दमकल नहुँदा बाल्टिनकै भर

सुन्दरकुमार थकाली २०७९ फागुन १ गते १०:३८

जोमसोम ।
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर ।
नेपथ्य ब्यान्डका गायक अमृत गुरुङको लोकप्रिय गीत हो यो । गीतले मुस्ताङको जोमसोममा दिउँसो १२ बजेपछि बेजोडको हुरी चल्छ भन्ने तथ्य उजागर गरेको छ । गीतका रचनाकार पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मुस्ताङको भौगोलिक अवस्था र यहाँको वातावणलाई शब्दमा उतारेका थिए ।

बस्तीनै नभएको कालिगण्डकी नदी किनारमा त हुरीले ससाना ढुंगा नै उडाउँछ । समुन्द्री सतहदेखि करिब २५ मिटर उचाइमा रहेको मुस्ताङमा हावाहुरी चलेपछि जनजीवन नै प्रभावित हुन्छ । कहिलेकाँही यो हुरी अभिषाप बन्छ ।

मुस्ताङमा आगलागीका घटना हुँदा हुरीले थप विपद् र संकट निम्त्याईदिन्छ । ढुंगा, माटोले बनेका पुराना घर यहाँका जीवन्त संस्कृति हुन् । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको सीमावर्ती गाउँसम्म ९६ गाउँ, बस्ती छन् । यहाँका अधिकांश बस्ती एकै ठाउँमा झुरुप्प छन् ।

Advertisement

यस्ता ढुंगा, माटोले बनेका घरको छतमा सदिंयौदेखि दाउरा पाँज्ने प्रचलन छ । छत दाउरा धेरै हुँदा आर्थिक रुपले समृद्ध भइन्छ भन्ने सर्वसाधारणमा विश्वास छ । छतमाथि दाउरा राख्दा पानी चुहिने सम्भावना पनि कम हुन्छ । परम्परागत रुपमा यसरी सजाइएको छत माथिका दाउराले जोखिम पनि ल्याउँछन् ।

एकै ठाउँमा जोडिएका बस्ती रहेको मुस्ताङमा दिउँसोबाट हुन्डरी चल्छ तर दमकल भने छैनन्

Advertisement

जोडिएका घरको छतमा यसरी राखिएका दाउराले आगलागी हुँदा बस्ती नै सखाप हुने सम्भावना हुन्छ । २०७५ साल मंसिरमा मुस्ताङ सदरमुकाम जोमसोमको एक फर्निचर उद्योग रहेको २ तले घरमा आगलागी भयो । घर आगो निभाउने समुचित उपकरण नहुँदै घर नष्ट भयो । जसबाट करोडौं क्षति भयो ।

२०७६ मा पनि जोमसोममा १ फेन्सी पसल रहेको घरमा आगो लाग्यो । जहाँ पूरै घर जलेर नष्ट भयो भने फेन्सी पसलका कपडा पनि खरानी बने । गएको माघ २२ गते थासाङको लेते कालोपानीमा पनि २ तले घरमा विद्युत सट भई आगलागी भयो । जसबाट घर पूर्ण रुपमा क्षति भयो ।

मुस्ताङमा आगो निभाउने दमकल नहुँदा आगलागीले धेरै क्षति गरेको देखिन्छ । स्थानीय र सुरक्षाकर्मीले बाल्टिनबाट पानी खन्याएर आगो निभाउने प्रयास गर्ने गरेका छन् । जिल्लाको ५ वटै स्थानीय तहमा आगो निभाउने वारुण यन्त्र छैन । मुस्ताङमा ५ वर्षअघि नै आगो नियन्त्रण गर्ने वारुणयन्त्रको आवश्यकताको महसुस गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिमा यसबारे छलफल पनि नभएको होइन ।

यहाँका स्थानीय तह भने वारुणयन्त्र व्यवस्थापन गर्न उदासिन छन् । स्थानीय तहमा विपद् व्यवस्थापन कोष भए पनि जिल्लामा वारुणयन्त्र किन्ने गृहकार्यसमेत भएको छैन । मुस्ताङका सिडिओ अनुप केसीले आगलागी नियन्त्रण गर्न जिल्लामा कम्तीमा १ वारुण यन्त्र आवश्यक पर्ने बताए । उनले मुस्ताङमा एकापसमा घर जोडिएकाले आगलागीबाट ठूलो धनजनको क्षति हुने जोखिम रहेको उल्लेख गरे ।

‘मुस्ताङलाई दमकल आवश्यक छ, सबै पालिकालाई राखेर यो बिषय राख्नेछु,’ केसीले भने, ‘सबै पालिकाले बजेट साझेदारी गरे वारुणयन्त्र किन्न गाह्रो छैन, यसले दीर्घकालीन रुपमा आगलागीको क्षति घटाउँछ ।’

यहाँका कतिपय स्थानीय तह भने आगो नियन्त्रण गर्न वारुण यन्त्र नभई पानी तान्ने ट्याङकरसहितको पम्प चाहिने बताउँछन् । वारुण यन्त्र महंगो पर्ने र व्यवस्थापन खर्च बढी हुने भएकाले पम्प उपयुक्त हुने केही पालिकाका जनप्रतिनिधिको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया