शुक्लागण्डकीका सबै वडा आफ्नै भवनमा

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १४:१६

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाका ५ वटा वडा कार्यालयका भवन बनेका छन् । गत आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रकमले भवन निर्माण भएका हुन् ।

वडा नं. ३, ४, ९, १० र ११ नं. वडा कार्यालयको भवन बनाइएको हो । वडा नं. ३ को भवन हालै रंरोगन गरी फर्निचरको व्यवस्थापन गर्न बाँकी रहेको वडा अध्यक्ष राम श्रेष्ठले बताए । वडा नं. ४, ९, १० र ११ का कार्यालय नयाँ भवनमा सरेर काम सुरु गरिसकेका छन् । वडा नं. ४ को कार्यालय नगर परिसरमै निर्माण गरिएको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ ।

Advertisement

११ नं. वडा कार्यालयको भदौको दोस्रो साताबाट नयाँ भवनबाट सेवा प्रदान थालेको वडा अध्यक्ष दलबहादुर थापाले जानकारी दिए । सुरुवातमा वडा नं. ३ ले वनकेवास्थित आमा समूह, ४ ले नगरपालिका, ८, ९ र १० ले ढोरफिर्दी गाविसको भवन, ११ ले आमा समूहको भवनबाट सेवा प्रवाह गरेका थिए । जनप्रतिनिधि आएपछि आर्थिक वर्ष २०७४÷०७५ मा नगरले ५ वटा वडा कार्यालयको भवन निर्माणका लागि ५०÷५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आफ्नै वडा कार्यालय नहुनेले नगरपालिका, आमा समूह, सहकारी अन्य वडा कार्यालयबाट सेवा प्रदान गर्दै आएका थिए ।

वडा नं. १, २, ५, ६, ८ र १२ नं. वडा कार्यालयले भने साबिक गाविस भवनलाई उपयोग गरे । वडा नं. १ ले तत्कालीन थप्रेक गाविस, २ ले तत्कालीन दुलेगौंडा २ को भवन, ५ ले दुलेगौंडा ८ को भवन, ६ ले खैरेनीटार गाविस, ८ ले ढोरफिर्दी गाविस र १२ ले फिरफिरे गाविसको भवनलाई प्रयोग गरे । वडा नं. ७ ले सुरुवातमा भाडामा र पछि खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्थाको भवनबाट सेवा प्रदान भइरहेको वडा अध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । उनका अनुसार सहकारीकै भवन खरिद गर्ने तयारी भएको छ ।

Advertisement

वडा नंं ३ का अध्यक्ष रामकुमार श्रेष्ठले निर्माण व्यवसायीका कारण भवन सम्पन्न गर्न ढिलाइ भएको बताए । उनले वडाको सिफारिस नलिई ठेकेदारलाई नगरपालिकाले भुक्तानी दिएको टिप्पणी गरे । श्रेष्ठले लक्ष्मीपूजाका दिन नयाँ भवनमा सर्ने तयारी भएको जानकारी दिए । ५ वटा वडा कार्यालयको भवन तयार भएसँगै १२ वटै वडा कार्यालयका आफ्नै भवन तयार भएका छन् ।

तपाईको प्रतिक्रिया