बाराका हुरी पीडितलाई चिल्ड्रेन होमको राहत

समाधान संवाददाता २०७५ चैत २८ गते १३:२३

समाधान संवाददाता, पोखरा

बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भलवलियामा चैत १७ गते आएको हावाहुरी पीडितलाई पोखराको रेन्बो चिल्ड्रेन होम नेपालले राहत वितरण गरेको छ ।

समाजका विपन्न एवं असहाय बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाले प्रभावित क्षेत्रमा पुगी पीडितको आवश्यकता अनुसारको २ लाख मूल्य बराबरको विभिन्न राहत सामग्री वितरण गरेको हो ।

Advertisement

हावाहुरी पीडित क्षेत्रमा पुगेको टोलीले बस्तीका विशेषतः सुत्केरी महिला र नवजात शिशुका लागि आवश्यक सामगी वितरण गरेको रेन्बो चिल्ड्रेन होमका संस्थापक गोमा ढकालले जानकारी दिइन् ।

उनका अनुसार उक्त वस्तीका १० देखि एक महिनासम्मका १० जना सुस्केरी महिला र नवजात शिशुलाई म्याट्रेस, तकिया, तन्ना, हर्लिक्स तथा बच्चालाई सरसफाइ लगायत आवश्यक सामग्रीसहित नगद वितरण गरिएको हो ।

Advertisement

हावाहुरीको कारण घर उडाएपछि नेपाली सेनाले उपलब्ध गराएको टेन्टभित्रको चिसोमा बस्न बाध्य कठिन परिस्थितका महिला र बालबालिकालाई पोखरामा विभिन्न संघ संस्था र व्यक्तिबाट संकलित रकमबाट राहत वितरण गरिएको उनले जानकारी दिइन् ।

राहत वितरण कार्यक्रममा नारायणी क्षेत्रीय अस्पताल वीरगन्जकी प्रसूतिरोग विशेषज्ञ डा. लक्ष्मी थापाले हावाहुरीको कारण जोखिममा परेका मातृशिशुको स्वास्थ्य प्रतिगम्भीर हुनुपर्ने सुझाइन् ।

उक्त क्रममा संस्थाबाट १० रोल म्याट्रेस, झुल लगायत सामग्री स्थानीय समाजसेवी एवं राहत व्यवस्थापन समितिका संयोजक वीरेन्द्र शाहलाई हस्तान्तारण गरिएको थियो । प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था र व्यक्तिबाट प्राप्त सहयोगले खाद्यान्नको समस्या तत्कालका लागि टरे पनि ग्यास चुलो र सिलिन्डरको अभावमा खाना पकाउन समस्या भएको पीडितले बताए ।

तपाईको प्रतिक्रिया