काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघ कास्की

समाधान संवाददाता २०७६ जेठ ४ गते ८:५६

समाधान सम्वाददाता

Advertisement

मिडिया काउन्सिल विधेयकको प्रावधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउने पत्रकारहरुले चेतावनी दिएका छन् ।

प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको मिडिया काउन्सिल विधेयकको विरोधमा शुक्रबार पोखराको महेन्द्रपुल चोकमा विरोध प्रदर्शन गर्दै पत्रकारहरुले विधेयक तत्काल संशोधन नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।

२०६२-०६३ को आन्दोलनमा पत्रकारले पुराएको योगदानको मूल्यांकनलाई सरकारले बेवास्ता गरी आफ्नो ढंगले निरंकुशता लाद्न खोजे सम्पूर्ण पत्रकार एक भई अन्तर्राष्ट्रिय पत्रकारको समेत साथ समर्थनमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पत्रकारहरुले दिएका हुन् ।

नेपाल पत्रकार महासंघको आह्वानमा पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघ कास्कीले शुक्रबार बिहान ७ः१५ बजेदेखि करिब आधा घण्टा सञ्चार सामग्री कलम, डायरी, क्यामरा, ल्यापटप, रेकर्डर लगायत प्रदर्शन गरी विरोध जनाएको थियो ।

Advertisement

विरोध कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजे आफूहरु जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । मिडिया काउन्सिल विधेयकको प्रावधान संशोधनमा सबैको एक मत हुनुपर्नेमा उनको जोड थियो । ‘यसमा कुनै पनि पत्रकारले राजनीतिक भावना राख्नु हुँदैन,’ उनले भने ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले सत्ता र भत्ता पाउने आशमा केही पत्रकारलाई विभाजित भएकाले पत्रकारको मुद्दामा सबै एक हुनुपर्ने खाँचो औंल्याए । महासंघ कास्कीका पूर्वअध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्रेसमाथि सरकारले गरेको गलत निर्णय तत्काल सच्च्याउन माग गरे ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको विरोध कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, सञ्चारिका समूह पश्चिमाञ्चलकी निवर्तमान अध्यक्ष जमुना शर्मा वर्षा, महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी प्रावधान भएकाले तत्काल संशोधन गर्न जोडदार माग गरे ।

महासंघको दोस्रो चरणको आनदोलनको कार्यक्रम सार्वजनिक भए पश्चान पुनः कास्कीबाट पत्रकारहरु आन्दोलनको मोर्चामा होमिन तयार रहेको महासंघ कास्की शाखाले जनाएको छ । संसदमा हालै दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण कसैको मानमर्यादामा चोट पुगे २५ हजारदेखि १० लाख रुपैयाँसम्मको जरिवाना हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया