माग्न नसक्ने जनता

बद्रीविनोद प्रतीक
नयाँ वर्षको पहिलो दिन हामी लमजुङ यात्रामा थियौं । अल्पसंख्यक दुराहरुको उद्गमस्थल तुर्लुङकोट गाउँमा पुग्दा छुट्टै आनन्द छायो । समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाईमा रहेको तुर्लुङकोट कालिकाको मैदानमा आयोजित ५ औं चैते दसै मेला मेरो जीवनमा दोस्रो थियो । झन्डै ४० वर्ष अगाडि र पछिका दृष्यमा समानता थिएनन् ।
प्रधानमन्त्री केपी शर्माको भनाइमा विकासको तीव्र गतिमा रहेको अहिलेको गाउँ र उहिलेको गाउँमा आकाश जमिनकै फरक छ । पहिले हिँडेरै कालिका दर्शन गरिएको थियो । अहिले मोटरमा गुडेर पुगियो र दर्शन गरियो ।
पहिलो पटक पुग्दाका प्राकृतिक दृश्य अहिले देखिएन । पहिले ससाना पसल थिए । गाउँघरमा उत्पादन गरिएका डोको, नाम्लो, कुटो, कोदालो, हसिया, राडी, पाखी, अल्लोबाट बुनेका कपडा, घरवुनाका कपडा आदि बेच्न राखिएको हुन्थ्यो । तर अहिले ती वस्तु भेटिएनन् । ठेलो हान्ने र जित्नेलाई काधमा बोकेर हुर्रे हुर्रे गर्ने, फेता गुथाएर रुपैयाँको फूल लगाई दिने चलन पनि फेरिएछ ।
ठेलो प्रतियोगिता गराएर पहिलो, दोस्रो र तेस्रोलाई प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था सुरु भएछ । ठाडो भाका गाउने, दोहोरी, घाटु जस्ता ऐतिहासिक गीत–नृत्य परिमर्जनसहित आउन थालेछन् । जाँड, रक्सी, मासु खाएर मात्तिने, चौरभरि पल्टिएर जात्रामय भई दिने चलन पनि हराएछ । ठेलो हान्नेबीचको कुटाकुट र भागाभाग अहिले हटेको छ ।
मानिसमा आएको चेतना र शिक्षाको पहुँचका कारणले होला, परम्रागत चैते दसै मेलालाई व्यवस्थित गरिएको छ । कालिका मिलन युवा क्लब तुर्लुङकोट भागु र ऐतिहासिक दुराडाँडा महोत्सवको आयोजनामा कार्यक्रमलाई व्यवस्थित गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि थिए । ३ दिनसम्म चल्ने मेला महोत्सवमा दुराहरुको महाधिवेसन र विचार गोष्ठी तथा कार्यशाला पनि गरियो ।
पहिलो दिन मेला तथा महोत्सव उद्घाटन भयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवमा भने, ‘यस वर्ष यस्तै भयो, अर्को वर्ष वायुपंखी भएर बढ्ने छौं ।’ उनको यो भनाइ कतिले बुझे थाहा छैन । वायुपंखी शब्द सुनेर ताली बजे । उनको भनाइको अर्थ थियोः अर्को साल हामी तीव्र गतिमा विकास अगाडि बढाउँछौं । उनको तीव्र विकास कुन–कुन विषयमा हुने हो त्यो कसैलाई थाहा भएन । स्थानीय चाहन्थे गाउँ आउने मोटर बाटो चाडै पिच भइदियोस् । पिउने पानी र बिजुली बाल्न दुख नहोस् । स्कुल र स्वास्थ्य सेवा सर्वसुलभ होस् । गाउँगाउँमा केही काम गरेर खान पाउने व्यवस्था होस् ।
सायद उनीहरुको मनको भाषा मुख्यमन्त्रीले बुझेछन्, बोल्दा यी कुरा छुटाएनन् । पोखराबाट डेढ २ घन्टामा सररर आउन जान सकिने गरी बाटो पिच गराउँछु भने । बिजुली, पानी, शिक्षा, स्वस्थ्य सबैको व्यवस्थ गर्छु भने ।
सरकारको तर्फबाट कुनै कुराको कमी हुँदैन । तपाईंहरुले पनि उद्यम गनुपर्यो । जहाँ जे हुन सक्छ, त्यसमा लाग्नु पर्यो । फलफूल, तरकारी, पशुपालन, कृषि, माहुरीपालन, मत्स्यपालन, जडिबुटी उत्पादन, फूल, नर्सरी के–के हुन सक्छ त्यसमा लाग्न सबैलाई मुख्यमन्त्रीले सुझाए ।
मुख्यमन्त्री गुरुङले जहाँ जाँदा पनि नछुटाउने भनाइ छः जमिन बाँझो नराखी देऊ । जमिनबाट सक्दो उत्पादन लिनै पर्छ । आवश्यक परेको सहयोग खुलेर माग, प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ । कहाँ के हुन्छ, कुन प्रकारको सहयोग चाहिन्छ सबै मिलेर पहिल्याउ र माग गर ।
प्रदेश सरकार मिलेर काम गर्न तयार छ । यो कुरा त्यहाँ पनि उनले जस्ताको तस्तै राखे । उनको थप भनाइ थियो, ‘हामीले गरेको उत्पादन आफ्ना लागि मात्र हो नभनौं । देश विदेश जहाँ पनि निर्यात गरेर आम्दानी बढाऔं । समृद्ध र सुखी नेपाली हात बाधेर बस्नेहरुबाट देख्न सकिँदैन ।
उद्यम, खेतीपाती, पशुपालन, कृषि फर्म के गर्न सक्नुहुन्छ योजना लिएर आउनुहोस् । हामी ५० प्रतिशत लगानी गरिदिन्छौं । यसो भनेर घर घरै सोध्न आउने सरकार हिजो थिएन आज हामी घरघर आएका छौं । यो अवसरको सदुपयोग गर्नुहोस् ।’
सबैले बुझ्ने भाषामा बोलिरहेका थिए मुख्यमन्त्री । वरिपरि बसेर भाषण सुनिरहेका थिए तुर्लुङकोटका बासिन्दा । आफूले चुनेको नेता प्रदेशको मुख्यमन्त्री भएपछि उनीहरु त्यसै मखलेल छन् । अर्का प्रदेशसभा सदस्य मयानाथ अधिकारी, संविधान सभा सदस्य भीष्म अधिकारी र आफ्नै मेयर जनक मिश्रका कुरा पनि गाउँलेले सुने । भाषणमा कुनै कमी थिएन ।
भाषणपछि सम्मान र पुरस्कार बाँडिदै थियो । अचानक वर्ष भयो । वर्षलाई शुभ ठान्नेहरु रुझेरै बसे । कोही पनि भागेनन् । ‘चाउचाउ बा’ भनेर नेपालमा चिनिएका फडिन्द्रमान श्रेष्टलाई सम्मान गरिएको थियो । उनले विसं २०३२÷३३ सालमा पोखरामा गण्डकी नुडल्स प्रालि खडा गरेर चाउचाउ उत्पादन गरेका थिए । रारा ब्रान्ड नामको चाउचाउ फडिन्द्रकै सिर्जना हो । जुन अहिले पनि लोकप्रिय छ । श्रेष्ठ त्यहीका बासिन्दा हुन् ।
सारा संसार डुलेर भ्याए । अहिले त्यही गाउँमा आएर अन्तिम जीवन पर्खेर बसेका छन् । यस वर्षको ठेलो जितेर प्रथम भएका बुद्धिबल आलेमगर पनि सम्मानित भए । दुरा गाउँमा आले मगर वलशाली देखिए । उनलाई दूरदर्शी श्रीकान्त अधिकारी प्रतिष्ठानकी सबला अधिकारी आत्रयले जित्नेहरुलाई फेता गुथाएर नगद प्रदान गरेकी थिइन् । मुख्यमन्त्री गुरुङले प्रमाणपत्र दिएका थिए । ठेलो जित्नासाथ काधमा बोकेर कुदाउने पुरानो चलन फेरिएछ ।
