जनतालाई सोच्ने कि कमरेड !

नेत्रविक्रम चन्द विप्लवब समूहले नेतृत्व गरेको नेकपाको आह्वानमा सोमबार नेपाल बन्द भयोे । बन्दका कारण जनताले कति सास्ती पाए र देशले के–कति आर्थिक हानि–नोक्सानी गर्यो, यसमा भिन्नभिन्न तथ्यांक आउलान् । तर त्यही बन्द सफल पार्ने नाममा अघिल्लो दिन संघीय राजधानीका विभिन्न ठाउँमा बम विष्फोट हुँदा ४ जनाले ज्यान गुमाए । त्यत्तिकै संख्यामा गम्भीर घाइते छन् र जीवन–मरणको दोसाँधमा छन् ।
नेत्रविक्रम चन्द अर्थात कमरेड विप्लव ! तपाईले बिर्सनु भएको छैन होला, ०५२ सालमा तपाईहरुका मिठासपूर्ण कुरा सुनेर नेपाली जनता जीवनको आहुति दिन लामबद्ध भएकै थिए । भलै त्यो बेला आन्दोलनको नेतृत्व अहिलेका नेकपाका अध्यक्ष तथा तत्कालीन नेकपा माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । तपाई त्यो बेला प्रचण्डको दाहिने हात जत्तिकै प्रभावशाली हुनुहुन्थ्यो । कमरेड प्रचण्डलाई सर्वहारा वर्गको महान नेताका रुपमा चित्रित गर्दै हजारौं नेपाली युवालाई हतियार बोकाउनुभयो ।
युद्धमा आफू पनि होमिनुभयो, जनतालाई पनि होम्नुभयो । ०५२ देखि ०६२ सालसम्मको युद्धको दौरानमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए । सयौं बेपत्ता छन् । हजारौंका अंगभंग छन् । त्यत्रो बलिदानी संघर्षपछि तत्कालीन ७ दलसँगको सहकार्यमा यो देशबाट शाही शासन सदाका लागि उन्मूलन गर्नुभयो । देशमा संविधान सभाको निर्वाचन भयो । जनताबाट निर्वाचित प्रतिनिधिले संविधान बनाए ।
राजा फाले । अब देश शान्तिपूर्ण बाटोमा हिँड्ला भन्ने विश्वास आम जनतामा पलायो । अब शासकीय रुपमा परिवर्तन हुनुपर्ने कुरा के नै बाँकी छ र ? सिर्फ नेता परिवर्तन भए पुग्छ । देश र जनताको उन्नतिका खातिर राम्रा नेताले देशको नेतृत्व गरे भने देशले आर्थिक रुपमा फड्को मार्छ भन्ने विश्वास नेपालीमा छ ।
तर कमरेड विप्लव ! तपाई त फेरि ०६२÷०६३ सालको जनआन्दोलन र त्यस अघिको जनयुद्धबाट प्राप्त उपलब्धिको स्वामित्व आफूले लिएर अघि बढ्नु होला भनेको त देशलाई फेरि ०५२ कै स्थितिमा लैजाने बाटोमा हिँडन थाल्नुभयो । त्यो बाटोले देशको उन्नति भन्दा हानि गर्छ । हेर्नुस् त आइतबार राजधानीमा तपाईंकै पथमा हिँडेका ४ जना कमरेडले अनाहकमा ज्यान गुमाउनु पर्यो । १ जना कमरेडलाई प्रहरीले हत्या गर्यो भन्दै त्यसको विरोधमा आह्वान गरिएको बन्दलाई सफल बनाउने नाममा आफ्नै गल्तीले होनाहार ४ युवाले ज्यान गुमाए, अन्य ४ जना गम्भीर घाइते छन् । यो त सुरुआतमात्र हो ।
तपाईहरु यही बाटोमा हिँडिरहने हो भने यस्ता घटना दिनानुदिन भइरहनेछन् । राज्य भनेको सधैं निर्मम हुँदोरहेछ भन्ने अनुभूति गर्नुभएकै होला । हिजो तिनै ७ दलमध्येका नेता प्रधानमन्त्री बन्दा तपाईंहरुमाथि दमन गर्नेको नेतृत्व उनीहरुले गर्थे । त्यो बेला उनीहरुको विरुद्धमा मालिक अर्थात राजासित मात्रै संवाद गर्छौ भन्दै वक्तव्य जारी गर्नुहुन्थ्यो ।
त्यसैबाट महत्वकांक्षा बढाएका राजाले शासन सत्ता हातमा लिएर झन निर्मम बने, अनि तिनै ७ दलसँग सहकार्य गरेर राजा फाल्नुपर्यो । आज त्यही बेलाका सहयोद्धा सरकारमा छन् र तपाईहरुलाई प्रतिबन्ध लगाएका छन् ।
कमरेड विप्लव ! सायद तपाई सत्तामा भएको भए र रामबहादुर थापाले विद्रोह गरेको भए पनि अवस्था यस्तै हुन्थ्यो होला । त्यसैले सत्ताधारीका लागि नभए पनि, नेपाली जनताका खातिर यो रगतको खोलो बगाउने खेल बन्द गरौं ।
बलिदानभन्दा जीवनदान ठूलो कुरा हो । जे कुरा पुन बनाउन सकिँदैन, त्यो मास्नु हुँदैन । सशस्त्र विद्रोहभन्दा फरक बाटो हिँडेर देशको कायापलट भएका थुप्रै उदाहरण छन् । जनताको मन जित्नुभयो भने शान्तिपूर्ण बाटोबाट पनि देशको तरक्की सम्भव छ । सहयात्री नेतालाई बिर्सेर १ पटक जनताका लागि सोच्ने कि कमरेड ?







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया