प्रोमोशनका लागि “ह्यारी की प्यारी” पोखरामा, फरकधारको सिनेमा भएको दाबी

समाधान संवाददाता २०७९ माघ १६ गते १४:२४

पोखरा ।
माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा “ह्यारी की प्यारी” टोली यतिबेला राजधानी बाहिर प्रोमोशन टुरमा छ । आइतबार मात्र पोखरामा पत्रकारहरुसँग साक्षत्कार गर्दै टोलीले फरकधारको सिनेमा भएको दाबी गरेको छ ।

निर्देशक डा कपिल रिजालले सिनेमा नेपाली परिवेशलाई समेट्ने गरी बनेको अभिव्यक्ति दिए । उनले भने, ‘ह्यारी की प्यारी नेपाली कल्चरलाई समेट्ने सिनेमा हो । नेपालको संस्कृतिलाई सिनेमा मार्फत अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मदत पुग्ने विश्वास लिएका छौं ।’

ह्यारी की प्यारी सिनेमालाई नेपाली, बंगाली, हिन्दी, मराठी भाषामा डबिङ गरिएको उनले जानकारी गराएका छन् । ३० वर्षदेखि युकेमा डेन्टिस डाक्टरको काम गर्दै आएका रिजालको सिनेमा प्रतिको लगाव सानैदेखि रहेकाे उनकाे भनाइ छ । उनका बुवा डा भोला रिजाल नेपाली सिनेमा क्षेत्रसँग सम्बन्धित भएकाले पनि उनलाई यसतर्फ आकर्षण बढेकाे उनले बताए ।

Advertisement

‘बुवा सिनेमा क्षेत्रमा काम गरेको भएर होला कपिललाई पनि सिनेमा बनाउने रहर थियो । जसलाई अहिले आएर पूरा गर्न पाए कपिल भन्छन्, ‘मेरो बुवाले नेपालका पुराना रुचाइएका लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमाहरुमा कथा लेख्नुभएकाे थियाे ।’

यसअघि कपिलले म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् । सिनेमा ‘ह्यारी की प्यारी’ को कन्सेप्ट कोभिडको समयमा आएको उनले बताए । दुई फरक परिवेशको मान्छेलाई जोड्ने कथा भएकाले पनि ‘ह्यारी की प्यारी’ निर्देशन गर्न आफु तयार रहेको उनले उल्लेख गरे ।

Advertisement

कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले सिनेमा राम्रो बनेको अभिव्यक्ति दिइन् । दर्शकले सिनेमामा आफ्नो भूमिकालाई रुचाउने उनको भनाइ छ । नेपाली मौलिकतालाई आधुनिक तवरले प्रस्तुत गरिएको भएर पनि दर्शकलाई सिनेमाको कथा मन पर्नेमा उनी विश्वस्त देखिन्छिन् ।

साम्राज्ञी भन्छिन्, ‘सिनेमा राम्रो टिमका कारण चल्ने हो । सिनेमाको कन्टेन्टका आधारमा नै सफलता मिल्ने गर्छ । सिनेमा राम्रो भयो भने त्यसको जस सबै टीमलाई हुन्छ । यदि राम्रो चलेन भने त्यसको सम्पूर्ण अपजस एक आर्टिस्टले मात्र खेप्नुपर्छ ।

तर ह्यारी की प्यारी सिनेमा त्यस्तो छैन । पारिवारिक सिनेमा भएकाले सफलता अवश्य मिल्छ । सबैलाई माघ २० बाट प्रदर्शन हुने हाम्रो सिनेमा हेर्न आग्रह गर्दछु ।’

कलाकार जितु नेपालले हाँस्यव्यङ्ग्य कथावस्तुमा आधारित सिनेमामा आफ्नो भूमिकालाई दर्शकले फरक तरिकाले हेर्न पाउने बताए । उनका अनुसार ‘ह्यारी की प्यारी’ मा कमेडी पनि फरकधारको कमेडी छ ।

जसमा पात्र भन्दा पनि वातावरणले दर्शकलाई हसाउँछ । उनले सिनेमाको कथावस्तुको टेस्ट बदल्न खोजेको अभिव्यक्ति दिए । ‘सबै मान्छेको टेस्ट एकै प्रकारको हुदैन । परिकार पनि कसैलाई के मन पर्छ कसैलाई के ।

कथावस्तु पनि त्यस्तै हो । तर हामीले सबैलाई मन पर्ने खालको टेस्ट पस्कन खोजेका छौं । आशा छ दर्शकको साथ, समर्थन मिल्नेछ ।’

डिओपी सुदिप बरालले सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम भारतमा भएको जानकारी गराए । उनले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न पनि यस्तो गर्नुपरेको अभिव्यक्ति दिए । ‘ह्यारी की प्यारी को प्राविधिक पक्ष पनि सबल छ ।

सिनेमाको सम्पूर्ण पोस्टप्रोडक्सनको काम हामीले भारतमा गरेका हौं । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पनि बिकाउने हेतुले यस्तो गर्नुपरेको हो ।’ बरालका अनुसार नेपालमा टेक्नोलोजीको अभाव हुँदा राम्रा सिनेमाहरुमा प्राविधिक त्रुटीहरु देखिन्छ ।

यसको समस्याको समाधानका लागि दक्ष प्राविधिकहरुको खाँचो नेपालमा रहेको धारणा उनको छ । उनी भन्छन्,‘प्रविधि भएर मात्रै हुँदैन त्यसलाई प्रयोग गर्ने दक्ष प्राविधिक भएनन् भने अर्थ रहदैन । राम्रो कथावस्तु हुँदाहुँदै पनि सिनेमा फितलो बन्छ । यसमा सिनेमा सम्बद्ध निकायको ध्यान जान जरुरी छ ।’

पर्वतको भुकदेउरालीमा ४५ दिनसम्म छायाँकन गरिएको सिनेमामा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ ।

बिआर प्रोडक्सनको प्रस्तुती सिनेमाको कथा सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यु निराबी र डा कपिल रिजालले लेखका हुन् । सिनेमाका ४ गीत सार्वजनिक भइसकेका छन् । जसमा कोरियोग्राफी कबिराज गहतराजको छ ।

सिनेमाका गीतमा थोमस एण्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपन कुमार राईको स्वर रहेको छ । युग भुसाल र शिखर सन्तोषले संगीत भरेका छन् । सिनेमाका निर्माता डा भोला रिजाल हुन् ।

तपाईको प्रतिक्रिया