लाज हुनुपर्दैन कम्युनिस्ट पार्टीको नेता भएर ?

समाधान संवाददाता २०७५ पुष २९ गते १३:२३

लेखनाथ न्यौपाने 
व्यापार घाटाको अवस्था जे छ, उत्पादनको चरित्र जे छ त्यसलाई पूरै परिवर्तन नगरी हामी समाजवादमा प्रवेश गर्ने भन्नु काल्पनिक छ । यो हाम्रो पुस्तामा गम्भीर रुपमा छलफल गर्नुपर्छ । हिजोको गाविस गाउँपालिकाको एउटा वडा बनेको छ । उत्पादनको मोडल त्यहाँ तयार गर्नुपर्छ । कामको सुरुआत त्यहाँ गर्नुपर्छ । उत्पादनमा आत्मनिर्भरतातिर लैजानुपर्छ । हाम्रो सरकारले त्यता लैजानुपर्छ । उत्पादनमा केन्द्रित हुनुपर्छ । उत्पादन नबढाई समाजवाद हुँदै हुँदैन । 

एउटा गलत बहस छ । समृद्धि भएपछि समाजवाद आउँछ । होइन, त्यो गलत कुरा हो । त्यो माक्र्सवाद होइन । ठूलाठूला बाटा बनाउने अनि कोकाकोला बेच्ने ? जनता उत्पादनसँग नजोडी समाजवाद हुँदैन । समाजवाद भनेको जनतालाई उत्पादनसँग जोडेर आर्थिक गतिविधि बढाउनु हो । बहुराष्ट्रिय कम्पनीको बजार बनाउने होइन, जनतालाई उत्पादनसँग जोड्ने हो । 

समाजवाद भनेकै के हो ? छलफल गरौं । पार्टीमा छलफल चलाऔं । भन्दिएरमात्रै हुँदैन । सबै उत्पादनसँग इन्भल्ब नभई समाजवाद हुँदैन । एकातिर हामी कम्युनिस्ट पार्टी भनेका छौं । त्यो गौरवको कुरा हो । समाजवादको उद्देश्य राखेका छौं । त्यो महत्वपूर्ण हो । तर परम्परागत संसदीय राजनीतिमा छौं । एकातिर कम्युनिस्ट पार्टी भनेका छौं । अर्काेतिर परम्परागत संसदीय प्रणाली । परम्परागत संसदीय प्रणालीमा टेकेर समाजवाद ल्याउने कुरा माक्र्सवाद हो कि होइन ? समाजवाद सम्भव छ कि छैन ? मेरो विचारमा सम्भव छैन । त्यसो हो भने राजनीतिक प्रणालीमा ल्याउनुपर्ने परिवर्तन के हो ? त्यो छलफल गर्नुपर्छ ।

Advertisement

आज सरकारको परिणाम नआउनुको कारण यही अन्तरविरोध हो भन्छु म । परिवर्तन दिने बेला भएको छैन तर संकेत दिने बेला भएको छ । त्यो दिन सकेका छैनौं । 

आजभन्दा १७५ वर्षअघि समाजवाद स्थापनाको एउटै विकल्प बन्दुक भनिन्थ्यो । आज १७५ वर्षपछि त्यही एउटै विकल्प छ कि अरु पनि ? खोज्नुपर्छ । हामीसँग कि बन्दुक हो भन्ने छ कि परम्परागत संसदीय व्यवस्था । म दुवैसँग मञ्जुर छैन ।

Advertisement

कुनै न कुनै विकल्प हामीले खोज्नुपर्छ । लोकप्रिय जनमत प्राप्त गरेर कानुन कार्यान्वयन गर्ने ठाउँमा जाने र इमान्दार प्रयत्नबाट मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनतिर जाने पनि समाजवादमा जाने विकल्प हुन सक्छ । तर त्यस्तो इमान्दार प्रयत्न भएको छैन । लाज हुनु पर्दैन घरमा बस्ने र सरकारबाट डेराको भाडा लिने कम्युनिस्ट पार्टीको नेता भएर ? जम्मै सचिवालयमा वंशजका मान्छे राख्ने ? पार्टीका कार्यकर्ता छैनन् ? यस्ता छलफलहरु खुलेर गर्नुपर्छ ।

राजनीति खुलेरै गर्ने विषय हो । आन्तरिक हिसाबले छलफल गरेर हल गर्ने बेला हुँदासम्म, विधि हुँदासम्म, संस्कृति हुँदासम्म भित्रै छलफल गर्नुपर्छ । म आशावादी के छु भने इमान्दार हुने हो भने गर्न सकिन्छ । संसदीय नै किन नहोस् लोकप्रिय दुईतिहाई बहुमत छ हामीसँग । आलोचना हुन्छ गैरमाक्र्सवादी हो, संसदीय हो भनेर तर इमान्दार प्रयास गरेर परिवर्तनको अनुभूति दिन सक्यौं भने समाजवादको आधार तयार गर्न सक्छौं । 
हामी इमान्दार भएनौं भने खतरा छ । अर्काेचोटि चुनावमा लोकप्रियता हाँसिल नगर्ने खतरा त छँदैछ ।

देशै खतरामा पर्छ । ५० वर्षको इतिहास हेर्ने हो भने दक्षिण एसियामा कैयौं स्वतन्त्र देशको अस्तित्व नामेट भएको छ । त्यो खतरामा हामी छौं । हामीले प्राप्त गरेको लोकप्रिय मतको सदुपयोग गर्न सकेनौं भने त्यो खतरा हुन्छ । इमान्दारीपूर्वक काम गर्न सकेनौं भने गैरराजनीतिक शक्ति लोकप्रिय भएर उदाउने खतरा पनि छ । त्यस कारण हामी असफल हुने छुट छँदै छैन । 
प्रगतिशील लेखक संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको नेकपाका नेता न्यौपानेको पुस्तक ‘संघर्षको इतिहास’बारे राखेको छलफलमा उनले व्यक्त गरेको विचारको संक्षिप्त अंश

तपाईको प्रतिक्रिया