नियात्रा

मर्दी ट्रेकः अदम्य र जीवन्त अनुभव

प्रमिला कुँवर २०८१ वैशाख २५ गते १७:१२

पोखरा ।
मर्दी हिमाल पदयात्राको बारेमा सुनेको धेरै नै भएको थियो तर जाने मेसो मिलिरहेको थिएन । हिमालका फोटो देखेरै पैताला सकसकाएका थिए । मनमै अठोट गरेकी थिएँ, एकदिन पुगेरै छाड्छु । कात्तिक २५ गते सुरु भएको मेरो गन्तव्य सजिलो थिएन तर मनमा झल्किरहेका ती हिमालका सुन्दर तस्विरले यात्रालाई हौसाइरहेको थियो ।


यात्रामा ७ जनाको मतो मिल्यो अनि चार दिने यात्रारम्भ भयो । बिहान ८ बजे सबैजना हरिचोकमा भेट हुने सल्लाह अनुसार म ७ बजे घरदेखि हिडें । मनमा निकै डर लागिरहेको थियो । मेरो पहिलो पदयात्रा थियो डर लाग्नु स्वभाविकै हो । मम्मिलाई यो कुरा सुनाउँदा म भन्दा बढी डराउनु भएको थियो तर बाबाले घुमफिर गर्नुपर्छ हिँड्नुपर्छ भन्दै हौसला दिनुभएको थियो ।


८ बजे हरिचोकबाट बस प्रस्थान गर्नासाथ मनमा खुशीले काउकुती लगाउन थालिसकेको थियो । यात्रा कस्तो रहने होला ? बाटोमा केही समस्या आइपरे के गर्ने होला ? यस्तै कुराहरूले दिमाग घेर्न थालिसकेको थियो । हर्षका साथसाथै चिन्ता पनि लागिरहेको थियो ।

Advertisement


शहर, गाडी त्यो उकुसमुकुस भिड छोडेर कतै टाढा मात्र जादाँ मन खुसि थियो । कहिल्यै नदेखेको बाटो हिड्दै थियो मनमा डर लागिरहेको थियो । हिड्न सकिन भने । बिरामी भए भने जंगली जनावर आयो भने यस्तै कुरा मनमा खेलाउँदै यात्रा अघि बढिरह्यो ।


बस काँडेमा आएर रोकियो । काँडेमा चिया खाजा खाएर उकालो लाग्न सुरु गरियो । हाम्रो पदयात्राको पहिलो खुड्किलो सुरु हुँदै थियो । यसअघि अष्ट्रेलियन क्याम्प सम्म हाइकिङ आएकी थिएँ । २ घण्टा हिड्न पनि गाह्रो भएको थियो । अष्ट्रेलियन क्याम्प पुग्दा पनि टाढै आएको महसुस भएको थियो ।

Advertisement


म हिड्न सक्छु ६/७ घण्टा सम्म नआत्तिएर धुक्कसँग हिड्नुपर्छ भनेर मन र दिमागलाई बलियो पारेकी थिएँ । ११ बजेतिर अष्ट्रेलियन क्याम्प पुगियो । पोथना पुगेर खाना पछि लगत्तै यात्राको निरन्तरतामा जुटिहाल्यौं । थकानको परवाह नगरी निरन्तर यात्रा लम्किरह्यो । सुरुको २/३ घण्टा निकै जोसका साथ हिँडियो । विस्तारै गति कम हुँदै थियो ।


बाटामा ठूला ठूला रुखहरू थिए । चारैतिर घना जंगलले ढाकेको थियो । दिउँसै अँध्याराको साम्राज्य बनेको थियो जंगल । ५ मिटर भन्दा परसम्म देखिएको थिएन । हिउँ छोएर चलेको बतासको स्पर्शले भित्रैदेखि शरीरमा कम्पन ल्याएको थियो । नाक र गालाहरू हिउँ नै भएका थिए । उकालोमा फोक्सो फुलेर हिड्न गाह्रो भइरहेको थियो ।


हुस्सु र कुहिरोले हिमाल, डाडाँपाखा देखिएका थिएनन् । त्यसको के परवाह मलाई त बेस क्याम्पमै गएर हिमाल हेर्नु थियो । बाटोबाटै हिमाल देखिएको भए मजामा कमि आउँथ्यो होला सिधैं नजिक गएर हिमाल नियाल्दा जति मजा आयो । सायद दुई दिनसम्म बाटोबाटै हेर्दै गएको भए हिमाल हेर्ने रहर पनि मरिसक्थ्यो होला ।


बाटोमा भेटिने नेपाली विदेशी सबैलाई नमस्कार गर्दै, नमस्कार फर्काउँदै हिड्यौं । साढे एक घण्टामा फरेस्ट क्याम्प आइपुग्छ सुनाउँथे भेटिनेहरु । हिड्न गाह्रो भइरहेको थियो, मन आत्तिन थालिसकेको थियो । अन्तिमको एक घण्टा बडो मुश्किलले लठ्ठीको भरमा पाइला सर्दै थिए । आँखाका डिलमा आइसकेका थिए आँसु । साँझको ५ बजेको थियो यत्तिकैमा २५५० मीटरमा रहेको फरेस्ट क्याम्प देखियो । आजको बास यहि हुनेछ हाम्रो । हामीसँगै बास बसायौं हाम्रो यात्रालाई पनि । क्याम्पमा पुग्नासाथ कालो चियाको न्यानो स्वागत पायौं ।


२६ गते बिहान उठ्दा ७ बजेको थियो । पानी धेरै चिसो भएर मुख धुन पनि सकसै पर्‍यो । खाजा खाएर ८ बजे फरेस्ट क्याम्पबाट पुनः हाम्रो यात्रा सुरु भयो । १० बजे लो क्याम्प (२९७० मिटर) ले स्वागत गर्‍यो । बिहानी खानाका लागि बादल डाँडा (३३०० मिटर) मा रोकियौं । बादल डाँडाको बारेमा जस्तो आकृति कोरेकी थिएँ त्यस्तै पाए । बादलको साथ पाएर बादल डाँडा सुनमा सुगन्ध झै झल्किरहेको थियो । वरिपरिका हिमश्रृखंलालाई विस्तारै बादलले लुकाउँदै थियो ।


हिमाली बतास हुन्हुनाइरहेको थियो । पानी बिर्बिरायो । असिनाका मसिना दानाहरू बर्सिन थाले । बसार्दी भए पनि पानी हिड्ने आँट गर्न सकेनौं तर पानी नरोकिए पछि करिब ३० मिनेटपछि पानीमै हिँड्ने निर्णय गरियो । केहि समयपछि पानी रोकियो ।
उकालो जाँदै गरेका कहिले छोडिन्थे कहिले छोड्थे । हामी हाम्रै लयमा हिँडिरह्यौं ।

गन्तव्य पुगेर फर्किएकाहरूले जानकारी दिएर हामीलाई सघाइरहेका थिए । माछापुच्छ्रेको फेद चुम्नुको खुसी अनुहारमा टल्किएको थियो तर त्यसलाई शब्दमा व्यक्त गर्न सकिरहेका थिएनन् । डाँडाको नाकैनाक उकालो लाग्दा दाहिनेतिर मनोरम नांगा पाखा छन् भने देब्रे पाखामा लाली गुराँसका बुटाहरू छन् । लालीगुराँसका बुटाहरूमा कोपिला लागेको देखिएको छ ।


थकाइ लागेर मन र शरीरका बीच अनमेल सुरु भइसक्यो । पुग्नु पर्ने गन्तव्य जति माथी गयो उती माथी सर्दै गए झैं लाग्थ्यो । मनलाई जति बलियो बनाए पनि गाह्रो भएर आँसु खसिहाल्यो । मनसँग चुँडिएको शरीरलाई जबर्जस्ती घिसारेर हाइ क्याम्पसम्म पुर्‍यायौं । आज तुलनात्मक रूपमा हिजोभन्दा कम हिंड्यौं । रेस्ट क्याम्पबाट ५ घण्टा लाग्छ भनिएको बाटो छिचोल्न हामीलाई ७ घण्टाभन्दा बढी लाग्यो । आज हाम्रो बास हाई क्याम्पमा हुनेछ । यो भन्दा माथी बासको व्यवस्था छैन । हाम्रो मुख्य गन्तव्य भने यो होइन । हाइ क्याम्प छिचोलेर ४२०० मिटरमाथि पुगिसकेपछि मात्र हाम्रो यात्राको मुख्य गन्तव्य भेटिन्छ ।

मन पर्ने पहेंलो रङको सारी लगाएर, हिउँमा बसेर, नेपथ्यमा हिमाललाई सजाएर फोटो खिच्न पाउँदा सपनाको संसार भेटिएको महसुस गरें । मुटु छिचोल्ने चिसोमा सारी लगाउन आशंकित भएपनि रहरको चुलीले जित्यो ।


होटलहरू प्याक थिए बास पाउन मुश्किल थियो । धन्न बास पाइयो । हल कोठामा फलामको ठूलो चुलोमा दाउरा भरिए । फलामकै पाइपबाट धुवाँ छाना हुँदै बाहिर फ्याँकिएकाले कोठा धुवाँमुक्त बनेको थियो । आगो छोड्नै मन थिएन तर फेवातालमा डाइभ हान्ने फिस्टेल हेर्न बिहानै ४ बजे हिँड्नुपर्ने भएकोले विश्रामतिर लागियो । भोलिको यात्रा कस्तो होला ? भन्ने कल्पना र उत्सुकतामा त्या चिसो रात बित्यो । त्यो रात मेरा मनमा अब सकिन्न कि, लेक लाग्यो भने चिन्ताले घेरेको थियो ।


२७ गते बिहान साढे ३ बजे नै उठेर तयार भएर भ्यू क्याम्पतिरको बाटो छोट्याउन थाल्यौं । कतिपय त ३ बजे नै हिंडिसकेका थिए । पर अध्यारोमा लाइट बलेको देख्न सकिन्थ्यो । बाटो अत्यन्त खतरापूर्ण थियो । अध्यारोमा भएकाले झनै डरलाग्दो लागिरहेको थियो बाटो । मोबाइल फोनको लाइटमा हामी खतरनाक चुली भीरको धारधारै उक्लिरह्यौ कहिले चार हात खुट्टा टेकेर त कहिले भीरका ढुंगाका आडमा लपक्क टाँसिएर । हिउँ खासै नभएकाले बाटो सहजै लाग्यो, हिउँ भएको भए ओहो सोच्दा पनि सिरिंग हुन्छ ।


उक्लिंदा उक्लिंदै ५ः४५ मा भ्यू पोइन्टको थाप्लामा पुग्यौं । मान्छेको भिड कुनै मेला लागेको भन्दा कम थिएन । फेदमा पुगेपछि स्वर्गको बार्दलीमा पुगेको आभाष भयो । त्यति नजिकबाट गजधम्म बसेको माछापुच्छ्रे (६९९३ मिटर) लाई नियाल्न पाउँदा हामीभित्रको उत्सुकता दुगुना मात्र बनेन चौगुना भयो । हिजाेकाे थकान र मुटु कमाउने चीसो बिर्सियौं ।


हिमश्रृङ्खलाको एउटा लहर देखियो । साउथ अन्नपूर्ण र हिमचुली (६४४१ मिटर), मर्दी हिमाल (५५८७ मिटर), अन्नपूर्ण प्रथम लगायतका हिमाल चियाउने अवसर पनि पाइयो । यहाँबाट हिमालहरूलाई अँगालैमा बेरेर चुम्न सकिएला कि झैं लाग्थ्यो । आँखाले मात्र होइन हातैले स्पर्श गर्न सकिनेजस्तो लाग्छ यहाँबाट हिमाल ।


मर्दी हिमाल बेस क्याम्प पुग्न यहाँ बाट ३०० मिटर उक्लिनुपर्छ रे । हामीमा त्यो सामथ्र्य रहेन गन्तव्यलाई यहि बिट मार्ने भयौं । मर्दी पदयात्राका इतिहासमा स्विस नागरिक बेसेललाई सम्झनुपर्छ रे । सन् १९५६ तिर उनले मर्दी हिमालका तस्विर खिचेर प्रचार गरेपछि पर्यटकको क्याम्पिङ हुन थालेको रे ।


सारी लगाएर फोटो खिच्ने रहरसँगै सारी बोकेकी थिएँ । आफ्नो मन पर्ने पहेंलो रङको सारी लगाएर, हिउँमा बसेर, नेपथ्यमा हिमाललाई सजाएर फोटो खिच्न पाउँदा सपनाको संसार भेटिएको महसुस गरें । मुटु छिचोल्ने चिसोमा सारी लगाउन आशंकित भएपनि रहरको चुलीले जित्यो ।


तल फर्किन मन मानिरहेको थिएन । हामी हिमाली सुन्दरतामा लठ्ठ परेका थियौं । मन नलागी नलागी हामी ओर्लियौं हाइक्याम्पतिर । खाजा खाएर हिड्ने बेला ११ बजिसकेको थियो । आज दिनभरि खाना खाने मेसो मिलेन, झोलामा भएका चाउचाउ बिस्कुट खाएर बाटो काट्यौं ।


लो क्याम्प आइपुगेपछि दोधार भयो । फरेस्ट क्याम्प जाने कि सिदिङतिर झर्ने । सिदिङ झर्न ४ घण्टा लाग्छ रे, गाडी पाउने निश्चित पनि छैन, कि रिजर्भ गरेर जाने कि सिदिङमै बास बस्ने । ७ जनामा ३ जना सिदिङ नै झर्ने भए । बाँकी ४ जना फरेस्ट क्याम्पतिर ओरालो लाग्यौं । जाँदा २ घण्टा लागेको बाटो फर्किदा ३ घण्टा लाग्यो । घना जंगलभित्रको निरन्तरको ठाडो ओरालो बाटो कत्ति सजिलो थिएन । ५ बजे फरेस्ट क्याम्प आएर बसियो ।


२८ गते बिहान खुट्टाले टेक्नै सकेको थिएन । हिड्न सक्छु जस्तो लागेन । पर्सिपल्ट भाइटिका भएकाले आज त जसरि पनि घर पुग्नु थियो । मन हिड्न मानिरहेको थिएन तर हामीले जबर्जस्ती शरीर हिँडाउन थाल्यौं । यता शहर गाउँ देशमा तिहारको रमझम सुरु भइसकेको रहेछ । टाढा टाढा गाउँमा घन्केका देउसी भैलोको गीतले जंगल पनि रमाइरहेको थियो । पित्तम देउरालीमा देउसी भैलो नाचिरहेका थिए । हामी त्यैसमा हराइरहेका थियौं याद आयो हामीलाई आज घर पुग्नु छ । गह्रौ मन लिएर पाइला चाल्यौं ।


धम्पुस पुगेर गाडीमा जाने योजना थियो । धम्पुस आइपुग्दा जिप छुटिसकेछन् । एउटा बस थियो । रिजर्भ गरेर जाने भए जान्छौं भन्दै थिए बसका मान्छेले । ४ जनाले बस रिजर्भ गर्न सक्ने कुरै भएन । धम्पुसबाट घट्टेखोला पुग्न २ घण्टा लाग्ने रहेछ । अझ ट्रेकिङको मज्जाले हामीलाई छाडिसकेको पनि थिएन, घट्टेखोलासम्म हिंड्ने तय गर्‍यौं ।


घट्टेखोला झर्दा ७ बजेको थियो । घट्टेखोलाबाट बस चढेर विन्दवासिनी बसपार्कमा झरेर आ—आफ्नो घरतिर लाग्यौं । मर्दी हिमाल पदयात्रा गएर फर्किएको ६ महिना भइसक्यो । तर अझै पनि जब मर्दी हिमाल यात्रा सम्झन्छु तब मुहारमा मुस्कान र मनमा सन्तुष्टि छाउँछ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया