उपल्लो मुस्ताङीलाई गाउँमै नागरिकता

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका नागरिकलाई घरदैलोमै नेपाली नागरिकता वितरण गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको पहलमा उपल्लो मुस्ताङ स्थित इलाका प्रशासन कार्यालयबाट यो सेवा उपलब्ध गराइएको हो ।
इलाका प्रशासनबाट नागरिकता वितरण २ वर्षदेखि रोकिएको थियो । यसअघि सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बसोबास गर्ने स्थानीय नागरिकलाई लक्षित गरी ईलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । कार्यालयमा अधिकृत तहको दरबन्दी खाली हुँदा नागरिकता, राहदानी र अन्य सेवा अवरुद्ध थिए ।
उपल्लो मुस्ताङमा २०७३ मा सर्वसाधारणलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । यहाँ कार्यालय प्रमुखसहित ७ कर्मचारीको दरबन्दी छ । तर कार्यालय प्रमुखको दरबन्दी पूर्ति हुन नसक्दा कार्यालयका सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले उल्लेख गरे ।
इलाका प्रशासन कार्यालय भए पनि कार्यालय प्रमुख नहुँदा २ वर्षदेखि सास्ती पाएका नागरिकलाई गाउँमै घुम्ती सेवा
‘कार्यालय प्रमुखको दरबन्दी रिक्त छ, पदपूर्ति हुन सकेको छैन,’ केसीले भने, ‘कार्यालय प्रमुख नभएपछि अरु कर्मचारी बस्नु र नबस्नुको कुनै अर्थ छैन । यसैले उनीहरुलाई जिल्लाकै कामकाजमा खटाइएको छ ।’
उपल्लो मुस्ताङमा इलाका प्रशासनको काम ठप्प बन्दा सर्वसााधारणले नागरिकता र राहदानी बनाउन जोमसोम आउनुपर्ने बाध्यता थियो । सोही समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जोमसोमबाट सहायक सिडिओ चन्द्रकान्त बस्नेतसहितको टोली उपल्लो मुस्ताङको इलाका प्रशासनमा पुगेको हो ।
टोलीले लोमान्थाङ गाउँपालिका कार्यालयको समन्वयमा वैशाख २८ र २९ गते २ दिनसम्म बसेर नागरिकता सेवा प्रदान गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले लोमान्थाङमा नयाँ नागरिकता २८ जनालाई र पुरानो नागरिकताको प्रतिलिपि १४ जनालाई दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि प्रक्रिया पूरा गरी प्राप्त भएका ९ राहदानीसमेत सरोकारवालालाई हस्तान्तरण गरिएको छ ।
प्रशासनको आकस्मिक सेवाले राहत पुगेको लोमान्थाङका ६५ वर्षीय पेमा रिन्जिङ गुरुङले उल्लेख गरे । उनले सरकारले इलाका प्रशासन स्थापना गरे पनि कर्मचारी व्यवस्थापन नहुँदा समस्यामा परेको सुनाए ।
लोमान्थाङकै ७३ वर्षीय छाङ क्षोगे गुरुङले घरदैलोमै नागरिकता सेवा पाउँदा निकै खुसी लागेको जनाए । ‘जोमसोम पुगेर फर्किदा ५ हजार खर्च हुन्छ, होटलमा बस्नुपरे अझै बढी हुन्छ,’ गुरुङले भने, ‘प्रशासनको आकस्मिक सेवाले समय र खर्च दुबैको बचत भएको छ, यसलाई आगामी दिनमा पनि निरन्तरता दिइनु पर्छ ।’
सहायक सिडिओ बस्नेतले इलाका प्रशासन प्रमुखमा पदपूर्ति नभएसम्म प्रत्येक महिना यसरी नागरिकता र राहदानी सेवा प्रदान गरिने जानकारी दिए । लोमान्थाङमा आकस्मिक सेवा दिइएको र अब चाँडै लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि सेवा प्रवाह गर्ने कार्यतालिका रहेको उनले जनाए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया