साढे २ करोड ठग्ने सरीता जेल चलान

समाधान संवाददाता २०७६ असार ३१ गते १२:२५

समाधान संवाददाता, पोखरा

५० जनाभन्दा बढीबाट साढे २ करोड ठगी गर्ने बागलुङ रणसिंह किटेनीकी सरीताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान भएकी छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सोमबार गरेको फैसलापछि उनी जेल चलान भएकी हुन् ।

साढे २ करोड रुपैयाँ बिगो र सोही बमोजिमको जरिवाना गरी ५ करोड रुपैयाँ भराउने फैसला भएकोमा उनले तिर्न नसकेपछि जेल चलान भएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताए । सरीता यसअघि पनि पुर्पक्षका लागि थुनामै थिइन् । माघ १० गते दर्ता भएको मुद्दामा माघको अन्तिम साता तत्कालीन मुख्य न्यायाधीश जीवनहरि अधिकारीको इजलासले ५ करोड धरौटी माग गरेकोमा तिर्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामै थिइन् । बैंकिङ कसुर मुद्दामा बिगो, बिगो बराबर जरिवाना र ३ महिनासम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।

Advertisement

पछिल्लो समय पोखराको अर्घौंचोकमा बस्दै आएकी सरीताले स्थानीयलाई प्रभावमा पार्र्दै करोडौं रुपैयाँ कुम्ल्याउन सफल भएकी हुन् । उनीविरुद्ध २०७५ माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । माघ ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो । ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्‍यो । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गरेको थियो ।

जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसलगत्तै रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको थियो ।

Advertisement

विभिन्न वाहानामा सरीताले सापटी रकम माग्ने तर रकम नभएको बैंक खाताको चेक दिने गर्थिन् । जनकलाल लोहनीले एनआइसी एसियाको १२ लाखको चेक फिर्ता पाए पनि साट्न नसकेपछि प्रहरीमा उजुरी दिएका हुन् । यसैगरी, रेशमलाल कँडेल, देवी जैसी, नरमाया थापामगर, तारा फगामी पुन, चन्द्रबहादुर सुनार, जीतबहादुर पुन र धनबहादुर पुनलगायतले २ करोड ३८ लाख रुपैयाँको बिगोसहित उजुरी दिएका हुन् । उनीहरु सबैले पाएको चेक साटिएको छैन ।

आरोपित सरीताले आफूले रकम लिएको र रकम नभएको खाताको चेक दिएको प्रहरीसमक्ष स्वीकारेकी छन् । संगतमा आएका ४ जनाका कारण आफू फँसेको उनको जिकीर छ । कीर्तिपुरका दीपेन्द्र जोशी, पाँचथरका आरके लिम्बु नेम्बाङ, रोल्पाका राजकुमार पुन र खोटाङका नेत्र राईको उक्साहटमा लाग्दा आफू ठूलो कारोबारमा फँसेको सरीताको भनाइ छ । ‘तपाईंलाई यो ठाउँमा पत्याउँछन्, रकम उठाएर धनकुटातिर गएर सुन्तला खेती गर्नुपर्छ,’ भन्दै उक्साएको सरीताले प्रहरी वयानमा भनेकी छन् । ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाए पनि प्रमाणको आधारमा साढे २ करोड बिगो देखिएकाले सोही आधारमा मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ । घडेरी किन्ने व्यक्ति खोजिरहेको बेला पोखरा २६ की दिलमाया पुनको भेट सरीतासँग भयो । सामान्य चिनजानपछि सरीता दिलमायाको घरमा आउजाउ गर्न थालिन् । आउजाउ बढ्न थालेपछि सरीताले दिलमायासँग लेनदेन सुरु गरिन् । पहिला ससानो रकम लैजाँदै फिर्ता गर्दै विश्वास जितेपछि सरीताले दिलमायाबाट १ करोड ७० लाख रकम फुत्काइन् ।

उक्त रकम बराबरको चेक सरीताले दिइन् पनि । तर जुन बैंकको चेक दिएकी थिइन्, उक्त खातमा रकमै थिएन । पटकपटक बैंक जाँदा रकम नसाटिएको र सरीता पनि सम्पर्कविहीन भएपछि दिलमायाले प्रहरीको साथ मागेकी हुन् । बुढीबजारकी नीरा सुनारले पनि सरीताले १९ लाख रुपैयाँ खाएर भागेको उजुरी दिएकी छन् । लेखनाथकै देवी जिसीले पनि आफ्नो ३ लाख रुपैयाँ फँसेको बताएकी छन् ।

३ करोड रुपैयाँभन्दा रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् ।

तपाईको प्रतिक्रिया