स्काउटको रोभर मुटः १४ मुलुकका ४५ सय युवा पोखरामा

समाधान संवाददाता २०७६ जेठ १९ गते १२:२४

समाधान संवाददाता
पोखरा

नेपाल स्काउटको प्रथम राष्ट्रिय रोभर मुट शनिबार पोखरामा सुरु भएको छ । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार ५ दिन चल्ने कार्यक्रममा नेपालसहित १४ मुलुकका १६ देखि २५ वर्षसम्मका ४ हजार ५ सय युवाको सहभागिता छ । नेपाल स्काउटका सहायक प्रशिक्षक रामप्रसाद भट्टराईले स्काउटले युवालाई समाज र राष्ट्रप्रति थप जिम्मेवार बनाउने बताए ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्यान्ड, युगान्डा, ताइवान, इजिप्ट र लग्जम्बर्गका युवाको सहभागिता छ । संयोजक भण्डारीले सम्मेलनमा युवालाई गोष्ठीका अतिरिक्त मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, व्याम्बो वाल्क, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, वाटर साइक्लिङ लगायतका खेलमा सहभागी गराइने जानकारी दिए । कार्यक्रममा सशस्त्र प्रहरी बल र नेपाल स्काउटका सदस्यले मार्चपास र झाँकी प्रदर्शन गरेका थिए ।

Advertisement

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासन, स्वच्छ समाज र सुखी नेपाली बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्न योग्य, सक्षम, अनुशासित र जिम्मेवार नागरिक आवश्यक भएको बताएका छन् । प्रधानमन्त्रीले देशभक्त, कर्तव्यनिष्ठ, प्रतिभावान र सक्षम नागरिकले मात्र देश बनाउन सक्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउट युवाको दक्षता र क्षमता बढाउने, स्वस्थ्य, कर्तव्यनिष्ट र देशभक्त युवा तयार गर्ने अभियान भएको बताए । ‘स्काउट अन्तर्राष्ट्रिय अभियान हो,’ प्रधानमन्त्रीले भने । उनले युवालाई दक्ष र प्रतिभावान बनाउन त्यसै अनुरुपको शिक्षा र तालिमको व्यवस्था गर्ने बताए । नेपाल स्काउटका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले एकपल्ट पनि खराब काम नगर्न र अनुशासन उल्लंघन नगर्न स्काउटका युवालाई सुझाव दिए ।

Advertisement

‘ज्ञान, अध्ययन बढाउनुस् । शिक्षा र खेलकुदको क्षेत्रमा नमुना बन्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि हार्दिक सहयोगी बन्नुस् । व्यवहारले स्काउटको सदस्य भएको थाहा होस् ।’ स्काउटको बहुआयामिक अभ्यास प्रसंशनीय रहेको उल्लेख गर्दै उनले अफ्ठ्यारा र असुविधालाई सामना गर्न सुझाव दिए ।

नेपालमा राष्ट्रिय एकतालाई भाड्ने तथा कमजोर बनाउने खेल भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाभन्दा क्षेत्रीय र संकीर्ण भावनामा लाग्ने पक्ष हावी भएकोमा चिन्ता जाहेर गरे । विधि प्रक्रियाबाट बनेको संविधानको सम्मान गर्दा पद घटेको ठान्ने र कर्तव्यनिष्ठ हँुदा स्वतन्त्रता खोसिएको अनुभूति गर्ने प्रवृति गलत भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्न नेपाल स्काउटलाई सुझाव दिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले स्काउटले स्वयम् सेवा र सामाजिक सेवामा गौरवमय इतिहास कायम गरेको बताए । नेपाल स्काउटका प्रमुखसमेत रहेका मन्त्री विश्वकर्माले मुटमा सहभागीलाई साहासिक कला कौशल प्रर्दशन गर्न र स्काउटको दीक्षा लिएर फर्कन आग्रह गरे ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटिङ शिक्षाले युवालाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्ने दाबी गरे । १ विद्यालय, १ स्काउटिङ शिक्षामार्फत गाउँ गाउँका कुना कन्दरा पुग्ने जानकारी दिंदै भण्डारीले ४२ विद्यालयमा निशुल्क स्काउटको पोशाक वितरण गरेको बताए । उनले प्रदेश नम्बर १ मा स्काउटिङ शिक्षा प्रदान गर्न ४ सय ९८ प्रशिक्षक तयार पारेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया