—सम्पादकीय— पोविविको बेथित

पोखरा विश्वविद्यालयको बेथिति सधैं छताछुल्ल भइरहेको छ । पछिल्लो समय थुप्रै विद्यार्थीले परीक्षा दिन पाउने÷नपाउने बारेको विवादले विश्वविद्यालय लफडामा पर्यो । काठमाडौंका ४२ क्याम्पसले अवैधानिक रुपमा भर्ना गराएका ‘डी प्लस’ योग्यताका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सामेल गर्ने÷नगर्ने विषयले विश्वविद्यालय लफडामा परेको हो ।
व्यवस्थापन संकाय अन्तर्गत भर्ना हुन कक्षा ११ र १२ मा १ वा सोभन्दा बढी विषयमा न्युनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड विश्वविद्यालयले निर्धारण गरेको छ । तर सम्बन्धनप्राप्त कलेजले त्यस विपरीत ३ सय ४४ विद्यार्थी भर्ना गरेको पाइयो । तिनलाई परीक्षाबाट बञ्चित गर्न लाग्दा सर्वाेच्च अदालतले नगर्नु भनेको छ । विश्वविद्यालयले बदमासी गर्ने कलेजलाई कारबाही गर्नुको साटो विद्यार्थीलाई बिचल्ली पार्न आँटेको थियो । त्रिभुवन विश्वविद्यालय लगायतले सोही योग्यताका विद्यार्थीलाई भर्ना लिने तर पोविविले नलिनुपर्ने कारण के हो भनेर सर्वाेच्च अदालतले सोध्यो र विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगराउन आदेश गर्यो ।
यता ती विद्यार्थीलाई परीक्षा दिने मौका उपलब्ध गराउने भनिएपछि अरु विद्यार्थीचाहिँ आन्दोलित छन् । नेविसंघको अगुवाइमा भएको विद्यार्थी आन्दोलनका सहभागी यस्ता बेथिति र लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका पदाधिकारी भएको बताउँछन् । हो, पक्कै पनि यस्ता बेथितिको जिम्मेवार पदाधिकारी हुन्छन् । विशेषतः उपकुलपति र रजिस्ट्रार जिम्मेवार बन्नुपर्छ ।
उत्तरदायी बन्नुपर्छ । उनीहरु भने जागिरमात्रै पकाउने गरी हरेकपटक बेथिति र विसंगतिमा गैरजिम्मेवार र गैरजवाफदेही देखिने गरेका छन् । अरु त अरु उनीहरु सञ्चारमाध्यमको सम्पर्कमा पनि आउन र त्यसबारे प्रष्ट पार्न अन्कनाउँछन् । प्राज्ञिक व्यक्तित्वहरुका लागि त्यस्तो स्वभाव सुहाउँदो पक्कै होइन ।
कहिले स्ववियु पदाधिकारीको पदावधि जबरजस्ती लम्ब्याउने मामलामा भिसी र रजिस्ट्रार अपरिपक्क निर्णय गर्छन् गराउँछन् । कहिले परीक्षा नियन्त्रणका कार्यालयबा डाटा चोरी हुँदा दोषीहरुलाई कारबाही गर्न खुट्टा कमाउँछन् । यसले पोखरा विश्वविद्यालयको विश्वस्नीयता धरापमा परेको छ । प्राज्ञिक थलोको बेइज्जत हुने गरेको छ ।
नेतृत्व अर्थात पदाधिकारीका यस्तै गैरजवाफदेहीपनले २० वर्षभन्दा पुरानो भइसक्न आँटेको विश्वविद्यालयको हालत टु्यसन र कोचिङ सेन्टरको जस्तो मात्रै देखिने गरेको छ । पोखरा विश्वविद्यालयले आजसम्म गौरवपूर्ण इतिहासको यात्रा सुरु गर्न सकेको छैन ।
पोखरा विश्वविद्यालयमा आज जो पदाधिकारी छन्, जसले जागिर खाइरहेका छन्, तिनलाई यसको स्थापनाको कथाव्यथा थाहा नभएको पनि हुन सक्छ । दसकौं लामो संघर्षपछि पोखरेलीको पहल कदमीपछि विश्वविद्यालय स्थापना भएको हो । स्थानीयको सपना गौरवपूर्ण प्राज्ञिक थलो निर्माण गर्ने हो । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने हो । तर त्यो सपना पूरा गर्ने दिशामा पोखरा विश्वविद्यालयमा गइरहेको छैन । जसले सम्पूर्ण पोखरेलीलाई पनि लज्जित बनाएको छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया