पर्वतमा काठे पाेल परिवर्तन नहुँदा विद्युतीय जोखिममा

समाधान संवाददाता २०७५ माघ १० गते १२:०२

रामकृष्ण लामिछाने

पर्वतका सबै पालिकामा झण्डै दशक अघिका काठका पोल परिवर्तन नहुँदा विद्युतीय जोखिममा छन् । कुश्मामा काठे पोल परिवर्तन गर्न भन्दै वडा कार्यालयलाई जिम्मा दिएको थियो तर वडा नम्बर ११ र १२ मा यो समस्या समाधान हुन अझै सकेको छैन ।

कुश्मा नगरपालिका १२ मा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै १ दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल परिवर्तन नगर्दा झण्डै ५ सय परिवार जोखिममा परेका छन् । स्थानीय हेमराज सापकोटाले घर नजिकै रहेका काठका पोलहरु जीर्ण भएको बताए । उनले भने,‘वडा कार्यालयले फलामे पोल वडामा भित्राउँदासम्म पनि परिवर्तन नहँुदा सुरक्षा खतरा बढेको छ ।

Advertisement

पोलका तारहरु जमीनमा लत्रेका छन् ,‘सापकोटाले भने,‘मानवीय क्षतिको जोखिम, ज्यान जाला भन्ने डर, वडा कार्यालयले कानमा तेल हालेर बसेको छ । यहाँका सबै जसो पालिकामा विद्युत पोल अव्यवस्थित छन् । खेतमा नांगा तार लत्रेका छन् ।

कुश्मा ११ पकुवामा भने फलामे पोल स्थापित गरिएको छ तर राम्रोसँग गाडेका देखिन्नन् । पकुवा रानीस्वाँरका स्थानीयले पटक पटक वडा कार्यलयमा जानकारी गराए पनि समस्या समाधानतर्फ ध्यान नगएको गुनासो गरेका छन् । ‘हामीले समस्या छ,खेतबारीमा कसरी काम गर्ने डर भयो भनेर पटक पटक खबर गर्‍यौं,’स्थानीय गंगा पौडेलले भनिन्,‘समस्या समाधानमा वडाले ध्यानै दिएन ।’ फलामे पोल पनि व्यवस्थित नहुँदा काठको आड दिएर राख्नुपरेको छ । उता, बिहादी बर्राचौरमा पनि विद्युतका काठे पोल परिवर्तन भएका छैनन् । बिहादी बर्राचौरकी भूमाकला भट्टराईले भनिन्,‘पोल फर्ने जिम्मा लिएको वडा कार्यालले पनि चासो दिएको छैन ।’

Advertisement

फलेबास नगरपालिका ११ का अध्यक्ष शेरबहादुर सुनुवारले पोल फेर्ने काम सुरु भइसकेको बताए । उनले भने,‘केही ठाउँमा समस्या होला, समाधानको चरणमा छौं । गाउँ गाउँ बिजुलीको सेवा विस्तार भए पनि आवश्यक पर्दा बिजुली नहुने समस्याले गाउँपालिकामा समस्या छ । मोदीका सञ्जय मल्लले गाउँगाउँमा विद्युतीकरण राम्रोसँग नभएका कारण समस्या भएको बताउँछन् ।

‘खपतभन्दा विद्युत क्षमता कम भएकाले प्रायः रेडियो टिभी पड्कन्छन्,’ मल्लले भने,‘जनताका दैनिक आवश्यक पूर्वाधारमा जनप्रतिनिधिको ध्यान नपुग्दा समस्या ज्युँ का त्युँ छन् ।’ मिलमा जाँदासमेत विद्युतका कारण काम हुन नसक्ने ग्रामीण जनताका समस्या छन् ।

तपाईको प्रतिक्रिया