अपहरण प्रयास गर्ने भारतीयलाई शरीर बन्धक र अपहरण मुद्दामा म्याद थप

समाधान संवाददाता २०७६ वैशाख २१ गते ८:०३

समाधान सम्वाददाता

पृथ्वीचोकस्थित होटल नीलकमलका सञ्चालक शालिग्राम पौडेल अपहरणमा संलग्न ३ भारतीय नागरिकमाथि म्याद थप गरी अनुसन्धान थालिएको छ ।

विहार बनारपुरका ३९ वर्षीय सुनीलकुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित रायलाई बिहीबार म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Advertisement

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप अनुसन्धान गरेको गुरुङले जानकारी दिए । अनुसन्धानका क्रममा बैंक खाता र उनीहरुको सम्बन्धबारे अनुसन्धान गर्न बाँकी रहेको अनुसन्धान अधिकृत बताउँछन् ।

अनुसन्धान अधिकृतका अनुसार उनीहरुलाई शरीर बन्धक र अपहरणसम्बन्धीको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । अपहरणमा परेका पौडेलको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।

Advertisement

भारतको विहारबाट पोखरा आएका सुनील, सुन्दरम र अविजित मंगलबार बेलुका उक्त होटलमा नै बसेका थिए । उनीहरुले होटलमा खाएको पैसा नभएको कारण एटिएमबाट पैसा निकालेर दिन्छु भन्दै पौडेललाई कारमा लगेका थिए ।

पहिला सुरुमा सिर्जनाचोक लगे पनि उनीहरुले राष्ट्रबैंक चोक हुँदै ड्यामसाइड पुगेर होटल केसीमा चिया खाएको प्रहरीले अनुसन्धानमा खुलेको छ । उनीहरुले पौडेलसँग भएको मोबाइल खोसेको र मुख बाँधेर पिट्दै स्याङ्जातिर लगेको प्रहरीले बताएको छ ।

पौडेल कारभित्र नै छटपटाएपछि कारको ढोका खोलेर उनी सडकमा बजारिएका थिए । बाटोमा हिँड्दै गरेको ट्याक्सी चालकले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । स्थानीय युवाले उक्त गाडीको पिछा गरेका थिए ।

स्याङ्जाको फेदीखोला पुगेपछि फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारी पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया