सय चौपाया भए वन्यजन्तुको सिकार

समाधान संवाददाता २०७६ असार २ गते १२:००

एसके थकाली
जोमसोम

Advertisement

मुस्ताङको थासाङ गाउँपालिकाकामा १ वर्षमा १ सय चौपाया वन्यजन्तुको सिकार भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । वन्यजन्तु पशुपालक किसानलाई दिएको राहत विवरणमा उक्त तथ्यांक छ ।

वन्यजन्तुबाट पीडित पशुपालक किसानलाई एक्याप मुस्ताङले आंशिक राहतसमेत उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ सालमा क्षति व्यहोरेका जिल्लाका कुल १४ पशुपालका किसानलाई कुल ३ लाख ६ हजार राहत दिएको एक्याप जोमसोमले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाका पशुपालक किसानमात्रै वन्यजन्तुबाट पीडित बनेको पाइएको छ । त्यसक्षेत्रमा हिमचितुवा, चितुवा र जंगली भालु लगायतको आक्रमणले वर्षेनी दर्जनौं चौपायाको मृत्यु हुने गरेको एक्यापको रेकर्डमा छ ।

थासाङ गाउँपालिकाका ५ वटै वडामध्ये सबैभन्दा बढी वन्यजन्तु पीडित वडा नम्बर २ का पशुपालक किसान छन् । यस वर्ष थासाङमा ६९ गोटा चौरीयाक, बच्चा, माउ र भेडाच्याङ्ग्रा वन्यजन्तुको आक्रमणमा परी मरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले बताए । थासाङ २ मा स्थानीय पशुपालक किसानहरु सोजन हिराचन, महेन्द्र शेरचन, रमेश मगर, भीमप्रसाद थकाली र यमलाल मिजारको उक्त संख्यामा चौपाया वन्यजन्तुका कारण मरेका हुन् । थासाङ १, ३ र ४ का कुल ९ पशुपालका किसानको गरी यस वर्ष २५ वटा चौपाया वन्यजन्तुको आक्रमणमा परी मरेका थिए ।

Advertisement

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बर्सेनी वन्यजन्तु पीडित पशुपालक किसानका लागि आवश्यक बजेट विनियोजन गर्ने गरेको छ । एक्याप मुस्ताङका कार्यालय प्रमुख तुलसी दाहालले मानव र वन्यजन्तु द्वन्द्वकोे राहतले सम्बन्धित पीडितहरुलाई राहत नपुग्ने हुनाले उक्त जोखिम न्यूनीकरण गर्न पशुबाली बिमा आवश्यक भएको बताए । बिमा कार्यक्रममा सहभागी हुन पुशपालक किसानलाई प्रोत्साहित तथा सहयोग उपलब्ध गराइने समेत कार्यालय प्रमुख दाहालले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया