मेयरको विदेश मोहः चरीजस्तै उडिरहने चिरीबाबु !

समाधान संवाददाता २०७६ भदौ १९ गते १४:५२

समाधान संवाददाता, पाेखरा

पोखराका मेयर मानबहादुर जिसी नवौं वैदेशिक भ्रमणमा उडेको विषय चर्चाको विषय बन्यो । मेयर जिसी मंगलबार दक्षिण कोरियाको भ्रमणमा उडेका थिए ।

धेरैजनाले पोखराका मेयर मानबहादुर जिसी देशकै सबैभन्दा बढी घुम्ने मेयर हुन् भनेर चर्चा पनि गरे । तर, त्यो सत्य होइन । स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमण गर्ने होडबाजी नै छ ।

वैदेशिक भ्रमणको होडबाजीमा सबैभन्दा अगाडि ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जन सबैभन्दा अगाडि छन् । उनी अहिलेसम्म १२ औं वैदेशिक भ्रमणमा गइसके । ‘असार यता मेयरसाब कुनै पनि वैदेशिक भ्रमणमा जानुभएको छैन,’ सहरी विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी रुद्रप्रसाद गौतमले समाधानसँग भने, ‘असारयता उहाँका ३० वटा वैदेशिक भ्रमणको निम्तो थन्किएका छन् ।’

Advertisement

धेरै विदेश जाने मेयरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर जोशी र पोखराका मेयर जिसी दोस्रो नम्बरमा छन् । यतिबेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर फिनल्यान्डमा छन् भने पोखराका मेयर मानबहादुर दक्षिण कोरिया । दुवै मेयर अहिले नवौंपटकको वैदेशिक यात्रामा छन् ।

भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्का, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नेरुलाल चौधरीले वैदेशिक भ्रमण गर्ने होडबाजीमा काठमाडौंका मेयर विद्यासुन्दर र पोखराका मानबहादुरलाई पछ्याइरहेका छन् ।

Advertisement

अहिलेसम्म विदेश जाने मेयरले सबैभन्दा बढी भगिनी सम्बन्ध कायम गर्न, भेला तथा विभिन्न फोरममा सहभागी हुन र अवलोकन भ्रमणमा जाने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गएको साल स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन विदेश भ्रमण सम्बन्धी निर्देशिका र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका जारी गरेको छ । पोखराका मेयर जिसी भने महानगरलाई आर्थिक भार नपर्ने गरी विदेश जाने गरेका छन् । वैदेशिक भ्रमणमा जानुअघि जनप्रतिनिधिले अनिवार्य स्वीकृति लिनुपर्छ । तर, अधिकांश जनप्रतिनिधिले स्वीकृतिबिना भ्रमण गर्ने गरेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया