सांसद तुलाचनको पहलमा नापी टोली मुस्ताङ आउने

समाधान संवाददाता २०७६ साउन २१ गते १२:३८

सुन्दरकुमार थकाली, मुस्ताङ

मुस्ताङको भूमी संम्वन्धि जटिल समस्या निराकरण गर्न यहाका संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका छन् । सांसद तुलाचनले भूमी समस्या तथा सरकारी भूमी समस्या र त्यसको निराकरण गरिदिन भूमिसुधार तथा गरिवी निवारण मन्त्रालयमा धाए, पत्रचार गरे । सांसद तुलाचनकै पहलमा सोमवार उक्त मन्त्रालयमा मन्त्री पद्मा अर्यालसहित मन्त्रालयका अधिकारी बीच भएको छलफलले आउँदो असोजमा नापी टोली मुस्ताङ पठाउने प्रतिवद्धता भएको सांसद तुलाचनले जानकारी दिए । यस बारे जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई मन्त्रालयले जानकारी गराएको सांसद तुलाचनको भनाई छ ।

यस्तै, मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मुस्ताङको भूगोल नापजाँच तथा भूमि समस्या निराकरण गर्न नापी टोली मुस्ताङ आउने जानकारी दिए । मन्त्रालयले यसपटक मुस्ताङको पुरै भूगोलको विस्तृत नापनक्सा गर्ने भएको सांसद तुलाचनले सुनाए । सांसद तुलाचनले भने ,‘ मुस्ताङको खेर गएका खाली जग्गा सरकारको नापमा नापजाँच भएको खण्डमा विदेशी लगानी भित्रिन्छ । औधोगिक विकासमा टेवा पुग्छ ।’ जिल्ला स्थित मालपोत तथा नापी कार्यालयले पनि शिघ्र जग्गा नापनक्सा हुने जनाएका छन् ।

Advertisement

मुस्ताङको कुल क्षेत्रफल ३५५.२१ वर्ग किलोमिटर छ । यहाँको कुल क्षेत्रफलको जम्मा .९३ प्रतिशत जग्गा नापी भएको छ । अरु जग्गा नापनक्सा भएका छैनन् । तत्कालिन सरकारले २०३२ सालमा मुस्ताङमा पहिलो पटक जग्गा नापजाँच गर्‍यो । त्यस बखत मुस्ताङ आएका नापी टोलीले स्थानीय भाषिक समस्याका कारण संम्वेदशील रुपमा व्यक्तिले भागचलन गरेका जग्गा नापनक्सा गर्नमा चुके । त्यस समय जग्गा मात्र होईन नागरिकता बनाउने काममा समेत त्रुटी देखियो ।

उपल्लो मुस्ताङमा त धेरैजसोले भोगचलन गरेका निजी जग्गा धनीले अहिले सम्म लालपूर्जा पाएका छैनन् । नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले भाषिक समस्या र शैक्षिक अज्ञानताका कारण २०३२ सालमा जग्गा नापी कतिपयले भोगचलन गर्दै आईरहेको जग्गा नापी हुन नसकेको जानकारी दिए । उनले स्थानीयको उपयोग गरेको जग्गा नापी गर्न छुट्दा त्यसबाट प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित रहनु परेको बताए ।

Advertisement

मुस्ताङको भूमी सम्बन्धि समस्या छिटो सुल्झाउन सरकारले पहल गर्नुपर्ने सुझाए । जैविक विविधता तथा खनिज वस्तु उत्खनन्को प्रचूर संम्भावना रहेको मुस्ताङ आफैमा प्राकृतिक श्रोत साधनले धनी जिल्ला हो । यूरोनियम, ग्याँसा, शालग्राम र नुन खानी देखि सुन खानीसम्म उत्तिकै सम्भावानको जिल्लाको हो मुस्ताङ । यहाँ खेर गईरहेका सयौं हेक्टर जमिन उपयोग बिहिन अवस्थामा छ । सरकारी जग्गालाई समेत नापनक्सा गरेर सरकारी स्वामित्वमा नआउदाँ विकास र सम्भावना कतिपय ढोकाहरु उघ्रन नसकेको हो ।

तपाईको प्रतिक्रिया