देउबहादुर दुरा थिएनन्, त्यो ठाउँमा । उभिएका थिए धनबहादुर दुरा ‘धम्पु’ । पानी वर्षिरहेको थियो पुरानो शैलीको ठाडो भाका गाइरहेका थिए धम्पुले । उनको लय पक्रँदै थिए सहयोगीहरु । कार्यक्रमको अध्यक्षता गरेका थिए प्रेमबहादुर दुराले । सबै जना व्यस्त थिए । काठमाडाैं, भरतपुर, पोखरालगायतका ठाउँबाट आएका पाहुना पानीमा नै भिजेर धम्पुको गीत सुनिरहेका थिए ।
प्रेमबहादुर सुन्दरबजार नगरपालिका ११ का वडा अध्यक्ष पनि हुन् । उनले बोल्दा आफ्नो वडाको समग्र विकासलाई समेटे । समग्र पक्षमा ध्यान दिएका थिए उनले । पानीले नाचगानलाई प्रभावित पार्यो । रुपा दुराको नृत्य हेर्दा हेर्दै रोकियौं हामी । कार्यक्रम रोकेर तुर्लुङकोट झरियो ।
गाउँ प्रवेश गर्दा मुख्यमन्त्रीको स्वागतमा पञ्चैबाजा घन्केका थिए । बाजासँगै स्वागतार्थी पनि थिए । आमा समूह दुराहरुकै ड्रेसमा फूल र पातीको माला लिएर लामवद्ध थिए । प्रेमबहादुरले मुख्यमन्त्रीलाई एउटा घरको आगनमा पुर्याए । हामी पनि पछिपछि लाग्यौं । गाउँले हामीसँगै हिँडेका थिए । हामी आँगनमा पुग्याैं । प्रेमबहादुरले एउटा ढोकामा बाँधेको रातो रिवन देखाउँदै मुख्यमन्त्रीको हातमा कैची थमाए । कैची लिएका मुख्यमन्त्री यताउता हेर्दै थिए ।
अलमलिएर हो वा कुनै फोटोग्राफरले क्यामरा सोझ्यायो कि सोझ्याएन भनी हेरेका थिए । त्यो कुरा भने बुझिएन । प्रेमबहादुरले ढोकानेर उभिएर भने रिवन काटेरभित्र गइदिनुस् । उनले जे भने, त्यही गरिदिए मुख्यमन्त्रीले । वरिपरि उभिएकाले ताली बजाए । मैले पनि ताली बजाएँ । तुर्लुङकोट होमस्टे उद्घाटन भयो । त्यो रात मुख्यमन्त्री त्यही कोठामा सुते । सपना कस्तो देखे, थाहा पाइएन ।
मेला, महोत्सव भनेपछि मानिसको भीड त्यसै पनि भइ हाल्छ । तुर्लुङकोट होमस्टेमा जम्माजम्मी २०–२२ बेडमात्र थिए । सबै पाहुना त्यहाँ अटाउन सक्ने कुरै भएन । त्यस गाउँका ८० सय घर पूरै भरिए । समाज घर पनि भरियो । वरपरका ठूलास्वारा, मकैस्वारा, फोस्रे, पुरानाकोट, नेटा, चन्द्रेश्वर, दुराडाँडा लगायतका गाउँ बहिरबाट आउनेले भरिएका थिए । भाग्यले हामी मुख्यमन्त्रीको आडपाडमै बस्न पायौं । बिहान आउँदा छुटेका पत्रकार युवराज श्रेष्ठ मसँगै परे । बाटोमाथिको नयाँ होमस्टेमा परिएछ ।
खाना बनाउन पनि आफैंले सिकाउनु पर्यो । बेडहरुमा ओढ्ने ओछ्याउने राखेका थिए । हामी आफैंले मिलाएर प्रयोग गर्यौं । उनीहरुले पाहुना राखेर व्यवसाय गरेकै रहेनछन् । त्यो घरको पहिलो पाहुना युवराज श्रेष्ठ र म भएछौं । खुसी लाग्यो । जे होस्, उनीहरुलाई होमस्टेबारे तालिमको खाँचो रहेछ ।
मुख्यमन्त्रीले दिउँसो भनेका धेरै कुरा होमस्टे सञ्चालकले पनि थाहा पाउनैपर्ने खालका थिए । उनीहरुले थाहा पाए कि पाएनन् कुन्नि । थाहा नभएको भए अब अर्को पटक होमस्टेबारे बेग्लै कार्यक्रम गर्नुपर्ने लाग्यो । जनतामा केही गरौं भन्ने छ । उनीहरु के गर्ने होला भनेर अल्मलिएका छन् । कामको मेसो पाएका छैनन् । उनीहरुमा प्रदेश सरकारले काम गर्ने मेसो देखाइ दिए हुन्थ्यो भन्ने चाहना पाइयो । मुख्यमन्त्रीसँग भनिहाल्न सक्ने क्षमता सबैमा देखिएन ।
उनीहरु टुलटुलु हेरिरहेका थिए । ठूलो साहस निकालेर माग राख्नेले पनि ठूलो माग राख्न सकेनन् । सहर बजारका टाठावाठा भए करोड, अर्बका योजना अगाडि सार्थे । विचरा गाउँले आमा घरमा रंग लगाई देउ भन्छिन । समाज घरको छाना राखिदेऊ भन्छिन् । गाउँले पानीको कुवा, पाइप, धारो माग्छन् । कति सोझा र इमान्दार छन् उनीहरु । उनीहरु भन्छन्, ‘विसं २०४३ सालदेखि अहिलेसम्म एउटै व्यक्तिलाई भोट दियौं । हामीले जिताएको मानिस मुख्यमन्त्री हुनुभयो । हामी यसैमा खुसी छौं ।’
मुख्यमन्त्रीप्रति उनीहरुको कुनै गुनासो छैन । मुख्यमन्त्रीले ती साना साना माग र निवेदन निजी सहायक सूर्य गुरुङलाई टिपाउथे र पत्रहरु लिन लगाउँथे । गाउँलेहरु त्यतिमै खुसी थिए ।
यतिबेला गाउँमा मोटर, जीप, बस, ट्याकटर प्रवेश गरेका छन् । तिनीहरुले गाउँलाई बाहिरी समाजसँग जोडेका छन् । जसले गर्दा दैनिक आवश्यकता बढ्दै गएको छ । दैनिक आवश्यकता पूरा गर्न युवा जनशक्ति गाउँ छोडेर बाहिर जाने क्रम बढेको छ । युवा यसरी निस्कन थाले भने गाउँमा सामान्य काम गर्ने जनशक्ति पनि हुने छैन ।
बुढाबुढीले भरिएको निरस गाउँ हुनेछ । यसकारण अबको योजना युवालाई गाउँमै रोकेर उत्पादनमा लगाउने खालको हुनु पर्छ । प्रदेश सरकारले ठूलो–ठूलो कुरा नगरे हुन्छ । जनताको जीवनस्तर उठाउन, उत्पान बढाउन र युवालाई गाउँ विकासको मोडलमा सहभागी गराउन सकियो भने सबैभन्दा राम्रो हुन्छ ।
जहाँ जेको सम्भाव्यता छ, त्यसै अनुरुपको योजना बनाउनु जरुरी छ । मुख्यमन्त्रीबाहेक विशेष गरी मुख्यमन्त्रीको सचिवालयका अधिकारी, नीति तथा योजना आयोगका पदाधिकारीले बाहिर–बाहिरका सामान्य कार्यक्रममा समय खर्चनु जरुरी छैन । मुख्यमन्त्रीले पनि उनीहरुलाई पछि लगाएर हिँडाउनु जरुरी छैन । कामै नभए पनि मुख्यमन्त्रीको पछि लागेर समय कटाउने सचिवालयका अधिकारीको अहिलेको आदत सुधार्न जरुरी छ ।
योजना तर्जुमा तथा अनुगमनमाबाहेक राजनीतिक कार्यक्रममा पछिपछि हिँड्ने राष्ट्रसेवकलाई मुख्यमन्त्रीले पनि भन्नुपर्छः तपाईहरु लानुपर्ने ठाउँमा मात्र लान्छु । त्यत्तिकै पछि लागेर नआउनुस् ।
(प्रतीक प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष हुन्)






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया