मापासे गरेर नातिमाथि खुर्पा प्रहार

समाधान संवाददाता २०७६ वैशाख २ गते १३:२९

समाधान संवाददाता, गाेर्खा

चैते दसैं मान्न मामाघर आएका सुशील रम्तेल आफ्नै हजुरबुवाले खुर्पा प्रहार गर्दा गम्भीर घाइते बनेका छन् । कार्भेको नाला घर भएका रम्तेललाई हजुरबुवा बुद्धिबहादुर कोइरालाले आइतबार बिहान करिब आफ्नै घरको कोठामा थुनेर खुर्पा प्रहार गरेका थिए ।

कक्षा ८ को परीक्षा सकेर गोरखा नगरपालिका ७ बतासेचोकमा रहेको मामाघर आएका रम्तेल कोठामा सुतिरहेका बेला हजुरबुवाबाटै खुर्पा प्रहार भएको स्थानीयले बताएका छन् । ‘नाति सुतिरहेका रहेछन्, सुतेकै ठाउँमा गएर हजुरबाले ३ ठाउँमा खुर्पा हानेछन्’ १ छिमेकीले भने, ‘त्यसपछि बाहिरबाट चाबी लगाएर बुद्धिबहादुर भागेछन् ।’

Advertisement

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका रम्तेल केही समय चिच्याएपछि मात्रै छिमेकी थाहा पाएका थिए । तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि कोइराला हरमटारी क्षेत्रबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर हिमबहादुर खत्रीले बताए । अत्याधिक मदिरा तथा गाँजा सेवन गर्ने गरेका कोइराला २५ वर्षदेखि पत्नीसँग समेत अलग बस्दै आएको स्थानीयको भनाइ छ ।

उनलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नातिलाई प्रहार गरेको खुर्पा बतासे नजिकैको खोलामा फालेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

उता घाइते रम्तेलको जिल्ला अस्पताल गोरखामा उपचार हुन नसकेपछि काठमाडाैं लगिएको परिवार स्रोतले जनाएको छ । उनको गर्धनमा गहिरो चोट छ ।

तपाईको प्रतिक्रिया