अस्पताल सुधारका लागि २ करोड आवश्यक

समाधान संवाददाता २०७६ भदौ २६ गते १३:२५

कृष्ण न्यौपाने
दमौली

सदरमुकाम दमौलीस्थित १ मात्र सरकारी अस्पताल दमौली अस्पतालको न्यूनतम सेवा सुधारका लागि करिब २ करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम अन्तर्गत गरिएको अध्ययनबाट न्यूनतम सेवा सुधारका लागि २ करोड ६५ लाख ५१ हजार बजेट आवश्यक पर्ने देखिएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका डा. भोजराज गौतम, दमौली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुनील पौडेल, बन्दीपुर अस्पतालका मेसु डा. डिबी क्षेत्री लगायतको टोलीले गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

Advertisement

समितिले बजेटको स्रोतको पहिचान पनि गरेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले २ करोड १३ लाख, अस्पताल विकास समितिले ३२ लाख ५१ हजार, नगरपालिकाले १० लाख र निक सिमोन्स इन्स्टिच्युटले ६ लाख सहयोग गर्नुपर्ने अध्ययन टोली सदस्य एवं बन्दीपुर अस्पतालका मेसु डा. डिबी क्षेत्रीले जानकारी दिए ।

विभिन्न सूचकलाई आधार मानेर गरिएको अध्ययनबाट अस्पतालको न्यूनतम सेवाको गुणस्तर ६५ प्रतिशत रहेको छ । जसअनुसार प्रशासन र व्यवस्थापनतर्फ ७० दशमलव ६४, क्लिनिक व्यवस्थापनतर्फ ६६ दशमलव ७३ र अस्पताल सेवातर्फ ५५ दशमलव ३० प्रतिशत छ । डा. क्षेत्रीका अनुसार न्यूनतम सेवा सुधारका लागि अस्पताललाई एनेस्थेसिया मेसिन, इन्डोस्कोपी मेसिन, भेन्टिलेटर, इको मेसिन, युएसजी मेसिन, शववाहन÷एम्बुलेन्सलगायत आवश्यक छ ।

Advertisement

विगतका वर्षभन्दा यस वर्ष अस्पतालको सेवामा सुधार आए पनि अस्पतालले थप सुधार गर्नुपर्ने टोलीले औंल्याएको हो । अस्पतालको सामाजिक परीक्षण, सबै कर्मचारीलाई परिचयपत्रको व्यवस्था, स्तनपान कक्षको व्यवस्था, दैनिक आम्दानीको विवरण, विद्युतीय हाजिरी लगायतमा सुधार गर्नुपर्ने देखिएको छ । चौबिसै घन्टा फार्मेसी, डायलोसिस सेवा, आँखा उपचार केन्द्र, स्वास्थ्य बिमालगायत अस्पतालका राम्रा पक्ष हुन् ।

दमौली अस्पतालका मेसु डा. सुनील पौडेलले १५ शड्ढया क्षमताको अस्पतालबाट हाल ४२ शड्ढयामा सेवा प्रवाह भइरहेको जानकारी दिए । डा. पौडेलका अनुसार कर्मचारी अभावका बाबजुद पनि अस्पतालले सर्वसाधारणको सेवामा कुनै कसर बाँकी राखेको छैन ।

पौडेलका अनुसार सरकारीतर्फ २४ दरबन्दी भए पनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । ‘कर्मचारी अभावमा सोचे जति सेवा दिन सकेका छैनौं’, डा. पौडेलले भने, ‘तर सेवामा कुनै कसर पनि बाँकी राखेका छैनौं ।’ डा. पौडेलका अनुसार विकास समितिमार्फत राखिएका कर्मचारीका लागि वार्षिक ४० लाख तलबमा खर्च हुने गरेको छ ।

अस्पतालमा हाल सरकारी दरबन्दीमा १ मेसु, २ मेडिकल अधिकृत, ५ स्टाफ नर्स÷अनमी, ३ एचए, १ रेडियोग्राफर, २ ल्याब टेक्निसियन÷असिस्टेन्ट, २ प्रशासनतर्फ कर्मचारी र २ कार्यालय सहायक छन् ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । १५ रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन नसकेको दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार ५० शड्ढयाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ ।

‘अस्पतालको स्तरोन्नतिका लागि जग्गा खोजी गर्ने सन्दर्भमा विभिन्न चरणमा सरोकारवालासहित छलफल गरिए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन’, अधिकारीले भने, ‘हाल भइरहेको अवस्थाबाट नै गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं ।’ २०३४ मा स्थापित स्वास्थ्यचौकी २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । २०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा सुरु गरिएको र २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।

४५ हजारलाई स्वास्थ्य सेवा
अस्पतालले आर्थिक वर्ष ०७५÷७६ मा करिब ४५ हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । मेसु डा. पौडेलका अनुसार बहिरंग सेवाबाट ३९ हजार ७ सय ४२ लाई सेवा प्रदान गरिएको छ । त्यस्तै आकस्मिक सेवाबाट ५ हजार २ सय ५, भर्ना भएका १ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको डा. पौडेलले बताए । अस्पतालले ४ हजार ७८ जनालाई आँखा, ६ सय ७ महिलालाई प्रसूति, १ हजार ३ सय १८ लाई दाँत, ४ हजार ९९ लाई एक्स–रे, १ हजार १ सय ९४ लाई दन्त एक्स–रे, १ हजार ५ सय ६० लाई सर्जरी र १ हजार ८ सय ७० जनालाई अल्ट्रा साउन्डको सुविधा प्रदान गरेको छ ।

अस्पतालले चालू आवदेखि नै सेवाग्राहीलाई सुविधा प्रदान गर्न टोकन प्रणाली पनि लागु गरेको छ । टोकन प्रणाली लागु भएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीहरूले टिकट काट्नका लागि लाइन बस्नुपर्ने झन्झट हटेको छ । २ लाख ५० हजारको लागतमा जडान गरिएको टोकन मेसिनबाट टोकन लिएपछि सेवाग्राहीले आफ्नो पालोमा सेवा लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया