उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

समाधान संवाददाता २०८१ वैशाख २६ गते १६:०४

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ ।

उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् ।

Advertisement

अर्जुन कुमाल – क्रिकेट

गुल्मीको छत्रकोट–५ खज्र्याङ घर भएका अर्जुन कुमालको जन्म भारतको नयाँदिल्लीमा भएको हो । त्यसैले पनि उमेरले १८ टेकेका अर्जुन भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् । उनले भारतमा गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् ।

Advertisement

राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए । २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।

पाँच वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । २०१९ मा थाइल्याण्डमा सम्पन्न यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे ।

सानै उमेर यू–१९ को विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका छन् । अर्जुन यू–१९ टोलीमा पुगेको करिब एक वर्ष भइसकेको छ । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । यो सँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले ।

यू–१९ को विश्वकपमा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो ।

मलेसियामा आयोजना भएको यू १९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले यू–१९ एशिया कप पनि खेले । जहाँ उनले अफगानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए ।

प्रदीप खड्का – टेनिस

मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए । जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् ।

उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् । त्यसलगत्तै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । यो विचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो ।

२०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । उनी १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए ।

सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ्रे ओपनमा सिंगततफै दोस्रो भए ।

यस्तै पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो विर गणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटीजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भएका थिए ।

हिमाल सुनारी मगर – भलिबल

गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो । अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्दै आएका छन् । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिड्दाहिडदै उनी पनि भलिबल खेलाडी भए ।

सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्ला स्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्ष अघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले ।

उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर, हिमालको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । दोस्रो टाइगर कपमा उपाधि विहिन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो ।

२०८० साल उनको लागि निकै उपलब्धीमुलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात पर्‍यो । उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पार्‍यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरा मै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र विरजंग कपमा गण्डकी प्रथम भयो ।

पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितिय भयो । यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिका स्तरीय प्रतियोगिताहरु पनि जितेका छन् ।

उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्न कै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी भएका थिए ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, टाइगर ग्रुप अफ पोखरा, स्व. सेनानी हेम बहादुर पुनको परिवार, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप/आभ्या क्लब, मादी गाउँपालिका, बुमर्‍याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रालि, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), कास्की जिल्ला भलिबल संघ, भलिबल संघ गण्डकी, पोखरा १५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय, भिजन उर्जा लुम्बिनी कम्पनी, ज्ञानुबाबा आवासिय मावि,मोबाईल टावर प्रालि लगायत सहयोगी रहेका छन् ।

लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया