गण्डकीका पत्रकार महिलाका लागि पुरस्कार स्थापना

समाधान संवाददाता २०७६ जेठ १५ गते २१:४७


पोखरा
प्रेस युनियन कास्कीले पत्रकार महिलाहरुको लागि शारदा स्मृति महिला पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार महिलाहरुको प्रोत्साहनका लागि युनियन कास्कीले सो पुरस्कारको घोषणा गर्ने तयारी गरेको हो ।

गण्डकी प्रदेशमा क्रियाशील पत्रकार महिलाहरु मध्येबाट बर्षेनि एक जना महिला पत्रकारलाई पुरस्कृत गरिनेछ । पुरस्कारको राशि ५१ हजार एक सय एघार सहित सम्मान पत्र र दोसल्ला रहने छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले प्रेस युनियन क्रियाशील पत्रकारहरुको हितका लागि सदैव क्रियाशिल रहने भन्दै पत्रकारको हितका लागि नयाँ नयाँ योजना सहित अगाडि बढ्ने बताए ।

यो पुरस्कार स्थापनाका लागि पहल गर्ने पुरस्कार संस्थापक समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष विमला भण्डारीले महिला पत्रकारहरुलाई यस क्षेत्रमा उत्साही भएर लाग्ने वातावरण सृजना गर्नका लागि उक्त पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् । गण्डकी प्रदेशमा लामो समयदेखि क्रियाशील महिलाहरुको लागि प्रदान गरिने यो नै सबैभन्दा ठूलो राशीको पहिलो पुरस्कार समेत भएको उनले बताइन् ।

प्रतिनीधीसभाका सांसद समाजसेवी उधोगपती सूर्यबहादुर केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसीको परिवारद्वारा स्थापित पुरस्कार स्वर्गीय शारदा केसी रोकाहाको स्मृतिमा स्थापना गरिएको हो । यस पुरस्कारको अक्षयकोष ६ लाख रुपैयाँ छ । पत्रकार महिलाहरुलाई आफ्नो कार्यक्षेत्रमा प्रोत्साहन गर्नका लागि यो पुरस्कार स्थापना गरेको समाजसेवी सूर्यबहादुर केसीले बताए । पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुर्‍याउन यो पुरस्कारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले प्रेस युनियनले आफ्नो संगठन बिस्तारसँगै महिलाहरुलाई पत्रकारिता क्षेत्रमा अग्रसर बनाउन यो पुरस्कार कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बाँस्तोलाले महिला पत्रकारलाई सम्मान गर्नका लागि पुरस्कार स्थापना गर्ने केसी परिवार र प्रेस युनियन कास्कीको यो कार्य निकै प्रशंसनीय भएको बताए । केही दिनमै औपचारिक कार्यक्रमका बिच यो पुरस्कारको घोषणा गरिने प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले बताए ।

तपाईको प्रतिक्रिया