किसान प्रविधिमैत्री बन्दै, हाते ट्रयाक्टरको माग बढ्दै

समाधान संवाददाता २०७६ जेठ २९ गते १४:५४

राकेश शर्मा
म्याग्दी

थोरै जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसानले खेत जोत्न ट्रयाक्टरको प्रयोग बढाएका छन् । युवा विदेश पलायन भइरहेका बेला यो प्रविधि किसानका लागि बरदान सावित भएको छ । लाहुरेको जिल्ला भनेर परिचय बनाएको म्याग्दीका गाउँबस्तीमा जनशक्ति कम हुदै गएको छ ।

गाउँका किसानमा हलगोरुले खेत जोत्ने परम्परा कम भएको छ । हाते टयाक्टर होस् या चार पांग्रे ट्याक्टर, धेरै किसानका खेतबारीमा देखिन थालेका छन् । धान रोप्ने समय नजिकिदै गर्दा म्याग्दीमा संस्थागतभन्दा व्यक्तिगत रुपमा ट्रयाक्टरको माग बढ्दै गएको छ ।

Advertisement

हाते टयाक्टरका लागि सामान्य र ४ पाङग्रो ट्याक्टर सञ्चालनका लागि केही महिना सीप सिकेर किसानले प्रयोग गरिरहेको कुती रेफ्रिजिरेसन एन्ड इलोट्रोनिक्सका सञ्चालक कृष्णबहादुर खत्रीले बताए । अहिले समूहमा भन्दा व्यक्तिको माग बढी आएको खत्रीले बताए ।

बेनी नगरपालिका ३ भकिम्लीले वडामार्फत किसानको आवेदन माग गरी किसानलाई अनुदानमा मिनि ट्रयाक्टर वितरण गरिएको वडाध्यक्ष पदम पुनले जानकारी दिए । ‘हामीले किसानलाई प्रविधिमैत्री बनाउनका लागि निवेदन माग गरेका थियौं,’ उनले भने, ‘यसका लागि हामीले १ लाख ५० हजार बजेट विनियोजक गरेका थियौँ । ३० जानको निवेदन आएको थियो ।’ ५ जनाले ३० हजार वडा कार्यालयबाट अनुदानमा ट्रयाक्टर खरिद गरेका छन् । वडा नं. ५ ले पनि किसानका लागि १८ वटा ट्रयाक्टर खरिद गर्न लागेको छ । ५ वटा ट्रयाक्टर किसानले वितरण गरिसकेका छन् ।

Advertisement

बेनी नगरपालिका ९ काउलेगौडाका हिराबहादुर खत्रीले गोरु पाल्नुपर्ने, घाँस किन्नुपर्ने वाध्यता हटेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार, जिल्लाको ताकम, दरबाङ, बावियाचौर, अर्मन, कुहु, पात्लेखेत, विम, निस्कोट, देविस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, घतान, पुलाचौर, सिंगा लगायतका क्षेत्रमा यसको प्रयोग बढी छ । कार्यालयले गत वर्षसम्म कृषि इन्जिनियरिङ निर्देशनालयसँग सहकार्य गरी ३० प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गर्दै आएको थियो । ‘अहिले ज्ञान केन्द्रमा कुनै पनि ट्रयाक्टर अनुदानमा दिने कार्यक्रम छैनन्,’ कार्यालयका सूचना अधिकृत भोजबहादुर थापाले भने ।

तपाईको प्रतिक्रिया