बदमासहरूलाई तह लगाउन मेरो उम्मेदवारी

सञ्जय रानाभाट २०८० वैशाख ६ गते १७:२६

पूर्वआईजीपी सर्वोन्द्र खनाल तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार छन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकासपछि स्वतन्त्र नागरिक अभियन्ता हुँदै खनाल एमाले प्रवेश गरेका हुन् । मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं ६ मा उनी पराजित भएका थिए ।

रास्वपाका शिशिर खनालसँग पराजित खनाल उपनिर्वाचन लड्न गृह जिल्ला आइपुगेका छन् । काठमाडौंमा पराजित भए पनि गृहजिल्लातर्फ सोझिएका खनालले तनहुँ १ का जनताले आफूलाई रोजेकाले उपनिर्वाचनमा उठेको बताए ।

एमालेमा आकांक्षीको लर्को हुँदा पनि तपाईंले टिकट हात पर्नुभयो, चुनावी अभियान कसरी अगाडि बढाउनुभएको छ ?
मलाई पार्टीले विश्वास गरेर जन्मभूमिमा टिकट दिएको छ । तनहुँ र समग्र नेपालकै सेवा गर्न पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तनहुँको भौतिक अवस्था र विकासको गति जसरी परिवर्तन हुनुपर्ने थियो; त्यो छैन ।

Advertisement

दूरवस्था देखिसकेपछि मनमा धेरै दुख लाग्ने रैछ । रिटायरमेन्टअघि जसरी देश र नागरिकको सेवामा समर्पित थिएँ; अहिले पनि फिल्डबाटै सेवामा समर्पित हुनुपर्छ भनेर राजनीतिमा आएको हुँ । मलाई मर्नुभन्दा अघिसम्म केही गरौं भन्ने नै छ । हिजो जसरी लागे पनि अब समृद्धिका मुद्दा, मानवीय इन्ट्रेस्टका मुद्दा लिएर हिँड्ने अठोटका साथ अगाडि बढेको छु ।

तनहुँ जन्मभूमि हुँदा हुँदै तपाईंलाई पनि टुरिस्ट उम्मेदवार भन्ने आरोप छ नि ?
जन्मेर यहीँ बस्नुपर्छ भन्ने पनि छैन । कर्म गर्न देश÷विदेश पुगें । को कता पुग्छ थाहा हुँदैन । आइजिपी हुँदा अधिकारले भ्याएसम्म तनहुँमा स्कुल बनाउनेदेखि विभिन्न आयोजना बनाउन मेरो पहल रह्यो ।

Advertisement

तनहुँको समस्या समाधान र उत्थानमा सधैैं साथमा थिएँ र रहन्छु । त्यो मेरो धर्म पनि हो; जन्मभूमिको माया पनि हुँदो रैछ । यहाँको अवस्थालाई परिवर्तन गर्छु भनेर राजनीतिमा आएको हुँ । स्वार्थ साँधेर कसले के भन्छन्; त्यो मेजर विषय होइन । आफू के हुँ र कसरी जनताले मूल्यांकन गरेका छन्, त्यो महत्वपूर्ण हो ।

प्रतिस्पर्धीलाई कसरी हेर्नुभएको छ, त्रिपक्षीय भिडन्त छ भन्छन् ?
अरुसँग आफैँलाई प्रतिस्पर्धी ठान्नु ठीक हो । म तनहुँकै हुँ । आगन्तुक पनि होइन । मलाई यहाँको भूगोलदेखि यहाँको अवस्थाको बारेमा सबै थाहा छ । मनमस्तिष्क पनि यहिँ छ । तनहुँलाई सबैभन्दा सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने छ । मैले विगतमा पनि यो देशको झन्डा फहराउने काम गरेँ । हरेक नेपालीको शान बढाउने काम गरेको छु ।

नेपालीको भावलाई मुखरित गर्ने काम गर्दै आएको बेला अरु पनि आउँछु भन्नु लोकतन्त्रमा स्वाभाविक पनि हो । तर उहाँहरुले के गर्नुभयो ? भोलिका लागि के गर्नुहुन्छ होला ? जनता विवेकी हुनुहुन्छ र त्यो मूल्यांकन गरेर प्रतिनिधि छनोट गर्नुहोला । म योजना कार्यान्वयन गर्न निर्भीकताका साथ लाग्छु । यहाँ आएकामध्ये म सर्वोत्कृष्ट हुँ भन्ने लाग्छ ।

आइजिपी भइसक्नुभएको मान्छे फेरि राजनीतिमा चाहिँ किन आउनुपर्ने रहेछ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । प्रहरीमा क्षेत्राधिकारभित्र रहेर काम गर्न पाइन्थ्यो । जुन मैले गर्नुपर्ने प्रहरी महानिरीक्षकको हिसाबले शान्ति सुरक्षा, अपराध नियन्त्रण र शान्तिको वातावरण सिर्जना गर्ने थियो ।

विकास, निर्माणका काम भ्रष्टाचार नियन्त्रण गर्न गतिविधिमा खरो रूपमा उत्रिएँ । धेरैले प्रश्न पनि गर्थे–कन्सल्टेन्सीमा किन छापा हान्नुभयो ? मैले व्यक्तिगत लाभभन्दा माथि उठेर काम गरेको थिएँ । त्यो गर्न कानुनी तहबाटै आवश्यक देखें । कानुनमार्फत प्रहरी निकायलाई सपोर्ट गर्नुपर्ने हुन्छ, नीति, बजेट तहबाटै गर्न आवश्यक ठाने त्योबाहेक अरु कारण छैनन् ।

निर्वाचित भए के गर्नुहुन्छ ?
निर्वाचित भए नीति निर्माण मुख्य काम हुो । अर्को बदमासहरूलाई तह लगाउने योजना हो । मेरा आफ्ना मूल्य, मान्यता पनि छन् । मूल्य, मान्यता बेचेर कहिल्यै काम गर्दिनँ । अबको बाँकी जीवन खराब काम गर्न आएको होइन । भ्रष्टाचारका गतिविधि बढेका छन् । विकास र समृद्धि ल्याउनुछ । म राजनीतिमा सौदाबाजी गर्न आएको होइन; नचाहिँदो काम गर्न पनि आएको होइन । यहाँको उत्थानका लागि भूमिका निर्वाह गर्न आएको हुँ ।

जित्ने आधारहरू के के छन् ?
हिजो मैले गरेका काम नै हुन् । सामाजिक क्षेत्रमा भिज्ने धेरै काम गरेको छु । प्रहरीको क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा सबैलाई अवगत नै छ । सामुदायिक प्रहरी, प्रेस स्वतन्त्रता, सुशासन कायम गर्न गुड प्राक्टिस गरें । मैले अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर नेपाललाई चिनाउनेदेखि अधिकार स्थापित गर्न धेरै काम गरेको छु । अब पनि सबैको साझा भएर अगाडि बढ्ने मेरो संकल्प नै जित्ने आधार हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया