भानु नगरपालिकामा चितुवाकाे आक्रमण बढ्याे, आक्रमणबाट ४ बालबालिकाकाे मृत्यु र २ घाइते

समाधान संवाददाता २०७६ साउन १६ गते १२:०६

समाधान संवाददाता
दमौली

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढेपछि जिल्ला सुरक्षा समितिले चितुवा नियन्त्रणका लागि सबै उपाय अपनाउने भएको छ । समितिको बैठकले चितुवा नियन्त्रणका लागि सबै प्रकारका उपाय अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

चितुवाको आक्रमणबाट ४ बालबालिकाको ज्यान गइसकेको र २ बालक घाइते भएपछि नरभंक्षी चितुवा नियन्त्रणका लागि गोली हान्नेसम्मको आदेश दिइएको छ । ‘मानवलाई निरन्तर क्षति पुर्‍याइरहेको चितुवालाई नियन्त्रणमा लिन अन्तिम प्रयास गर्ने र त्यसो गर्दा पनि नियन्त्रणमा लिन नसकिए मार्नेसम्मको निर्णय भएको छ,’ प्रजिअ पण्डितले भने ।

Advertisement

चितुवाले साँझ ६ बजेदेखि राति १२ बजेसम्म आक्रमण गर्ने गरेकोले बेलुकाको समयमा अभिभावकले बालबालिकाको विशेष ख्याल राख्नुपर्ने प्रजिअ पण्डितले बताए । ‘घर वरपर झाडी भएको ठाउँमा र अँध्यारोको समयमा चितुवाले आक्रमण गर्ने गरेकोले त्यो बेला विशेष चनाखो हुने र झाडी सरसफाई गर्नुपर्छ,’ प्रजिअ पण्डितले भने । वनजंगलमा चितुवाको आहारा नभएकोले चितुवा मानववस्तीमा बस्ने गरेकोले जंगलमा चितुवाको आहारा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती रहेको उनले बताए ।

प्रहरी उपरिक्षक विनोद सिलवालले चितुवा नियन्त्रणका लागि स्थानीयवासीले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित अवस्थामा रहेकोले गम्भीरतापूर्वक नियन्त्रणका लागि सबै सरोकारवाला लाग्नुपर्ने बताए ।

Advertisement

यसैबीच नगर क्षेत्रभित्र वन्यजन्तुबाट भइरहेको आक्रमण सम्बन्धमा डिभिजन वन कार्यालयबाट सुरक्षा निकायहरुसँगको समन्वयमा प्रभावकारिता रणनीतिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नका लागि नगरप्रमुख उदयराज गौलीको संयोजकतत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सहायक वन अधिकृत चुडामणि बराल, भानु नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर केसी, ३ का अध्यक्ष दलनारायण श्रेष्ठ, ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाट, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका प्रतिनिधि छन् ।

उक्त समितिले आक्रमणकारी वन्यजन्तुलाई नियन्त्रणमा लिन तत्काल कार्य शुरु गर्ने र उक्त कार्यको लागि लागत खर्च तयार गरी अल्पकालिन रणनैतिक कार्ययोजना तयारी गरी सम्बन्धित निकायमा पेश गर्नेछ । समितिले आगामी दिनहरुमा वन्यजन्तु आक्रमण कम गर्न गरिनुपर्ने दीर्घकालिन कार्ययोजना तयार गरी सोको लागत अनुमान समेत तयारी सम्बन्धित निकायमा पेश गर्नेछ ।

आइतबार मात्र चितुवाको आक्रमणबाट घाइते भएका भानु नगरपालिका–२ ठूलोबगैंचाका ६ वर्षीय हेमराज सुनुवार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई भानु नगरपालिकाले ३५ हजार सहयोग उपलब्ध गराएको छ ।
चितुवाको आक्रमणबाट भानु नगरपालिकामा १ वर्षको अवधिमा ४ बालबालिकाको मृत्यु भएको छ । मृत्यु भएका परिवारलाई डिभिजन वन कार्यालयले १० लाखका दरले राहत उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया