नकारात्मक सोचले निम्त्याउँछ रोग

डा. कपिल देव उपाध्याय
हाम्रो शरीर वाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अंगहरु छन् भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै शक्ति हो भने हाम्रा विचारहरु, भावनाहरु सबै शक्ति भए ।
हाम्रो शरिरलाई विभिन्न रोगहरुबाट वचाउन शरिर भित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरुसँग लड्ने निकै शक्तीशाली फौज छ वा आर्मी छ । रोगसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ कि हरेक किसिमका रोगका किटाणुहरुलाई मार्न सक्छ । निस्कृय पार्न सक्छ । जब हाम्रो यो प्रतिरोधात्मक क्षमता वा कमजोर हुन्छ, शरीरमा रोगले आक्रमण गर्न थाल्दछन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ त्यति हामी निरोगी हुन्छौ । प्रश्न आउँछ, कसरी यो क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाई राख्ने ? हाम्रो ज्ञानमा ध्यान दियौं भने सजिलै छ । जस्तै चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरु, हरियो सागपात, गेडागुडी आदी खानामा समावेस गर्ने, बढी चिल्लो खानेकुराहरु र चीनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन रहेछ । तर यतिले मात्र पुग्दैन । नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो तौल बढ्न नदिने अर्थात् नमोटाउने र प्रदूषित वातावरणबाट बँच्नुपर्दो रहेछ । सरसफाइमा ध्यान दिने, सात घण्टा नियमित सुत्ने, जकफुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नुपर्दो रहेछ ।
एउटा महत्वपूर्ण कुरा त अझ बाँकी नै छ, त्यो हो नकारात्मक भावनाहरु र विचारहरु । भनिन्छ ८५ प्रतिशत जति रोगहरु हृदय रोग र क्यान्सर लगायत नकारात्मक भावनाहरु र सोचहरुबाट प्रभावित हुन्छन् । यी नकारात्मक भावनाहरु र सोचहरुले रोगसँग लडने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन् ।
एउटा उदाहरणः धेरै वर्ष पहिले हिमाली क्षेत्रको एउटा गुफामा एकजना सिद्ध पुरुष बस्नुहुन्थ्यो । उहाँलाई भेट्न र ज्ञान सिक्नको लागि धेरै टाढा–टाढा वाट मानिसहरु आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यहीँ गुफा नजिकै आउने रहेछन् । मानिसहरुको आवत–जावत र त्यो गुफा वरीपरी भिड लागिरहेको हेर्दै दिन बिताउन गाठालोलाई सजिलो लाग्ने रहेछ । मानिसहरु ती सिद्ध पुरुषसँग के सिक्न आउने रहेछन् ? जान्ने उत्सुकता गोठालोलाई लागेछ र एकदिन अरु मानसिहरु नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, ‘मलाई पनि केही सिक्न मन लाग्यो । के मैले सिक्न सक्छु ?’
ती सिद्ध पुरुषले गोठालोलाई भनेछन्, ‘हुन्छ सिक्न सक्छौ । तिमीले २ वटा झोला तयार पारेर लिएर आऊ ।’ गोठालोले २ वटा झोला लिएर आएछन् । सन्तले भने, ‘तिमी जुन ठाउँमा बसेर धेरै समय बिताउँछौ । त्यहाँ सेतो र कालो रंगका ससाना ढुंगाहरु जम्मा पार । एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को बायाँतर्फ राख । अब तिमीले तिम्रो मनमा हेर, मनमा कस्तो विचारहरु आउने रहेछन् हेर । राम्रो विचार आए एउटा सेतो ढुंगा दाहिनेतिरकोे झोलामा राख । नराम्रो विचार आए बायाँतिरको झोलामा कालो ढुंगा राख । २÷३ दिन यो प्राक्टिस गरेपछि भेट ।’
गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नो बारे, आफ्ना गाउँका मान्छेबारे, भेडाबारे नराम्रो वा खराब विचारहरु मात्र बढी आउने रहेछन् ।
तीन दिनपछि सन्तकहाँ आएर गोठालोले आफ्नो अनुभव बताएछन् । ‘सुरु–सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुंगा झोलामा राख्ने प्राक्टिस गरिराख । केही समयपछि फेरि भेट,’ सन्तले भने । गोठालोले जति प्राक्टिस गर्दै गए नराम्रा विचारहरु घट्दै गएको र राम्रा विचारहरु बढ्दै गएको अनुभव गर्न थाले ।
भनिन्छ ७५ प्रतिशत हाम्रा विचारहरु नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौं । विचार पनि यति छिटो–छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रित गरेर विचार हेर्न लाग्यो भने केही समयपछि आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ । जब विचारहरुलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो थाहा पनि पाइन्छ । नराम्रा विचारहरु आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ती स्वत घटन थाल्छन र राम्रा विचारहरु वढदै जान्छन् अर्थात् सहयोगी भाव, प्रेम भावहरु बढदै जान्छन् ।
नकारात्मक भावनाहरुमा रिस, लोभ, घृणा, ईष्या र डरहरु मुख्य मानिन्छन्, त्यसो त अरु धेरै नकारात्मक भावनाहरु पनि छन् । त्यसैले शरिर, मन र वचनले कसैको हानि नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनका लागि आफूले कसैको मन दुखाएको भए आफैलाई माफ गर्ने र अरुले आफ्नो मन दुखाएको भए अरुलाई माफ गर्ने अभ्यास गर्नुपर्छ ।
प्राय अरुलाई माफ गर्न मानिसहरु तयार हुँदैनन, आफूभित्रको अहंले गर्दा वदलाको भावना लिइरहन्छन् । जुन नकारात्मक भाव हो । यस्तो गर्नु आफ्नै खाल्डो खन्नु हो, किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको शिकार भइन्छ । कुनै सर्तबिना आफ्नो मन दुखाउने, आफूलाई दुःख दिनेहरुलाई आफ्नो मन मनै माफी दिनु उत्तम हो ।
मन दुखाउने व्यक्तिहरु कहाँ गएर वा भेटेर ‘मैले माफी दिएँ’ भन्नु पर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, इष्र्याको भाव र वदलाको भावको भारी विसाउने हो । आफू ती भाववाट मुक्त हुनु हो । तर केही व्यक्तिहरु अरु प्रति रिस, घृणा र वदलाको भावना बोकेका कारण चिन्ता रोग, डिप्रेसनका लक्षणहरु लिएर आउने गरको मैले भेटेको छु ।
एकजना अधवैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निन्द्रा नलाग्ने समस्या लिएर आउनु भयो । खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ । मानसिक तनाव दिने कारणहरु सोद्धा उहाँलाई सवै आफन्तजनले धोखा दिएका छन्, दुःख दिएका छन् र सताएका छन् भन्नुभयो । तनाव कम गर्नुप¥यो । मनमनै तिनीहरु सबैलाई माफ गर्नुस अनि छिटो निको हुनुहुन्छ भन्दा ‘कुनै पनि हालतमा माफ गर्न त सक्दिन’ भन्नुभयो ।’
त्यस्तै हामी धेरै कुराहरुलाई लिएर डराइरहेका हुन्छौं । चिन्ता लिइरहेका हुन्छौं । जस्तै परिवारका सदस्यहरुलाई केहिी हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि आदि । आफ्नो परिवारसँग समय बिताउँदा बच्चाहरुसँग खेल्दा, योगा वा ध्यान गर्दा यी नकारात्मक सोचहरु घट्छन् ।
नकारात्मक भावनाहरुले मानसिक तनाव बढ्छ । लगातारको मानसिक तनावले रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनाव अझ वढाउँछ र रोग घटनुका सट्टा वढ्छ ।
त्यसैले जो व्यक्तिहरु आक्रमक खालका छन् । रिसाहा प्रवृत्तिका छन् । जहिले पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन, निन्द्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन् । परिवारसँग समय बिताउँदैनन्, उनीहरुलाई वढी स्वास्थ्य समस्याहरु हुन्छन् र कतिलाई हृदयघात हुने खतरासमेत हुन्छ । नकारात्मक सोचहरुले मानसिक तनाव वढाउँछन् ।
लगातारको मानसिक तनाव महिनौंसम्म रहीरहेमा शारिरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरुले सताउन थाल्छन् । नकारात्मक सोचहरु बढी आउनु भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो त्यति डर लाग्ने र आत्तिने हुन् । त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई वेवास्ता नगर्नुस् र आफ्नो जीवन शैलीलाई सुधार्नुस् । स्वस्थ्य रहन चाहनुहुन्छ र आनन्दको जीवन जीउन चाहनुहुन्छ भने यो नै मन्त्र हो ।
उपाध्याय मनोचिकित्सक हुन् ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया