पोखरा २१ का वडाध्यक्ष खगराजमाथि कुटपिट

समाधान संवाददाता २०७६ साउन १२ गते २१:११
दाताराम आचार्य ।

तस्बिरमा दाताराम आचार्य ।
दाताराम प्रहरी हिरासतमा

पोखरा महानगरपालिका २१, का वडाध्यक्ष खगराज आचार्यमाथि कुटपिट भएको छ । कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले आइतबार साँझ कुटपिट गरेको वडाध्यक्ष खगराजले बताए ।

कुटपिटमा संलग्न दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको डिएसपी कोमल शाहले जानकारी दिए ।

वडाध्यक्ष खगराजसहित केही व्यक्ति राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका बेला दातारामले एक्कासि मुक्का र हेलमेट प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

आफूमाथि भएको प्रहारबारे वडाध्यक्ष खगराजले भने, ‘कृस्ती वडा कार्यालयबाट काम सकेर साथीहरुसहित जुस पसलमा आएर बसेका थियौं । एक्कासि पछाडिबाट प्रहार भयो । म जनप्रतिनिधिले केही गर्न मिलेन मलाई बचाइदिनुस् भनेपछि उसलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर भयो ।’

दातारामले मादक पदार्थ सेवन गरी आफूमाथि प्रहार गरेको वडाध्यक्ष खगराजले सुनाए । आफूमाथि कुटपिट हुनुको कारण आफैंलाई थाहा नभएको वडाध्यक्षले बताए ।

तपाईको प्रतिक्रिया