मुख्यमन्त्रीको आग्रहमा एकैदिन विजयपुरमा डाइभर्सन बनिसक्ने

समाधान संवाददाता २०७६ असार २३ गते १९:१८

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा विजयपुर खोलामाथि मंगलबार डाइभर्सन बन्ने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा जुटेका चिनियाँहरुले मुख्यमन्त्रीको आग्रहमा १ दिनमै डाइभर्सन बनाउने भएका हुन् । आइतबार राति बगेको डाइभर्सन भएकै ठाउँमा अझै बलियो बाटो बनाउन सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनियाँ अधिकारीले मुख्यमन्त्रीलाई बचन दिएका छन् ।

Advertisement

मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकनसहित चिनियाँहरुसँग कुराकानी गरेका थिए ।

मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तातुरुन्तै डाइभर्सन बनाउन आग्रह गरिएको समाधानलाई बताए ।

Advertisement

एयरपोर्टको चिनिया निर्माण कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर अभिषेक उलकले मंगलबार एकाबिहानैबाट काम सुरु गर्ने जानकारी दिए । मंगलबार साँझसम्म तयार पारिने भनिएको डाइभर्सन टिकाउ पनि हुने उनले बताए ।

‘सेती नहरबाट विजयपुर खोलामा मिसिएको पानी घटाएर काम सुरु गर्छाैं,’ उनले भने ।

पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा स्टिलब्रिज (पुल) जीर्ण बनेपछि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।

आइतबार राति वर्षाका कारण खोलामा पानीको बहाब बढेपछि ह्युमपाइम राखी बनाइएको डाइभर्सनले थेग्न नसक्दा बाढीले बगाएको हो ।

जीर्ण पुलबाट १० टनभन्दा माथिको मालवाहक गाडी आउजाउ गर्न ४ महिना अघिदेखि रोक लगाइएको छ । अस्थायी रुपमा डाइभर्सन गरी पोखरा बजार प्रवेश गर्न सहज बनाइएको थियो ।

डाइभर्सन बगाएपछि अहिले सयौंको संख्यामा कोत्रेदेखि तल्लो गगनगाै‌ंडासम्म दिनभर मालवाहक गाडी रोकिएका छन् ।

ठूलो पानी नपरे पनि खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए ।

मालवाहक गाडीलाई वारपार गराउन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस ललितपुरका विज्ञसँग सल्लाह गरिसकेको बताउँदै डिभिजन प्रमुख पोखरेलले मालवाहक सवारीलाई रातको समयमा १ पटकमा एउटा पास गराउन सकिने सुझाव पाएको बताए ।

उनले भने, ‘राति ८ बजेपछि सवारी चाप कम भएको बेला ठूला मालवाहक सवारीलाई पुलमाथि एउटा सवारीमात्रै चाप पर्ने गरी १ पटकमा एउटा पास गराउन सकिन्छ भन्ने राय पाएका छौं,’ स्टिलब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा सडक डिभिजन पोखराले नै प्रक्रिया अघि बढाएको थियो ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा÷जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । आउँदो असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।

तर निरन्तर वर्षाका कारण समयमै बेलिब्रिज निर्माण भइसक्ने लक्ष्य भने पूरा हुने देखिँदैन । हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

बेलिब्रिजका सामग्री भने पूर्वको इटहरीबाट ढुवानी भइरहेको छ । अझै १ साता ढुवानीमै समय लाग्ने डिभिजनका इन्जिनियर बताउँछन् । कम्तीमा १५ दिन फिटिङ गर्न समय लाग्ने उनीहरुको भनाइ छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

तस्बिर: लोक गुरुङ

तपाईको प्रतिक्रिया