संघको थोत्रो गाडीको इखले ल्यान्डक्रुजर

समाधान संवाददाता २०७६ साउन २४ गते १२:३९
Ramesh Kumar.indd

अमृत सुवेदी
पोखरा

गाडी खरिदको होडको ग्राफमा गण्डकी प्रदेश सबैभन्दा तल देखियो । गएको आर्थिक वर्षमा सवारी साधन खरिदमा सातै प्रदेशमा गण्डकी प्रदेशले सबैभन्दा कम खर्च गरेको छ ।

गण्डकी प्रदेशले १२ करोड ३२ लाख सवारी साधन खरिदमा खर्च गरेको छ । तर, सबैभन्दा महँगो गाडी चढ्ने होडमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ १ नम्बरमा आए । सातै मुख्यमन्त्रीलाई उछिनेर मुख्यमन्त्री पृथ्वीसुब्बाले २ करोड ५० लाख रुपैयाँमा गाडी खरिद गरेर चढे । मुख्यमन्त्री आफैं महंगो गाडी चढेर बढी सुविधाभोगी बनेको भनेर आलोचना भयो ।

Advertisement

मुख्यमन्त्री गुरुङले ल्यान्डक्रुजर गाडी चढिरहेका छन् । संघीय सरकारले अधिकार दिन कन्नुस्याइँ गरिरहेको भन्दै पटाक्षेप गरिरहने मुख्यमन्त्री गुरुङले यति महँगो गाडी चढेपछि अनेक प्रतिक्रिया आए । प्रदेश सरकार खर्चालु र मन्त्री सुविधाभोगी बनेको भन्दै कतिले संघीयतामाथि नै प्रश्नसमेत उठाए ।

कम्युनिस्ट पार्टीका कट्टर तथा वैचारिक नेताको छविसमेत बनाएका मुख्यमन्त्री गुरुङलाई यति महँगो गाडी किन आवश्यक पर्‍यो, समाधान दैनिकले सोधेको छ । मुख्यमन्त्री गुरुङले केन्द्रका मान्छेले गरेको अपमानजनक व्यवहारले गाडी खरिद गर्नुपरेको बताए ।

Advertisement

प्रदेशका मुख्यमन्त्री काठमाडौं जाँदा थोत्रो गाडी दिने र अपमानजनक व्यवहारको प्रतिरोधले महँगो गाडी खरिद गरेर चढेको उनको स्पष्टीकरण थियो । के थियो त त्यस्तो अपमानजनक व्यवहार, मुख्यमन्त्री गुरुङले एउटा उदाहरण पेस गरे ।

मुख्यमन्त्री गुरुङले एउटा कारणले टोयटा गाडी किनेर चढेको बताउँछन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने बैठकमा भाग लिन जाँदा गाडीकै कारण मुख्यमन्त्री गुरुङले दुख पाएछन् । संघीय सरकारका कारण प्रदेशले काम गर्न नसकेको बताउँदै आएका मुख्यमन्त्री गुरुङले महंगो गाडी चढ्नुको कारण पनि संघलाई नै देखाए ।

महँगो गाडी चड्नुपर्ने गरी प्रतिरोध जन्माउने त्यो बेलाको घटना के थियो त ? मुख्यमन्त्रीकै शब्दमाः
एक पटक एयरपोर्टबाट गौशला हुँदै जाँदै थिएँ । प्रधानमन्त्रीको नेतृत्वमा भएको इम्पोर्टेन बेठकमा भाग लिनु छ । गौशला आउँदा, नआउँदै गाडी सिज भयो । बन्द भयो । गौशालाको प्रहरी कार्यालयमा मैले चिनेको एक जना डिएसपी थिए । उनलाई बोलाएर, उनैले पिकअप गरिदिएर म बैठकमा पुगें । यस्तो अपमानजनक व्यवहार भएपछि मचाहिँ यिनीहरुकै सामु ल्यान्डक्रुजर गाडी चाढेर आउँछु भनेर मैले चढेको हो । नत्र मलाई ल्यान्डक्रुजर प्राडो चढ्ने कुनै कुनै इच्छा छैन ।

संघमा जाँदा ३ जना पनि नअट्ने थोत्रो गाडी दिने गरेको मुख्यमन्त्री गुरुङको गुनासो थियो । केन्द्रमा जाँदा राष्ट्रिय झन्डा भएकोभन्दा अलग नम्बर प्लेट भएको गाडी दिने गरेको मुख्यमन्त्री गुरुङले बताए ।
‘संघमा हामी जाँदा जहिले पनि सानो, थोत्रो गाडी दिने, ३ जना पनि नअट्ने गाडी दिने । सानो ५ इन्चको खाल्डो भएको ठाउँमा पनि क्रस नगर्ने,’ मुख्यमन्त्री गुरुङले भने, ‘अलग राष्ट्रिय झन्डा भएकोभन्दा अलग नम्बर प्लेट भएको गाडी दिने । यसरी अपमान भएका कारण हो ।’

मुख्यमन्त्रीले एउटा गाडी चढ्दा आकास खस्यो ?
मुख्यमन्त्री गुरुङले एउटा गाडी चढ्दा कुनै आकास नखस्ने बताए । मुख्यमन्त्रीले एउटा ल्यान्डक्रुजर गाडी चढ्नु कुनै ठूलो कुरा नभएको उनको प्रतिक्रिया थियो ।

‘मुख्यमन्त्रीले एउटा टोयटा गाडी चढ्दा कुन आकास खस्यो ? यो ठूलो कुरा होइन,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘संघका मान्छेले धेरै अपमान गर्छन् । त्यही अपमानित भएर प्रदेशको मुख्यमन्त्रीको प्रतिष्ठा बढाउनलाई पनि हो ।’

नत्र टोयटा गाडी चड्ने कुनै रहरै नभएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । आफ्नो जीवन किताबको पानाझै सबै खुला भएको मुख्यमन्त्रीले बताए ।

‘मेरो जीवन हेर्न सक्नुहुन्छ । किताबको पानाझै सबै खुला छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘म जहिले पनि सरलतामा विश्वास गर्ने मान्छे हुँ । मितव्ययितामा विश्वास गर्ने मान्छे हुँ ।’

संघले मोजमस्ती गरेको कसैले नदेख्ने ?

प्रदेश सरकार खर्चालु र महँगो भयो भन्नु आरोप र पूर्वाग्रहमात्रै भएको मुख्यमन्त्री गुरुङ बताए । प्रदेश र यहाँका मन्त्रीहरुले प्रारम्भिक अवस्थाबाट गज्रनु परेको उनको भनाइ थियो ।

प्रदेशका मन्त्रीहरुका अहिले पनि बस्ने कार्यालय र आवास पनि व्यवस्थित हुन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ छ । ‘आवास पनि गतिलो छैन । थोत्रो गाडी चढेर हिँडिराखेका छन्,’ मुख्यमन्त्री गुरुङले भने । संघ सरकारले मोजमस्ती गरेर बसेको कसैले नदेख्ने तर प्रदेश सरकार खर्चिलो भयो, सुविधाभोगी भनेर भन्ने गरिएकोप्रति उनको चित्त दुखाइ थियो ।

‘हामी त प्रारम्भिक अवस्थामा गुज्रिरहेका छौं । हामीसँग के छ ? न संरचना छ । न स्रोत, साधन छ, न कर्मचारी छन्, न कानुन छ । केही छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो बेला के प्रदेशका मन्त्रीहरु खाली खुट्टा हिँड्नु भनेका छन् जनताले ? प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरा तर्क संकत छैन ।’

कम्तीमा गण्डकी प्रदेशलाई चाहिँ कसैले भन्ने ठाउँ नरहेको मुख्यमन्त्री गुरुङले बताए । ‘हामी यति धेरै मितव्ययी र आर्थिक अनुशासनमा छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘गाडी चढ्यो भनेर आलोचना नगरौं । प्रदेशको अवस्था र काम हेरौं ।’

तपाईको प्रतिक्रिया