‘चुङ्सी गुफा’ प्रवद्र्धन गर्दै लाेघेकर गाउँपालिका

समाधान संवाददाता २०७६ असोज ३० गते १५:२९

तस्बिरः निमा विवश घिलिङ

एसके थकाली
जोमसोम

मुस्ताङका विभिन्न क्षेत्रमा दर्जनौं गुफा छन् । यी गुफा ऐतिहासिक घटनाहरु पनि सम्बन्धित छन् । उपल्लो मुस्ताङको लोघेकर गाउँपालिका ३ चुङ्सीमा रहेको गुफा धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण छ ।

Advertisement

चुङ्सी गुफा सदियौं पुरानो मानिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा बुद्ध धर्मको उदय हुनुअगावै यो गुफा उत्पति भएको स्थानीय बताउँछन् । चुङ्सी भन्ने स्थानमा गुफा भएकाले यसलाई चुङ्सी गुफा भनिएको वडाध्यक्ष सम्तेन धावा गुरुङ बताउँछन् । चुङ्सीमा धार्मिक महत्वका ३ वटा गुफा छन् ।

विभिन्न देवी देवताका आकृति र वास्तुकला यहाँ देख्न सकिन्छ । यी गुफा हिन्दु र बौद्ध धर्मका लागि समेत महत्व रहेको बताइन्छ । चुङ्सी नजिकका २ पहाडको खोचको गुफामा कुनै समय तिब्बती गुरु पद्य सम्भव अर्थात रिम्र्पोछेले ध्यान गर्ने गरेको बताइन्छ ।

Advertisement

पहिलो गुफाको भित्री भागमा अनौठो आकारमा चक्कुुन, शङ्ख, गुरु रिम्र्पोछे रुखको छहारी, रिम्र्पोछेको पैतालाको डोब, देवी देवताका खेत, रिम्र्पोछेले लगाउने छेगुम राङ्झेन र गुफाभित्रै साना ठूला हिमालय पर्वत जस्ता कलात्मक आकृति छन् । पहिलो गुफाको कडा चट्टाने पहाडबाट निस्केको पहेलो रङको माटो धार्मिक गुम्बामा हुने महाकाल पूजाआजामा प्रयोग हुने वडाध्यक्ष सम्तेन धावाले बताए ।

दोस्रो गुफामा भित्ते ढुंगामा कुदिएको जस्तो हात्तीको आकार छ । गुफाभित्रै पाप र धर्म छुट््याउने विश्वास गरिएको सानो गुफा छ । पाप गर्ने व्यक्ति गुफाबाट बाहिर आउन नसक्ने र धर्म गर्ने व्यक्ति बाहिर निस्कने धार्मिक मान्यता छ । तेस्रो गुफाको भित्तामा जीउ सर्पको जस्तो र टाउको चराका जस्तो आकृति पनि छन् । दाहिनेतर्फ खोला छेउको भित्तामा ससाना प्वालहरु छन्, जहाँ नुनिलो पानी छ । यी छिद्रबाट पानी बाहिर निस्कदैन तर गिलासको सहायताले सयौं लिटर नुनिलो पानी यहाँबाट निकाल्न सकिन्छ ।

तल्लो भेगका मुस्ताङी समर हँुदै २ घण्टा पैदल हिडेर चुङ्सी गुफा दर्शन गर्न जान्छन् । उपल्लो मुस्ताङीहरु घिलिङ हँुदै यहाँ पुग्छन् । चुङ्सी गुफा आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण धार्मिक केन्द्र भएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट बताउँछन् । चुङ्सी गुफा संरक्षण तथा स्तरोन्नतिका लागि पालिकाले बजेट बिनियोजन गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप) र स्थानीयले समेत गुफा संरक्षणमा योगदान गरेका छन् ।

हरेक पूर्णिमा र दसैंमा यहाँ लामाहरुबाट पूजाआजा गरिन्छ । धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण भए पनि प्रचारप्रसार नहुँदा चुङ्सी गुफाबारे धेरैलाई थाहा छैन । गुफा राष्ट्रिय गौरवको जोमसोम कोरला मुख्य सडकको पश्चिम खोलाको खोचमा छ । पछिल्लो समय घिलिङका स्थानीयले गुफाको संरक्षण तथा व्यवस्थापन गर्दै आएको शिक्षक निमा विवशले जानकारी दिए ।

तपाईको प्रतिक्रिया