नवलपरासीका खड्कलाई सेवा दिँदै पोखराबाट श्रम स्वीकृति सुरु

समाधान संवाददाता २०७५ पुष २७ गते ८:१८


समाधान संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने क्रममा बिहीबार पोखराबाट श्रम स्वीकृति सेवा सुरुआत गरेको छ ।

प्रदेश नम्बर २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नम्बर ५को बुटवलपछि मन्त्रालयले गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालय कास्कीबाट श्रम स्वीकृतिको सेवा सुरुआत गरेको हो । मन्त्री गोकर्ण विष्टले पहिलो सेवाग्राही नवलपरासीका खड्कबहादुर गुरुङलाई राहदानी प्रदान गरेर सेवाको सुरुआत गर्दै केही दिनमा कार्यालयबाट श्रम स्वीकृति लगायत सबै प्रकारको सेवा उपलब्ध हुने जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले युएई जान लागेका स्याङ्जाका चन्द्रमान गुरुङलाई राहदानी हस्तान्तरण गरिन् । मन्त्री विष्टले प्रादेशिक तहमा श्रम स्वीकृतिसहितको सेवा बिस्तार भएपछि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह सहज र सरल हुने बताए । मन्त्री विष्टले वैदेशिक रोजगारीका लागि देशभरिबाट काठमाडौं सेवा लिन जाँदा धेरै खर्च लागेको बताए ।

Advertisement

‘नेपाल सरकारले प्रदेश तहबाट सेवा दिने व्यवस्था गर्दा कामदारको लागि मितव्ययी र झन्झट कम हुन्छ, ’मन्त्री विष्टले भने, ‘श्रम स्वीकृतिका लागि कामदार पटकपटक काठमाडांै धाउन पर्ने र बढी लागत व्यहोर्नु पर्ने बाध्यता अन्त्य हुनेछ ।’
मन्त्री विष्टले नेपाल सरकारले ६ वटै प्रदेशबाट श्रम स्वीकृतिसहितको सेवा दिने तयारी गरेको बताए । मन्त्री विष्टले पोखराको अलावा धनगढी, सुर्खेत र विराटनगरका श्रम तथा रोजगार कार्यालयबाट समेत वैदेशिक रोजगारीको सेवा दिने जानकारी दिए ।
श्रम तथा रोजगार कार्यालय कास्कीका निमित्त प्रमुख गणेश श्रेष्ठले प्रदेश कार्यालयबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिमात्र प्रदान गरिने बताए ।

उनले केही समय पश्चात् वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्थाको अनुगमन र नियमन, सरोकारवालालाई तालिम एवं अभिमुखीकरण गरिने जानकारी दिए ।

Advertisement

उनले श्रमिकका मुद्दा, श्रम संवाद, ट्रेड युनियनको चुनाव र वैदेशिक रोजगारीको सबाललाई हेर्दै आएको कार्यालयले आगामी दिनमा रोजगारी सेवा बारेमा समेत काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया