१० महिनामा २ अर्ब ३६ करोड खर्च

सुन्दरकुमार थकाली २०८१ जेठ ७ गते १०:५८

जोमसोम ।

Advertisement


मुस्ताङका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८/०८१ को १० महिनामा २ अर्ब ३६ करोड ३८ लाख बजेट खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले प्रकाशित गरेको खर्च विवरणमासंघ तथा प्रदेश कार्यालय र जिल्लाका ५ वटै स्थानीय तहलाई चालु वर्ष ३ अर्ब ८६ करोड ६० लाख विनियोजन भएकोमा सो बजेट सम्वन्धित कार्यालयमा निकासा भईसकेको उल्लेख छ ।


यो खर्च समग्र विनियोजित बजेटको ६१ दशमलव १४ प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्ला स्थित संघ तथा प्रदेश कार्यालयहरुको चालु वर्षको १० महिनाको खर्च चालुतर्फ १ अर्ब ४९ करोड ५४ लाख विनियोजन भएकोमा १ अर्ब ३ करोड ९७ लाख अर्थात ६९ दशमलव ५३ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १ अर्ब ३४ करोड ५५ लाख विनियोजितमध्ये ७० करोड ४९ लाख बजेट अर्थात ५२ दशमलव ३९ प्रतिशत खर्च भएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए ।


कोष नियन्त्रक भण्डारीका अनुसार मुस्ताङका ५ स्थानीय तहलाई बैशाख मसान्तसम्ममा विनियोजित बजेट १ अर्ब २ करोड ५० लाखमध्ये ६१ करोड ९१ लाख अर्थात ६० दशमलव ०४ प्रतिशत निकासा भइसकेको छ ।


मुस्ताङमा संघीय कार्यालय तथा संघीय सरकारबाट स्थानीय तहलाई विनियोजन भएको विभिन्न शीर्षकको अनुदान ३ अर्ब २ करोड ३३ लाखमध्ये यो अवधिमा २ अर्ब ७ करोड ९५ लाख अर्थात ६८ दशमलव ६८ प्रतिशत वित्तीय भुक्तानी भएको कोष नियन्त्रक भण्डारीले बताए । बजेटमा संघीय कार्यालयलाई चालु खर्चतर्फ विनियोजन भएको १ अर्ब २२ करोड ७७ लाखमा ९३ करोड ४२ लाख अर्थात ७६ दशमलव ०९ प्रतिशत खर्च भएको छ ।

Advertisement


संघीय कार्यालयको पुँजीगततर्फ छुट्याईएको ८४ करोड ७६ लाखमध्ये ५६ लाख २३ हजार अर्थात ६६ दशमलव ३४ प्रतिशत खर्च भएको देखिन्छ । संघीय सरकारबाट स्थानीय तहलाई ९४ करोड ७९ लाख बजेटमा ५८ करोड ३० लाख बजेट निकास भएको छ ।


गण्डकी प्रदेश सरकारबाट प्रादेशिक कार्यालय तथा स्थानीय तहलाई विनियोजन भएको चालु आर्थिक वर्षको बजेट ८४ करोड २७ लाखमध्ये १० महिनामा २८ करोड ४२ लाख रुपैयाँ हस्तान्तरण भएको छ । यो प्रदेशबाट उपलब्ध प्रादेशिक कार्यालय र स्थानीय तहलाई हस्तान्तरण भएको कुल बजेटको ३३ दशमलव ७३ प्रतिशतमात्र हो ।


प्रादेशिक कार्यालयका लागि यो वर्ष विनियोजित चालुतर्फको बजेट २६ करोड ७६ लाख बजेटमा १० करोड ५५ लाख अर्थात ३९ दशमलव ४३ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ कुल बजेट ४९ करोड ७८ लाखमध्ये १० महिनामा १४ करोड २५ लाख अर्थात २८ दशमलव ६४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक भण्डारीले जानकारी दिए ।


चालु वर्ष प्रादेशिकतर्फको स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ७ करोड ७१ लाख विनियोजन भएकोमा ३ करोड ६१ लाख अर्थात ४६ दशमलव ८२ प्रतिशत बजेट निकासा भएको देखिएको छ । घरपझोङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट वित्तीय समानिकरणसहित विभिन्न शीर्षकमा विनियोजन भएको २२ करोड ६६ लाखमा १४ करोड ७१ लाख अर्थात ६४ दशमलव ९२ प्रतिशत खर्च गरेको छ ।


घरपझोङलाई संघतर्फ २० करोड ९० लाखमा १३ करोड ८९ लाख र प्रदेशतर्फ १ करोड ७६ लाखमा ८१ लाख बजेट निकासा भएको छ । थासाङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट २३ करोड ५२ लाख बजेट विनियोजन भएकोमा १६ करोड ४२ लाख बजेट वित्तीय हस्तान्तरण भएको हो । संघतर्फ २१ करोड ९४ लाखमध्ये १५ करोड ५७ लाख र प्रदेशतर्फ १ करोड ५८ लाखमा ८५ लाख निकासा भएको छ ।


लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई संघ तथा प्रदेश सरकारबाट विनियोजित १७ करोड ४० लाखमा १० करोड ३१ लाख बजेट हस्तान्तरण भएको हो । जसअन्तर्गत संघतर्फको अनुदान १६ करोड ३ लाखमा ९ करोड ७९ लाख बजेट निकासा भएको छ । प्रादेशिकतर्फ विनियोजित १ करोड ४६ लाख मध्ये ७३ लाख बजेट कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले निकासा दिएको छ ।


लोमान्थाङ गाउँपालिकालाई संघ तथा प्रदेश सरकारको अनुदान १९ करोड ४१ लाखमध्ये ११ करोड ३६ लाख भुक्तानी दिइएको छ ।संघतर्फको अनुदान १७ करोड ९५ लाखमध्ये १० करोड ९५ लाख र प्रदेशतर्फको अनुदान १ करोड ४६ लाख रहेकोमा ७३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको हो ।


जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले संघ तथा प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान १९ करोड ४८ लाखमा ९ करोड ८ लाख बजेट लगेको छ । संघीय तर्फको अनुदान १७ करोड ९६ लाखमध्ये ८ करोड ३९ लाख बजेट वित्रीय हस्तान्तरण भएको हो भने प्रदेशतर्फको १ करोड ५२ लाखमध्ये ६९ लाख भुक्तानी दिईएको हो ।


थासाङले सबैभन्दा धेरै बजेट संघ तथा प्रदेशतर्फ ६९.८३ प्रतिशत खर्च गरेको छ । संघ तथा प्रदेशको अनुदान सबैभन्दा कम वारागुङ मुक्तिक्षेत्रले गरेको छ । वारागुङ मुक्तिक्षेत्रले संघ तथा प्देशको कुल अनुदानको ४६.७४ प्रतिशत खर्च गरेको हो ।


मुस्ताङमा कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु वर्षको १० महिनामा ७ करोड ६४ लाख २७ हजार राजस्व संकलन गरेको छ । जसमध्ये संघीय राजश्व ६ करोड ४३ लाख ५२ हजार र प्रादेशिक राजस्व १ करोड २० लाख ७४ हजार संकलन गरेको कोष नियन्त्रक भण्डारीले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया