१ महिने उपवासपछिकाे उत्सवः इद

समाधान संवाददाता २०७६ जेठ २३ गते ११:२५

मोहसिन अली मियाँ
गोरखा

देशैभरका मुस्लिमले उल्लासका साथ इद मनाएका छन् । १ महिने कठोर उपवासलाई बिदाइ गर्दै उनीहरुले इद उल फित्र मनाएका हुन् । अरबिक क्यलेन्डरको नवौं महिना रमजानभर बसेको व्रत अर्थात रोजालाई सफलतापूर्वक सम्पन्न गरेको खुसीयालीमा इद मनाउने गरिन्छ । इद अल्लाहको उपहार लिने दिन हो ।

इजिप्टको अल अज्हर विश्वविद्यालयमा अध्ययनरत गोरखा २ गाईखुरका खालिद सैफुल्लाह निजामीले भने, ‘रमजानको १ महिने व्रत सकेर त्यसको खुसीयालीमा रमाउने र मुस्लिम गैरमुस्लिमबीच भाइचारा साटासाट गर्ने दिन हो इद ।’ इस्लाम धर्मका ५ आधार स्तम्भमध्ये चौथो आधार स्तम्भमा पर्ने रमजानको रोजा र धर्म ग्रन्थ कुरान सरिफ रमजानकै महिनामा अवतरित भएकाले पनि यस महिना र पर्वलाई मुस्लिम समुदायले विशेष महत्वका साथ मनाउँछन् ।

Advertisement

हिजरी सवंत सन २ बाट संसारभरका सक्षम मुस्लिम समुदायलाई रमजान महिनाभर व्रत अनिवार्य गरिएको निजामीको भनाइ छ । रमजानको अन्तिम तारिखमा आकाशमा अर्धचन्द्रमा देखिएसँगै त्यसको भोलिपल्ट इद मनाउने प्रचलन छ । यस वर्ष बुधबार इद मनाइएको छ । इदका दिन सबेरै उठेर नुहाइधुवाइ गर्ने, नयाँ कपडा लगाउने, अत्तर लगाउने, विभिन्न प्रकारका खानेकुरा बनाइ खाने, सबै इदगाह वा मस्जिदमा भेला भएर नमाज पढेपछि अंकमाल गर्दै खुसीयाली साटासाट गर्ने चलन छ ।

इदसँग जद्का र फित्रासमेत जोडिन्छ । आफूले वर्षभिर कमाएको सम्पत्तिको केही प्रतिशत धार्मिक कर अर्थात जकात हरेकले अनिवार्य तिर्नुपर्ने हुन्छ । साढे ५२ तोला चाँदी, साढे ७ तोला सुन वा सोसरह सम्पत्ति भएकाले आफ्नो सम्पत्तिको २.५ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने हुन्छ । यसरी तिरेको रकम गरिब, दिन दुखीलाई दान गर्ने प्रचलन छ । ‘हरेक सक्षमले अनिवार्य सद्का र फित्रा निकाल्नै पर्छ’, निजामीले भने, ‘सम्पत्ति हुने र नहुनेबीचको विभेद र खाडल पुर्नका लागि र उनीहरुले पनि खुसीका साथ इद मनाउन सकून् भनेर धार्मिक कर अनिवार्य गरिएको हो ।’

Advertisement

इदका दिन बिहान सबेरैदेखि मुस्लिम बस्तीमा निक्कै चहलपहल हुन्छ । पछिल्लो समय मुस्लिम गैरमुस्लिम समुदायसमेत एकै ठाउँमा भेला भई सेवइ बनाएर खाने र शुभकामना साटासाट गर्ने चलन बढेको छ । गोरखाको भीमसेन थापा, आरुघाट, गण्डकी, सिराञ्चोक गाउँपालिका, पालुंटार र गोरखा नगरपालिकामा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ ।

गोरखासहित गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, स्याङ्जामा पनि मुस्लिमको बसोबास छ । गत वर्षदेखि सरकारले इदको बिदा कटौती गरे पनि विभिन्न मुस्लिम संघ, संगठनको दवावपछि यस वर्ष मन्त्रिपरिषदको जेठ १० गतेको बैठकले बिदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया