रोशनीको कोठाका सामान फरेन्सिक ल्याबमाः प्रतिवेदनमा शाही कुटिएको पुष्टि

समाधान संवाददाता २०७६ असोज २९ गते १३:४७

समाधान संवाददाता
काठमाडौं

प्रहरीले बलात्कार प्रयासको गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको चस्मा, उनले समातेको गिलास, जुत्ताको तलुवा लगायत सामग्री परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाएको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीले महरामाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा शाहीको कोठाबाट बरामद भएका सामग्री परीक्षणका लागि फरेन्सिक ल्याब पठाएको हो ।

Advertisement

ल्याबबाट रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ती सामग्रीमा महरासँग जोडिने आधार भेटिए यकीन गर्न महराको डिएनए जाँच गर्न पनि सकिन्छ । तर, फरेन्सिक रिपोर्ट आएपछि ती वस्तुको पुष्ट्याइँ गर्न डिएनए आवश्यक पर्ने १ प्रहरी अधिकारीले बताए । डिएनए परीक्षण गर्नुपरे महराको रगत झिक्नुपर्ने हुन्छ । ‘बलात्कार भएको थियो भने केही चिजवस्तु छोडिएको रहेछ भने डिएनए परीक्षण गर्दा देखिन्छ । प्रयास हुँदा छोडिएका वा भेटिएका चिजवस्तु प्रमाणित गर्न पनि डिएनए परीक्षण आवश्यक देखिन्छ,’ १ उच्च अधिकारीले भने ।

प्रहरीले असोज १२ गते शाहीको कोठाबाट महराको फुटेको चस्मा, गिलास, जुत्ताको तलुवा, रक्सीको बोतल लगायत बरामद गरेको थियो । शाहीको शरीरमा लागेका चोट परीक्षण भइसकेको छ । चोट परीक्षणका क्रममा ‘कसैले हिर्काएको’ पुष्टि भएको प्रहरीले जनाएको छ । ‘शाहीको कोठामा महरा गएको भन्ने प्रमाणित नै भइसकेको र कसैले हिर्काएको डाक्टरी रिपोर्ट आएकाले त्यो महराबाटै भएको हो भन्न सकिन्छ,’ ती अधिकारीले भने ।

Advertisement

तपाईको प्रतिक्रिया