जिम्मेवारीबाट मुक्त हुन खोजेका छन् । अहिले सो पुलको काम जोईनको अर्को पार्टनरले गर्ने बताईएको छ ।
मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले विकासको कामलाई कसैले बाधक र अन्योलमा राख्न नहुँने बताए । ‘एमाले र हामी पूर्व सांसद पदमा हुँदा वा नहुँदा जिल्लाको समग्र विकास चाहन्छ,’ पूर्व सांसद तुलाचनले भने,‘ नेतृत्वमा जो आएपनि हामीलाई कुनै फरक पर्दैन,मात्र हाम्रा चाहना हो विकास र समृद्धिले गति प्राप्त गरोस् ।’

Advertisement

तपाईको प्रतिक्रिया