मेरो सरकार ?

प्रतापलाल श्रेष्ठ
०७६÷०७७ का लागि नेपाल सरकारले नीति तथा कार्यक्रम वैशाख २० गते संसदमा पेस गरिरहँदा राष्ट्रपतिबाट ‘मेरो सरकार’ भनियो । अहिले यस विषयमा तीव्र प्रतिक्रिया भइरहेको छ । ‘मेरो सरकार’ भन्नु गलत थियो वा सही यस बारेमा छलफल चल्दै जानेछ । यो शब्दको प्रयोगले नेपाली राजनीतिमा भने नयाँ बहस प्रारम्भ भएको छ । भोलि के होला त्यो आफनो ठाउँमा छ । प्रधानमन्त्री केपी ओलीले यो बहसतिर नलागांंै भन्ने अभिव्यक्ति दिनु भएको छ ।
‘मेरो सरकार’ शब्दको प्रयोग नीति तथा कार्यक्रममा पेस गर्दा र अन्य बेलामा पनि राजाले प्रयोग गर्थे । ०४६÷४७ सालभन्दा अगाडि उसले प्रयोग गर्दा यसको विरोध हुँदैनथ्यो । ०४७ सालको संविधान पछाडि पनि राजाले यसको प्रयोग गर्यो भने विवाद बन्यो । ०४७ सालको संविधान पछाडि भने राजामा कुनै कार्यकारिणी अधिकार थिएन ।
कार्यकारिणी अधिकार नभएको राजाले यसको प्रयोग किन गर्ने भनियो । तर पनि उसले यो शब्दको प्रयोग गरिरह्यो । जवाफमा भनियो कि राजासँग अधिकार छ कि छैन दोस्रो कुरा तर यो सरकारलाई जबसम्म श्री ५ को सरकार भनिन्छ तबसम्म ‘मेरो सरकार’ को प्रयोग पनि हुँदै जान्छ ।
नेपाल अधिराज्यको संविधान ०४७ मा कार्यकारिणी अधिकारबारे धारा ३५.१ मा यस्तो लेखिएको छ ‘नेपाल अधिराज्यको कार्यकारिणी अधिकार यो संविधान र अन्य कानुन बमोजिम श्री ५ र मन्त्रिपरिषदमा निहीत रहनेछ ।’ यद्यपि त्यसबेला श्री ५ मा निहीत भने पनि ३५.२ मा सीमा राखेर व्याख्या गरिएको छ ।
सायद त्यसबेला ३५.१ लाई पनि हेरेर मेरो सरकार भनेको कुरालाई पनि नेपाली जनता र राजनीतिक पार्टीले स्वीकार गरेको हुनुपर्छ । तर अहिलेको यो सरकारलाई नेपालको सरकार भनिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रमको वाचन त्यसभन्दा अगाडि पनि गर्नु भएको थियो । त्यसबेला ‘मेरो सरकार’ को प्रयोग गर्नु भएको थिएन ।
प्रधानमन्त्री केपी ओलीले पनि यो भन्दा पहिले नेपाल सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँको क्याविनेटबाट पारित संसदमा पेस गरेको नीति तथा कार्यक्रम पनि पहिलो थिएन । जहाँ मेरो सरकार थिएन ।

आज मेरो सरकार भनिएपछि मानिसका मनमा राजाले प्रयोग गर्दै आएको ती दिनहरुको सम्झना आएको छ । तर पनि रमाइलो क्षणहरु बन्दै छ यसकारण कि नेपाली कांग्रेसका माननीय सांसद एवं चिन्तक प्रदीप गीरीले यो प्रयोगलाई आपत्ति जनाएनन् । जसकारण संसदमा कम्युनिस्ट सांसदहरुले ताली बजाए । यो शब्दको प्रयोगबारे अन्तर्राष्ट्रिय प्राक्टिक्स भनियो । संसदीय व्यवस्थाको जननी बेलायत र भारतमा पनि मेरो सरकारको प्रयोग हुन्छ ।
त्यसैले मेरो शब्दको प्रयोग नेपालमा पनि हुन थालेको छ र यो सही हो भनिँदैछ । नेपालका कम्युनिस्ट र कांग्रेसले संविधान बनाउँदै गर्दा ०६२÷०६३ सालभन्दा अगाडिको वा ०४७ सालको संविधानले परिकल्पना गरेको वा हामीले अभ्यास गर्दै आएको संसदीय व्यवस्थाको प्रयोग भन्दा फरक छ भन्दै आएका छौं र फरक पनि छ । संसदीय व्यवस्थामा बहुमत गुमाउने बित्तिकै सरकारबाट हटनुपर्छ तर अहिलेको व्यवस्थामा संसदबाट बहुमत गुमाउँदैमा हटनु पर्दैन ।
उसले बहुमत प्रमाणित गरेको १ वर्षसम्म । एकै वर्षमा पटक–पटक बहुमत प्रमाणित गरिरहनु पनि पर्दैन । यो हाम्रो संविधानमा गरिएको नयाँ व्यवस्था हो । यो मनाउन कम्युनिस्टले कांग्रेसलाई सम्झाउन÷बुझाउन धेरै पापड पेल्नु पर्यो । त्यसैले हामी भन्छौ कि नेपालको संसदीय व्यवस्था र बेलायतको संसदीय व्यवस्थामा फरक छ ।
जहाँसम्म भारतको कुरा छ भारतको संसदीय व्यवस्था र नेपालको संसदीय व्यवस्थामा पनि फरक छ । भारतको राष्ट्रपतिलाई प्रधानमन्त्रीलाई जस्तै अधिकार नभएकोे भए पनि नेपालको राष्ट्रपतिलाई भन्दा धेरै अधिकार भएको कुरा बाहिर आउँदैछ । कार्यकारिणी पनि अधिकार भएको कुरा बाहिर आउँदैछ । त्यसैले गर्दा भारतको राष्ट्रपतिले प्रयोग गरे पनि आपत्ति मानिँदैन तर पनि भारतको राष्ट्रपतिले यो शब्दको प्रयोग सकेसम्म गर्दैनन् ।
हाम्रोमा यो शब्दको बिना रोकतोक गरिँदै आए, राष्ट्रपतिको सरकार भन्नुपर्छ । त्यो लेटरप्याडमा नेपाल सरकारको राजपत्रमा पनि प्रकाशित हुन थाले के हुन्छ ? प्रदेशमा पनि प्रदेश प्रमुखले मेरो सरकार भन्न थाले के हुन्छ ? स्थानीय सरकारले पनि मेरो सरकार भन्न थाले के हुन्छ ? मेरो सरकार भन्न पाइने भए त्यो प्रयोगलाई कसैले रोक्न सक्दैन । अनि सरकारहरु चाउरिन्छ कि ?
यो सरकारलाई कम्युनिस्ट सरकार भनिन्छ किन कि यो सरकार झण्डै २ तिहाई बहुमत प्राप्त गरेर बनेको सरकार हो । शेरबहादुर देउवाले शक्तिशाली बहुमत सरकार भएकै कारण अधिनायकवादी सरकार भन्ने गर्छन् । शक्तिशाली कम्युनिस्ट सरकार भएकै कारण स्वीजरल्यान्डको डावोर्समा भएको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा जहाँ प्रम ओलीले भाग लिनु भएको थियो ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पत्रकारले कम्युनिस्ट सरकार भनेर इंगित गर्दै प्रेसबारे धेरै प्रश्नहरु गरिएको थियो । जनमत लिएर लोकतान्त्रिक विधिबाट आएको यो कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले सशक्त जवाफ दिनु भएको थियो कि हामी प्रेस स्वतन्त्रताप्रति सम्मान गर्छौं र प्रतिबद्ध छौं । प्रेसलाई काम गर्न कहीं रोकावट हुने छैन । प्रेस र लोकतान्त्रिक सरकार एकै सिक्काका २ पाटा हुन् । दुवै सँगसँगै जान्छ ।
बरु सरकारलाई भने ओली सरकार भनिन्छ । यो कति ठीक÷बेठीक हो तर पनि प्रधानमन्त्री सर्वेसर्वा भएको कारण प्रधानमन्त्रीलाई व्यक्तिको सरकार भन्ने परम्परा छ । हिजोको दिनमा गिरिजाप्रसादको सरकार, प्रचण्डको सरकार, माधव नेपालको सरकार, झलनाथको सरकार, देउवाको सरकार, बाबुरामको सरकार भनिन्छ, भनिन्थ्यो । यो हाम्रो जनजिब्रोमा टाँसिएको छ । व्यक्तिको सरकार भन्ने क्रममा पञ्चायतकालमा पनि चन्दको सरकार, थापाको सरकार भन्ने गरिन्थ्यो जबकि त्यसबेला राजाको सरकार याने श्री ५ को सरकार थियो । त्यसैले अहिलेको बेला मेरो सरकार हामी आम परिवर्तनकारी नेपाली जनतालाई यो पाच्य शब्द भएन ।
कमजोरी कसको हो ? नेपाल सरकारको कि राष्ट्रपतिको ? भन्ने कुरा पनि आइरहेको छ । यो शब्दको प्रयोगमा राष्ट्रपतिको कुनै दोष छैन र हुन सक्दैन । यो दोष भएछ भने नेपाल सरकारको हो । नेपालको व्यवस्थामा राष्ट्रपति क्यान डु नो रङमा आधरित छ । अन्तर्राष्ट्रिय प्रयोग भन्दैमा हामीले पनि प्रयोग गर्नुपर्छ भन्ने के छ ? हाम्रो आफ्नो कुनै मौलिकता हुँदैन ?
हामीले कुनै नयाँपन दिन सक्दैनौं । हामी कम्युनिस्टले भारत वा अन्य कुन देशले जे गरेको छ त्यही गर्नुपर्छ ? हामीले फरक गर्नु भुल हुनेछ । हिजो हामीले वास्तवमा भुल गरेका रहेछौं, मेरो सरकार भनेर सच्चयाइरहेका छौं । वास्तवमा बरु मेरो सरकार शब्दको प्रयोगले हामीले भुल गरेका छौं ।
अब आइन्दा यस्तो शब्दको प्रयोग नेपालको परिपेक्ष्यमा बान्छनीय छैन ।
यो शब्दको प्रयोगमा मात्र त यति धेरै टिप्पणी छलफल हुन्छ भने राजा नै आउने कुरा भए के हुन्छ ? यतातर्फ पनि बहस हुन थालेको छ । त्यसैले नेपालमा राजा आउने कल्पना नगरे हुन्छ । कसैले कोसिस नगरे हुन्छ । राजाले भनेको जस्तो शब्द प्रयोग हुँदा त यत्रो विरोध भएरहेको छ ।
०४७ साल कार्तिक २३ गते नेपाल अधिराज्यको संविधान घोषणा भयो ।
त्यो संविधानको कयौं धारा माथि हाम्रो पार्टीको विमति थियो । ०४७ साल कार्तिक २५ गते पार्टीद्वारा काठमाडौंको टुँडिखेलमा आयोजना भएको विशाल आमसभामा हाम्रो २७ बुँदा भनेर विमति प्रस्तुत गरियो र भनियो यो संविधानप्रति हाम्रो आलोचनात्मक समर्थन छ । ती विमति रहेका कुरा मध्ये श्री ५ को सरकार भनिएको ठाउँमा नेपाल सरकार भनिनु पर्छ, यो व्यक्तिको सरकार हुन सक्दैन यसले सामान्तवादको गन्ध आउँछ । श्री ५ को सरकार वा मेरो सरकार भन्नु जन आन्दोलनको पनि अपमान हो । तर पनि त्यसबेला नेपाल सरकार भनिएन । त्यसबेला राजा संवैधानिक थियो ।
यसको प्रस्तोता नेकपा मालेका महासचिव मदन भण्डारी हुनुहुन्थ्यो । यो भनेर उहाँ चर्चितमात्र हुनु भएन त्यस्तो हिम्मतदार र साहासी नेता हुनुहुन्थ्यो । जो कसैले यस्तो भन्न सकेका थिएनन् । नेकपा माले पनि बहुचर्चित बनेको थियो । त्यसबेला चर्चा भएको थियो कि शक्तिशाली पार्टीका शक्तिशाली महासचिव ।
यस्ता व्यक्ति रहेछन् र पो नेकपा मालेले यति छिटै विकास गरेको । त्यसबेला नेकपा माले जनआन्दोलनको आधा शक्ति थियो । त्यही आमसभा हो जहाँ मदन भण्डारीले जनआन्दोलन विरोधी तत्कालीन प्रधान सेनापति सच्चित समशेर राणाको उछितो काढ्नु भएको थियो । जेहोस त्यसबेला यो शब्दको प्रयोग सधैंका लागि विदाइ गर्न हामी नेपालीलाई गणतन्त्र नै आउनु पर्यो र राजा सधैंका लागि पाखा लगाउनु पर्यो ।
यो शब्दको प्रयोग उचित÷अनुचित के हो ? समयको क्रममा पत्ता लाग्दै जाला । तर, अहिले यो शब्दको प्रयोगले हामी सबैलाई चसक्क बिझाएको छ । अझ बढी त कम्युनिस्टलाई । कम्युनिस्ट शब्द यो आफैमा पनि आइडिलोजी व्यक्त गर्ने शब्द हो । हाम्रो आइडिलोजी अनुसार पनि यो शब्दको प्रयोग अनुपयुक्त देखिन्छ ।
श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुन् ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया