सिमाना चीन र नेपालको संयुक्त गस्ती

सुन्दरकुमार थकाली २०८१ वैशाख १३ गते १६:२६

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासँग सीमाना जोडिएको कोरला नाका क्षेत्रका दुवै देशका प्रहरी सुरक्षाकर्मीहरुले संयुक्त पैदल गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुने सम्भावित अपराध, चोरी सिकारी र अवाञ्छित गतिविधि न्यूनीकरण तथा रोकथामका लागि सीमा क्षेत्रमा रहेका नेपाली र चिनियाँ सुरक्षाकर्मीले बुधवार संयुक्त गस्ती गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङको मातहतमा उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रहरी कार्यालय छ । लोमान्थाङ—१ को नेचुङमा छोसेर प्रहरी चौकी छ । उता चीनतर्फ पनि कोरला नाकाको तिब्बती भूमि १० गजा क्षेत्रमा चिनियाँ प्रहरी सुरक्षाकर्मी बस्छन् । दुवै देशका सुरक्षाकर्मीहरूको आपसी समन्वयमा कोरला क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।


नेपाल र चीन पक्षका प्रहरी सुरक्षाकर्मीको सम्भवत यो नै पहिलो संयुक्त सुरक्षा गस्ती हो । यसले दुवै देशका प्रहरी सुरक्षाकर्मी आपसमा समन्वय र सहकार्यसहित मिलेर सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि अपराध नियन्त्रण र चोरी सिकारी न्यूनीकरण गर्नमा दुवै देशका प्रहरी सचेत रहेको सन्देश दिइएको छ ।

Advertisement

कोरला नाका बाह्रैमास खुलेयता सुरक्षा चुनौती बढेको महसुस गरी गस्ती गरिएको

नेपाल र चीनका संयुक्त प्रहरी सुरक्षा गस्ती टोलीले कोरला नाकाको २४ नम्बर र २३ नम्बर सीमा स्तम्भको ३ किलोमिटर दुरीमा संयुक्त पैदल सुरक्षा गस्ती गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

Advertisement


नेपाल—चीन संयुक्त सुरक्षा गस्तीमा नेपाल पक्षबाट इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायब निरीक्षक सुशील लामिछानेको नेतृत्वमा ८ जना प्रहरी टोली र चिनियाँ पक्षबाट कोरला नाकास्थित लिजी प्रहरी कार्यालयका प्रहरी सबइन्स्पेक्टर छेदर दोर्जीको नेतृत्वमा ८ जना चिनियाँ प्रहरी गरी १६ जनाको प्रहरी टोली कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


उत्तरी सीमा क्षेत्र कोरलामा दुवै देशका प्रहरी सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती भएको र यस प्रकारको सुरक्षा गस्तीले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न निकै ठूलो सहज पुग्ने प्रहरी नायब उपरीक्षक पाण्डेयले उल्लेख गरे । उनले यो सीमा क्षेत्रमा पहिलो संयुक्त प्रहरी सुरक्षा गस्ती भएको र आगामी दिनमा पनि यस प्रकारको गस्तीले निरन्तरता दिइने जनाए ।


उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङसँग सीमाना जोडिएको कोरला नाका पछिल्लो समय पर्यटकीय हब बन्दै जान थालेको छ । २०७४ सालदेखि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत नाकासम्मको सडक संञ्जाल स्तरोन्नति भइरहेको छ । गौरवको सडकका कारण सडक यातायात सहज हुँदै गर्दा पछिल्लो समय आन्तरिक पर्यटक कोरला नाका अवलोकन गर्न लर्को नै लाग्ने गरेको छ ।


कोरोना कहरले लगातार ४ वर्षसम्म बन्द कोरला नाका गत कात्तिक २७ गतेदेखि बाह्रै महिना खुला भएसँगै सीमा क्षेत्रमा मानिसहरूको आवतजावत बढ्दै गइरहेको छ । उपल्लो मुस्ताङका नागरिकले चिनियाँ भूमिमा पुगेर मालसामान खरिद गर्न र आफूले उत्पादन गरेको सामाग्री चीनतर्फ निर्यात गर्न सहज भएकाले नेचुङ—लिजी कोरला नाकामा व्यापारिक कारोबार बढ्दै गइरहेको छ ।


कोरला नाका खुला भएको र सीमा क्षेत्रमा पर्यटक जान थालेपछि त्यहाँ सुरक्षा चुनौती महसुस गरिएको छ । कोरला नाकाको १० गजा क्षेत्रमा नेपाल पक्षले अस्थायी टहरा निर्माण गर्ने तयारी गरेको छ । त्यहाँ पूर्वाधार विकास कार्यालय मुस्ताङले सुरक्षा निकाय बस्न मिल्ने ६ कोठे एसवाई प्यानलको भवन बनाउने तयारी गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया