रञ्जनलाई मित्रमिलन पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७६ भदौ २२ गते १२:३१

समाधान संवाददाता
पोखरा

मित्रमिलन कृषि सहकारी संस्था पोखरा ९ ले पत्रकार रञ्जन अधिकारीलाई २५ हजार राशिको ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मान गरेको छ । पोखराको बिग एफएमका स्टेसन म्यानेजर अधिकारी ११ वर्षदेखि पत्रकारीतामा क्रियाशील छन् ।

मित्रमिलनको अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । अधिवेशनबाट उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भीमलाल पौडेल चुनिए ।

Advertisement

सदस्यमा गोपाल खनाल, संगीता रेग्मी सुवेदी र रनिता थापा चुनिए । लेखा समिति संयोजकमा सूर्यबहादुर अधिकारी तथा सदस्यद्वय जनक पौडेल र प्रतिक लामिछाने चयन भए । अधिवेशनले लेखा समिति संयोजक विजय लम्सालले प्रस्तुत गरेको प्रतिवेदन, प्रबन्धक किरण अधिकारी र सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष रमण पौडेलले पेस गरेको प्रतिवेदन पारित भएको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेले सहकारीले छोटो समयमा गरेको प्रगति सन्तोषजक भएको बताए । उनले सहकारीको मूल मर्म र सिद्धान्त पछ्याउँदै अघि बढ्न सुझाव दिए । ‘बैंकहरु मर्जमा गए जस्तै सहकारी पनि मर्जमा जानु आवश्यक छ । कार्यक्षेत्र विस्तारसँगै पुँजी वृद्धि, आफू अनुकूलका सहकारीसँग मर्ज गर्दै अघि बढ्न म सुझाव दिन चाहन्छु,’ उनले भने ।

Advertisement

संस्थाका अध्यक्ष रमण पौडेलले अब सहकारी नयाँ जोश र जाँगरका साथ हरेक सेयर सदस्यसँग निकट रहेर अघि बढ्ने प्रतिबद्धता गरे । त्यस अवसरमा सल्लाहकार संयोजक बालकृष्ण घिमिरे, दीपकबहादुर अधिकारी क्षेत्री, लेखनाथ अर्याल, अर्जुन गिरी, प्रबन्धक किरण अधिकारी र गोपाल खनालले बोलेका थिए ।

सहकारीले उत्कृष्ट बचतकर्ता पार्वती पराजुली, उत्कृष्ट ऋणी कर्णबहादुर रानाभाट, सक्रिय सेयर सदस्य सूर्यबहादुर क्षेत्री थापा, नियमित मासिक सेयर बचत राजेश गुरुङ, ज्येष्ठ सेयर सदस्य सोमनाथ शर्मा, उत्कृष्ट कर्मचारी सुजना श्रेष्ठका साथै कक्षा १२ र एसइईमा उत्कृष्ट हुने सेयर सदस्य शिशिर रञ्जितका छोरा प्रमोज रञ्जित र कृतिका रञ्जितलाई पनि सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया