पोखरेली पर्यटन व्यवसायी स्वर्गद्वारीमा

समाधान संवाददाता २०७६ असार ९ गते १३:२४

समाधान संवाददाता, पोखरा

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराले आयोजित धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारीको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ । प्रवद्र्धनात्मक भ्रमणका क्रममा स्थलगत अवलोकनका साथै सरोकारवालाबीच अन्तक्र्रियासमेत गरिएको छ ।

प्युठानी समाज, पोखराको समन्वयमा आइतबार प्युठानको भिंग्रीमा आयोेजित अन्तक्र्रियामा वक्ताहरूले धार्मिक पर्यटनलाई व्यवसायिकतामा बदल्न नसक्दासम्म स्थानीयवासी एवं सरोकारवालाले लाभ लिन नसक्ने बताए । पर्यटन यातायात समिति पोखरा अध्यक्ष बबोरजंग गुरुङले स्वर्गद्वारीप्रतिको आकर्षणलाई व्यवसायिकताका माध्यमबाट नगदमा बदल्नुपर्ने बताए । स्वर्गद्वारी र पोखराबीच पर्यटकीय सम्बन्ध जोड्न सहयोग गर्ने बताउँदै उनले पर्यटक लक्षित पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे ।

Advertisement

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले व्यवसायिक सोचका साथ पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न नसक्ने हो भने त्यसबाट लाभ लिन असम्भव भएको बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले स्वर्गद्वारीमा पर्यटक लक्षित पूर्वाधारको विकासका साथै व्यवसायिकतालाई प्रभावकारी बनाउन सुझाव दिए ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाया क्षेत्रीले स्वर्गद्वारीको विकास आफूहरूको प्राथमिकतामा रहेको बताउँदै पोखरासँगको पर्यटकीय साझेदारीको अपेक्षा गरेको धारणा राखे । कार्यक्रममा पर्यटन याताया समितिका महासचिव नवराज अधिकारी, उद्योग वाणिज्य संघ स्वर्गद्वारी अध्यक्ष पशुपति श्रेष्ठ, स्वर्गद्वारी नगरपालिका नेपाली कांग्रेसका सभापति तिलकबहादुर विक, सञ्चारकर्मी सिपी पौडेल लगायतले पोखरा र स्वर्गद्वारीबीच पर्यटकीय साझेदारी कायम गर्दै यसबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

Advertisement

पर्यटन यातायात समिति पोखराका अध्यक्ष गुरुङका अनुसार प्रवद्र्धनात्मक भ्रमणकै क्रममा आइतबार नेपाल भारतबीचको कृष्णनगर नाका पनि अवलोकन गरिएको छ । भ्रमण टोली भोली अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल सुपा देउराली र सिजी धामको स्थलगत अवलोकन गरी पोखरा फर्कने उनले जानकारी दिए । समितिकै सकृयतामा अघिल्लो वर्ष रसुवागढी नाका लगायतका क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरिएको थियो ।

तपाईको प्रतिक्रिया