पोखरालाई सुर्तीजन्य सहर नबनाउन सुझाव

समाधान संवाददाता २०७५ पुष २५ गते १६:२३
Quitting smoking concept. Hand is refusing cigarette offer.

समाधान संवाददाता

स्वास्थ्य क्षेत्रका सरोकारवालाले पोखरालाई सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको दृष्टिले नमूना सहर बनाउन सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा द युनियन एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको क्षेत्रमा प्रभावकारी काम गरेर नमूना सहर बनाउन सुझाव दिएका हुन् ।

Advertisement

सुर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा काम गर्न एसिया प्रशान्त क्षेत्रका नगरसँग सहकार्य गर्न सुझाव दिँदै डा. बमले नेपालका नगरपालिकाको तर्फबाट सुर्ती नियन्त्रण सञ्जाल बनाउन सुझाव दिए ।

डा. बमले धुमपानरहित सहर बनाउन योजना थाले प्राविधिकरुपमा सहयोग गर्ने घोषणा गरे । ‘सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको दृष्टिले नमूना सहर बनाउने सवालमा सहकार्य गर्न तयार छौं,’ डा. बमले भने, ‘स्वस्थ्य नागरिक बस्ने सहर बनाउन कार्ययोजना तथा सयन्त्र बनाएर काम गर्नु आवश्यक छ ।’ डा. बमले जनप्रतिनिधि सचेत र राजनीतिक प्रतिवद्धता आए सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी कार्यान्यन हुने दाबी गरे ।

Advertisement

भुटान सुर्तीजन्य पदार्थ मुक्त देश बनेको जानकारी दिँदै डा. बमले भुटानमा सुर्तीजन्य पदार्थको उत्पादन तथा आयातमा पूर्णरुपमा प्रतिबन्ध गरिएको बताए । 

प्रतिनिधि सभाका सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको अभियान चलाएर च्याम्पियन बन्न पोखरा महानगरपालिकालाई सुझाव दिए । राम्रो सुरुआतले आधा काम सम्पन्न हुने उदाहरण दिँदै प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका अधिकारीले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको कानुन कार्यान्वयनमा ध्यान दिन वडाध्यक्षलाई आग्रह गरे ।

अधिकारीले सुर्ती, चुरोटका बट्टामा ९० प्रतिशत चेतावनी युक्त सन्देश र चित्र राखेको कारण सेवन गर्नेको संख्या घटेको दाबी गरे । 

पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले सुर्तीजन्य पदार्थ तथा अल्कोहललाई नियन्त्रण र व्यवस्थित गर्नमा ध्यान दिने बताए । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनको अनुगमन गर्न वडातहलाई जिम्मेवारी दिने जानकारी दिँदै मेयर जिसीले अनुदान जुटाउन भन्दा पनि आफ्नै स्रोत र साधनलाई आधार मानेर काम गर्ने उल्लेख गरे । मेयर जिसीले पोखराको परिवेशलाई मध्य नजर राख्दै कार्ययोजना र सयन्त्र बनाएर काम गर्ने बचन दिए । 

कार्यक्रममा स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, कानुन शाखाका उपसचिव पुष्कर नेपाल, प्राडा बद्री पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि स्थानीय सरकारले सयन्त्र निर्माण गर्नु पर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया