मुस्ताङमा पर्यटक आगमन अहिलेसम्मकै उच्च, एकैवर्ष ४ लाख २७ हजार पर्यटक

जोमसोम— आर्थिक वर्ष २०८०/०८१ को बाह्र महिनामा कुल ४ लाख २७ हजार २७१ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसा स्थित प्रहरी चौकी चेकपोष्टको वार्षिक रेकर्डमा सडकमार्ग हुँदै उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
गत आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिदा अघिल्लो आर्थिक वर्ष २०७९/०८१ को अनुपातमा ११ दशमलव ११ प्रतिशत पर्यटक वृद्धि भएको प्रहरीको पर्यटक तथ्यांकले देखाउँछ ।अघिल्लो आर्थिक वर्षको साउनदेखि असार मशान्तसम्ममा ३ लाख ७९ हजार ७६७ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमा नेपाली आन्तरिक पर्यटक ३ लाख ३ हजार ८०० र सार्क तथा अन्य मुलुका विदेशी पर्यटक ७५ हजार ९६७ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।
गत आर्थिक वर्ष २०८०/०८१ मा नेपाली आन्तरिक पर्यटक ३ लाख १८ हजार ८१४ जना र सार्क तथा अन्य मुलुका विदेशी १ लाख ८ हजार ४४८ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार मुस्ताङमा गत आर्थिक वर्ष सार्क मुलुकका ९९ हजार २७६ जना र अन्य मुलुकका ९ हजार १७१ जना विदेशी पर्यटक भित्रिएका हुन् ।
यसका अतिरिक्त पोखरा—जोमसोम हवाई मार्ग र राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक उल्लेख नभएपनि करिव २० हजार बढी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको अनुमान छ ।
यसैगरी मुस्ताङमा उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढिरहँदा ट्राफिक राजश्वमा समेत अपेक्षाकृत रुपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७४ हजार ३७४ वटा सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी चौकी घाँसाको रेकर्डमा उल्लेख छ । जसमध्ये ३ हजार ७८५ वटा सवारी साधनलाई कारवाही गर्दा २९ लाख १२ हजार राजश्व संकलन भएको छ । यसको अघिल्लो आर्थिक वर्षको बैशाखदेखि असार मशान्तसम्ममा ८८४ वटा सवारी साधनलाई कारवाही गर्दा
१४ लाख ५६ हजार ट्राफिक राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पछिल्लो समय बेनी जोमसोम—कोरला सडक सहज हुँदै जान थालेका कारण मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बर्सेनि वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको भनाई छ । मुस्ताङमा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेका कारण प्रहरी चौकी घाँसाले जिल्ला भित्रिने पर्यटकको अभिलेख कम्प्यूटर प्रणाली मार्फत राख्न थालेको प्रहरी नायव उपरीक्षक पाण्डेयले उल्लेख गरे । जिल्लाको समग्र शान्ति सुरक्षा,विपद् जोखिम न्यूनिकरण तथा उद्दार र पर्यटकबाट हुनसक्ने अवैंध गतिविधि रोकथाम गर्न पर्यटक अनिवार्य अभिलेख राख्ने गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया