मन्त्री रवीन्द्रकाे अभाव खड्किरहने छ

विकास लम्साल
मृत्यु अवश्यंभावी छ । त्यसैले जन्म पछि मृत्यु निश्चित छ । तर अनपेक्षित दुर्घटनाले निम्ताएको मृत्युले दुखी बनाउने रहेछ । देशलाई नै शोकमा डुबाउने रहेछ । यस्तै भयो । फागुन १५ गते मध्यान्हफेर नेपाल सरकारका पर्यटन, संस्कृति तथा उडड्यन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको खबरले । पोखरामा नीति तथा योजना आयोगको कार्यक्रम चलिरहेको थियो । अपत्यारिलो खबरले हाड फतक्क गले । बक्के बस्यो । घाँटी सुक्यो । दुर्घटनाको खबर पाएको आधा घण्टा पछि निधन नै भन्ने पुष्टि भयो । एकाएक विगतका उहाँसग जोडिएका विस्मृतिहरु मेरो मानसपटलमा रिङ्न थाले । कलेज पढ्न भनेर ०४८ सालताका पोखरा झेरेको म । विद्यार्थी राजनीतिदेखि पारिवारिक सम्बन्ध बुन्दै संविधान सभासम्मको यात्रामा समकालिन एवं अभिभावक मेरो आदरणीय रवीन्द्र दाईदेखि विभागिय मन्त्रालयसम्मको सहयोगी सम्बन्ध । सम्झने शब्द कम छन् तर सम्झीरहने उहाँसँग जोडिएका विगतदेखि वर्तमानसम्मका इतिवृतान्त सायदै यहाँ उल्लेख गर्न सकिदैन । रवीन्द्र दाईको श्रद्धान्जली सभामा स्वयं उपस्थित भएर अन्तिम श्रद्धान्जली दिइरहँदा समेत महशुस नै भइरहेको छ । आजको दिनसम्म पनि उहाँसँग जोडिएका अन्तरकुन्तरका संयोग र सहयोग सद्भावका परिदृश्य झल्झल्ति आइरहन्छन् । र उहिँ शैलीमा हालखबर सोध्न आइपुग्नुहुन्छ, ‘के छ ठिक छ ?’
विद्यार्थी राजनीतिका प्रेरक
पर्वत बहुमुखी क्याम्पसबाट प्रविणता तह सकेर ०४८ सालमा पोखरा झरे । पृथ्वीनारायण क्याम्पसमा ‘बिकम’मा भर्ना भए । पर्वतकै क्याम्पसमा अखिलको प्रारम्भिक विद्यार्थी कमिटीको जिम्मेवारी सम्मालेको अनुभव थियो । पोखरा नआउँदै पनि रवीन्द्र दाईको बारेमा सुनिसकेको थें । पर्वतबाट परिक्षा दिन हामी पिएन मै आउनुपर्ने बाध्यता थियो त्यससमय । अन्नतः एउटै क्याम्पसमा पढ्ने एउटै संगठनको कार्यकर्ता भएपछि घनिष्ठता बढ्यो । २०४९ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उहाँ सभापति हुनुभयो । म सोही १७ सदस्यीय समितिमा कार्यकारी सदस्यको हैसियतमा निर्वाचित भए । रवीन्द्र दाई स्ववियुमा निर्वाचित भएपछि क्याम्पसमा रचनात्मक गतिविधि ह्वात्तै बढे । नयाँ शिराबाट अनेकौं बहसहरुको थालनी गर्ने अचम्मको खुबी थियो उहाँसँग । यस्ता गतिविधिमा निरन्तर सहकार्य भइरह्यो । राजनीतिलाई विकाससँग जोड्नु पर्ने स्पष्ट धारणा थियो रवीन्द्र दाईमा । उहाँकै कार्यकालमा पिएन क्याम्पसमा भौतिक संरचनासँगै फ्याकल्टी विस्तारसम्मका कामहरु गरिए । पुस्तकालय, बाटो निर्माण, गेट निर्माणका गतिविधिसँगै विद्यार्थी अनुशासनका लागि ड्रेसको व्यवस्था कायम गर्न उहाँको नेतृत्व आजपनि प्रेरणादायी छन् ।
०४६ सालसम्मको विद्यार्थी राजनीतिलाई मात्र दलको सिमित मोहराको रुपमा परिभाषित गरिन्थ्यो । उहाँले विद्यार्थी राजनीतिले राज्य सत्ता हल्लाउन सक्छ, भन्ने किसिमका सबल पक्षहरुको अभ्यास अनूभुत गराउनुभयो । र तिनै थालनीका परिणाम हुन् सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई छुट सुविधा । यो सहज परिस्थितीबाट निस्किएको परिणाम थिएन । सरकारलाई गालेर नै विद्यार्थी छुट सम्बन्धमा व्यवस्था गर्न बाध्य बनाइएको हो । गायक प्रविण गुरुङको हत्याको विषयमा पारस शाहको शाहज्यादा खोस्ने प्रयाससम्मका कामहरु साँच्चिकै आटिला कुरा हुन् । राजाकालमा दरबार विरुद्ध नै धावा बोल्नु चानेचुने कुरा थिदैँ थिएन् । सोही क्रममा पाँचलाख बढि हस्ताक्षर संकलन गरी तत्कालिन राजा विरेन्द्रलाई हस्तान्तरण गराउने कामको नेतृत्व रवीन्द्र दाईले विद्यार्थी कालमा गरेका ऐतिहासिक मानक हुन् ।
विद्यार्थी कालमै उहाँले गर्नुभएको अर्को महत्वपूर्ण वैचारिक काम भनेको । पार्टीले महाधिवेशनका लागि लैजाने विभिन्न प्रस्तावहरु ग्राउण्ड लेबलमा ल्याएर छलफल चलाउने । तत्कालिन समयमा मोहनचन्द्र अधिकारी, सिपी मैनाली र मदन भण्डारीले महाधिवेशनका लागि फरकफरक सैद्धान्तिक प्रस्ताव आएका थिए । ती तिनै प्रस्तावलाई रवीन्द्र दाईले अखिलको कर्मठ कार्यकर्ताको हैसियतले पार्टीमा अघि सारिएका सैद्धान्तिक पक्षहरुमा बहसको थालनी गरिदिनु भयो ।
अन्ततः महाधिवेशनबाट ‘जबज’ पारित हुन सफल भएको थियो । लोकतान्त्रिक पद्दतीलाई संस्थागत गर्न चुनावी प्रक्रियाबाट नेतृत्व छानिनुपर्दछ भन्ने कुरामा पनि उहाँको र मेरो सहकार्य अन्तिम समयसम्म पनि निरन्तरता रहिरह्यो । संगठनलाई दरिलो बनाउन विद्यार्थी संगठनमा लोकतान्त्रिक प्रणालीलाई संस्थागत गराउनमा रवीन्द्र दाईको अतुलनीय योगदान छ । विद्यार्थी राजनीतिमा छँदासम्म उहाँले नेतृत्व लिएका हरेक आन्दोलनले सफलता प्राप्त गरेकोले ०५४ मा पार्टीमा फुट आएपछि पनि उहाँलाई अखिलको विद्यार्थी नेता नै भनेर चिन्दथें । ०५८ मा फुटपछिको जुटले पनि उहाँको राजनीतिक क्षमता र वैचारिक नेतृत्वलाई असर गरेन ।
०५२ सालपछि रवीन्द्र दाई थप अध्ययन र केन्द्रीय विद्यार्थी राजनीतिमा अग्रसर हुँदै काठमाडौं जानु भयो । म जिल्लाको राजनीतिमा केन्द्रीत भए । निरन्तर तिन वर्षसम्मको उहाँको संगतमा मैले विद्यार्थी जीवनबाट नै राजनीति भनेको असल कर्मका लागि भन्ने अठोट गरिसकेको थियो । यसकारण पनि उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । काठमाडौं गएपछि पनि मलाई धेरै पटकको भेटमा उहाँले काठमाडौंमै आउन आग्रह गर्नुभयो । म जिल्लामै अलि बढि केन्द्रीत हुँदा त्यससमय तत्कालै काठमाडौं जान तयार भइन । उहाँ केन्द्रीय राजनीतिमा समेत सफल भइरहँदा मसँगको अन्तरसम्बन्ध लगायत राजनीतिक परिवेशका घटनाहरुमा निरन्तर छलफल र बहस भने गरिरहनु भयो । जुन मेरा लागि पनि सत्मार्ग बनें । सम्बन्ध बनाउन र दायित्व निभाउन एक असल नेतामा हुनुपर्ने गुण रवीन्द्र दाईमा थियो । उहाँको यो गुण जुनै शब्दले प्रशंसा गर्न खोजे पनि निष्फल हुन्छ । विपक्षीलाई पनि मिलाएर अघि लैजानु पर्दछ । चिढाउनु हुँदैन । मित्रवत् हार्दिक सम्बन्धले नै अनेकौं राजनीतिक अड्चनको गाँढो फुकाइसकेको हुन्छ भन्ने मान्यता उहाँको असल आचरण थियो । यसरकारण पनि उहाँ मेरा लागि प्रेरक बनिरहनु भयो ।
पारिवारिक सम्बन्ध
पोखरा विश्वविद्यालय स्थापनाका लागि विभिन्न चरणमा छलफलहरु भइरहन्थें । ०५२ सालमा यस्तै सन्दर्भमा हामी कुराकानीकै क्रममा भेटघाट र अन्तरक्रिया गरिरहन्थ्यौं । उहाँले कमरेड सोमनाथ अधिकारी प्यासीकी सुपुत्री मञ्जुसँग मेरो विवाहको प्रस्ताव गर्नुभयो । यसअघि अन्यले अन्यत्रबाट ल्याएका प्रस्ताव टारिरहन्थें । रवीन्द्र दाईका प्रस्ताव नर्कान सकिन् र हामीले जनवादी विवाह ग¥यौ । यसअघि पनि पार्टीका कार्यक्रम सञ्चालनका लागि पैसाको जोहो गर्न विद्यार्थी राजनीतिमा हुँदा तिन वर्षसम्म तिहारमा देउसी भैलो खेल्थ्यौं । त्यससमय म तिहारमा पर्वत गइन । मैले रवीन्द्र दाईकी बहिनीको हातबाट भाइटिका लगाए । मैले पोखरा रहँदा घरको तिर्सना मेट्ने रवीन्द्र दाईकै घर थियो । बुबा आमाको स्नेह र भाईबहिनीसँगको ममता । पारिवारिक घनिष्ठताले पनि हामी अत्यन्तै नजिक थियौं । साथीभाई इष्टमित्रलाई उत्तिकै सम्मानआदर गर्ने रवीन्द्र दाईको अभाव मेरो जीवनकालमा सधैं खड्किरहने छ ।
अब्बल सांसद, अब्बल मन्त्री
०६५ मा संविधान सभाको चुनावमा म जिल्लाकै राजनीतिमा सक्रिय थिएँ । संगठन बनाउन र परिचालन गर्नमा बढि केन्द्रीत हुँदा मैले आकांक्षा देखाइन । कास्कीबाट रवीन्द्र दाई निर्वाचित हुनुभयो । भलै पहिलो संविधानसभाले संविधान बनाउन सकेन । त्यस चरणमा पनि उहाँको सक्रियताले ‘एक्टिभ पार्लिमेन्ट मेम्बर’को भूमिका देखाइसक्नु भएको थियो । दोस्रो संविधान सभाको चुनावमा म पर्वतबाट निर्वाचित भए । उहाँले दोस्रोपल्ट पनि कास्कीबाटै संविधान सभाका यात्रा तय गर्नुभयो । यस क्रममा उहाँको चर्चा अझ चुलियो । म लेखा समितिको जिम्मेवारीमा थिएँ । उहाँले विकास समितिको सभापतिको जिम्मेवारी पाउनु भयो । संसदका समितिहरुमा पक्षप्रतिपक्ष अति कम देखिने ठाउँ हुन् । रवीन्द्र दाईले आफ्नो वास्तविक क्षमताको सुरुवात विकास समितिमा हुँदा देखाउने अवसर पनि पाउनुभयो । विकासको बहस सिर्जना भयो । समृद्ध नेपालको प्रतिपादक बनेर उभिनु भयो । राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहमा भइरहेका विकास निर्माणको पनि अनुगमन जवाफदेहिता खोज्ने अधिकार प्रयोग गर्दै रवीन्द्र दाईले अब्बल सांसदको भूमिका देखाउनु भयो ।
गौतम बुद्ध विमानस्थलको चमात्कारिक प्रगति रवीन्द्र दाई विकास समितिमा हुँदादेखि कै हो । आगामी भदौसम्ममा व्यावसायिक उडान भर्ने गरी युद्धस्तरमा निर्माण भइरहेको विमानस्थलको काम त्यससमयमा ठप्प जस्तै थियो । राष्ट्रिय गौरवकै आयोजनाको रुपमा उहाँले विकास समितिको सभापति छँदा नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तमाम् गण्डकी प्रदेशबासीकै सपनाको नेतृत्व लिएकै कारण आज यो आयोजना पनि सपनासाकार हुँदै छ ।
संसदमा समेत विशेष प्रस्ताव, संकल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावहरु रवीन्द्र दाईले धेरै दर्ता गराउनु भयो । यस लगायत काममा उहाँसँगको मेरो सहकार्य रहँदा आजसम्म पनि सुखानुभूति हुन्छ । भनिन्छ नि, ‘गमलाको फूलले बहाना खोज्छ, पीपलको बोटले अवसर’ उहाँले असम्भव देख्ने कयौं यस्ता कुराहरुलाई सम्भव बनाउनु भयो । यसैको परिणाम नै भन्नुपर्छ । संसदमा पनि उहाँले आफूलाई अब्बल सांसदको रुपमा परिचित गराउनु भयो ।
रवीन्द्र दाई दोस्रो संविधान सभाबाट पारित संविधान कार्यान्वयनका लागि निकै गम्भीर हुनुहुन्थ्यो । संविधानले प्रदत्त गरेको संघीयताको प्रारुप र बाँडफाँड हुने अधिकारका सम्बन्धमा उहाँको चासो थियो । दशकौंको लडाईपछि प्राप्त गरेको अधिकार जनतासम्म पुर्याउन सकेमा जनमतको कदर गर्न सकिने विश्वास उहाँमा थियो । त्यसैले पनि उहाँ पार्टीले निर्णय गरेमा तल्ला तहमा समेत जिम्मेवारी लिएर काम गर्न सकिने कुरामा प्रष्ट हुनुभयो । पार्टीकै निर्णयानुसार म प्रदेशमा आए । उहाँ संघका लागि प्रतिनिधित्व गर्नुभयो । विभागिय मन्त्रालय पनि एउटै भयो । यस अवधिमा पनि उहाँले आफू संघको मन्त्री निर्देशन मात्रै दिए पुग्छ, भन्ने किसिमको व्यवहार थिएन । ग्राउण्ड लेबलबाट सोच्न सक्ने क्षमताका कारण उहाँबाट धेरै जनप्रतिनिधि सन्तुष्ट देखिन्थें । निराश नहुन उहाँको हौसला सदैव प्राप्त भयो । प्रदेश मन्त्रीमा म नियुक्त भएपछि उहाँले बधाई दिँदै प्रदेशको विकासमा सधैं समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रदेश गठन अगावै पनि उहाँले कोरला नाकाको स्थलगत निरीक्षण गरेर नाका विस्तारका लागि पहल गरिसक्नु भएको थियो । प्रदेशलाई पर्यटनको हब बनाउन सकिन्छ भनेर उहाँले सदैव क्रियाशिल भूमिका खेलि रहनु भयो ।
उहाँले देखाउनु भएको क्रियाशिलता र चिन्तन मन्त्री भइसकेपछि पनि निरन्तरता दिइरहनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक कन्सेप्टमा परिर्वतन गर्ने । २१ घण्टासम्म सञ्चालनमा ल्याउने । डोमेस्टीक एयरपोर्टमा समेत रात्रीकालिन उडान भर्ने । बन्द भइसकेका विमानस्थलको सञ्चालन पूर्वाधार विकासमा लगायतका कामहरु मन्त्री भइसकेपछि गरेका कामहरु उल्लेखनीय छन् । यसै क्रममा दुरदराजका नागरिकलाई भौगोलिक विकटताका कारणले सुविधाबाट बञ्चित गरिनु हुँदैन भनेर निरन्तर लागिरहँदा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा उहाँको अकल्पनीय अवसानले स्तब्ध बनाएको छ । विभागिय प्रदेश मन्त्री भएकोले नाताले र मेरो व्यक्तिगत सम्बन्धबाट रवीन्द्र दाई भएको नाताले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै, सम्पूर्ण शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
लम्साल गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् ।
देश सञ्चार डटकमका पोखरा संवाददाता ईश्वर देवकोटासँगको कुराकानीमा आधारित ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया