विवाहः विश्वासको सम्झौता

समाधान संवाददाता २०७६ साउन २ गते १५:१८

सर्वसाधारणदेखि चर्चित व्यक्तिको पारिवारिक बेमेलका घटना अहिले दिनहुँजसो बाहिर आउँछन् । यसमा कुनै निश्चित उमेर समूहले मात्र काम गरेको छैन । उमेरै नपुगेका युवायुवती, वयष्क मात्र होइन वृद्धावस्थामा पुगेका पति पत्नीबीच मनमुटाव भएर पारिवारिक विखण्न्डन भएको तपाईं हामीले सुन्दै आएका छौं । विवाह महिला र पुरुषबीचको मीलन मात्र होइन । यो एउटा सामाजिक मान्यता हो । विवाह अघिको शारीरिक सम्बन्धलाई हाम्रो समाजले स्वीकार्दैन । विवाहपछि हुने सामान्य खटपटलाई पनि समाजले सामान्य रुपमा हेर्छ । तर कहिलेकाँही सामान्य घटनाले पनि ठूलो रुप लिन्छ । व्यवस्थापन गर्न नसक्दा वैवाहिक जीवन टुंगिएका कयौं घटना हाम्रा सामु छन् । ठूलो कारण नै हुँदैन । के–के कुराबाट फाटो सुरु हुन्छ । मिले त ठिकै छ । नमिल्दा समस्याले ठूलै रुप लिन्छ । हाम्रो समाजमा सम्बन्ध विच्छेद पति र पत्नीबीच मात्रै भन्दा पनि धेरै विषयसँग जोडिएको छ । खासगरी यसमा सम्पत्तिको लेनदेनले विशेष भूमिका खेल्ने गरेको छ । सामाजिक सुरक्षाको अभावकै कारण भन्नुपर्छ हामीलाई सम्पत्तिप्रति अलि बढी नै आशक्ति छ । यसैका कारण पनि सम्बन्ध विच्छेदले धेरै खालका विवाद सिर्जना गरेको पाइन्छ ।

पछिल्लो समयमा सम्बन्ध विच्छेद फेसन जस्तो भएको छ । अलि अगाडिको समयमा पति–पत्नी छुट्टिएको विषयलाई अचम्मको रुपमा लिइन्थ्यो । अहिले दिनुहँजसो सुनिने यस्ता समाचार सबैका लागि सामान्य लाग्ने गरेका छन् । कास्की जिल्लामा वितेको १ वर्षमा सम्बन्ध विच्छेदका ८ सय ८१ मुद्दा दर्ता भएकामा ६ सय ४७ जोडी कानुनी रुपमै छुट्टिए । बाँकी मुद्दा विचाराधीन नै छन् । भदौ १, २०७५ अघि सम्बन्ध विच्छेदका लागि पुरुषले सिधै अदालतमा मुद्दा दायर गर्न पाउने कानुनी प्रावधान थिएन ।

तत्कालीन स्थानीय निकायमा निवेदन दिएको १ वर्षमा मेलमिलाप हुन नसके मात्र अदालत जाने बाटो खुल्थ्यो । तर, भदौ १ गतेबाट लागु भएको नयाँ संहिताले भने पुरुषले चाहेमा पनि सम्बन्ध विच्छेद गर्न सिधैं अदालत पुग्न सक्ने सुविधा दिएको छ । नयाँ ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने भएपछि कास्की जिल्ला अदालतमा यस्ता मुद्दाको चाप ह्वात्तै बढेको छ । दर्ता भएका ८ सय ८१ मध्ये २० प्रतिशत मुद्दा पुरुषवादी भएका छन् । पुरुष, महिला जोसुकैले सम्बन्ध विच्छेद गर्न मुद्दा दायर गरे पनि तत्काल अदालतले त्यसबारे फैसला गर्दैन । सम्बन्ध विच्छेद गर्न अदालतसम्म पुगेकालाई पहिले भरसक मिल्न प्रोत्साहित गरिन्छ । दुवै पक्षको सहमति भई मिलेर आएको खण्डमा मेलमिलापबाट पनि यस्ता मुद्दा किनारा लाग्ने गरेका छन् । दुवै पक्ष राजी भए मात्र १ वर्षभित्र यस्ता मुद्दा फैसला गर्न सकिने प्रावधान छ ।

Advertisement

अनमेल विवाह, वैदेशिक रोजगारी, महिलामाथि हुने हिंसाबारे बढ्दो सचेतना लगायत कारणले सम्बन्ध विच्छेद बढेको पाइएको छ । दिनरात झगडा गरेर बस्नुभन्दा अलग्गिएको नै राम्रो । तर त्यसरी अलग्गिँदा उनीहरुका छोराछोरीको रेखदेख, अलग्गिनेकै आगामी दिनमा बढ्ने बेखुसी र तनाव जस्ता कारण समस्याका रुपमा आउने गरेका छन् । पारिवारिक सम्बन्धको सबैभन्दा ठूलो कुरा भनेको विश्वास हो । अहिलेको अवस्थामा पति–पत्नी सँधै एकै ठाउँमा रहन पनि सम्भव छैन । काम वा रोजगारीका लागि टाडा रहेका बेला दुवैले दुवैलाई विश्वास गर्नु पर्छ र विस्वास अनुसार इमान्दारिता पनि वहन गर्नुपर्छ । विवाह भनेकै विश्वासको सम्झौता हो । वैवाहिक जीवनलाई सुखी राख्न यही सम्झौताको पालना दुवैपक्षले गर्न जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया