ढुम्बातालमा दैनिक ५ सय पर्यटक

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १४:०२

एसके थकाली
जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनीस्थित ढुम्बाताल पछिल्लो ३ वर्षयता निकै चर्चामा छ । प्राकृतिक सौन्दर्यले भरिएको यो तालमा अचेल दैनिक ५ सय पर्यटक पुग्ने गरेका छन् ।

मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आएका पर्यटक फर्किंदा ढुम्बा ताल पुग्ने गरेका छन् । ढुम्बा ताल रेस्टुरेन्टकी सञ्चालक निमा लामा गुरुङका अनुसार ताल अवलोकन गर्न तथा फोटो खिच्न अचेल दैनिक ५ सय पर्यटक आइरहेका छन् ।

Advertisement

ताल अवलोकनका लागि स्वदेशी पर्यटकका लागि १० र विदेशी पर्यटकका लागि २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अन्नपूर्ण फेरो अन्तर्गत वैकल्पिक पदमार्गसमेत भएकाले विदेशी पर्यटक ढुम्बा हुँदै बेसी झर्ने गरेको लामाले बताइन् ।

ढुम्बा तालमा दर्जनौं नेपाली चलचित्र तथा म्युजिक भिडियो छायांकन भईसकेको छ । चलचित्रको छायांकन तथा सामाजिक सञ्जालका माध्यमबाट ढुम्बा तालको चर्चा चुलिएको हो । यहाँ प्रेम गीत, चिनो, छिरिङ र जेरी लगायत चलचित्र छायांकन भएको छ । पछिल्लो समय जोमसोममा बास बस्ने पर्यटक एकपटक ढुम्बा ताल पुग्ने गरेको होटल ताजकी सञ्चालक तृष्णा गौचनले जानकारी दिइन् ।

Advertisement

ढुम्बा ताल कुछ्प तेरंगा गुम्बाको स्वामित्वमा छ । लेकको संरक्षण तथा व्यवस्थापन कुछ्प तेरंगा गुम्बा व्यवस्थापन समितिले गर्दै आइरहेको छ । गुम्बाले नै लेकको पूर्वाधार विकास र व्यवस्थापन रेखदेख गरेको छ । तालमा आउने पर्यटकको सुविधाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले विश्रामस्थल निर्माण गरेको एक्याप प्रमुख तुलसी दाहालले जानकारी दिए ।

ढुम्बा ताल नीलगिरि हिमालको काखैमा छ । समुद्री सतहदेखि २७ सय ६० मिटर उचाइमा अवस्थित नीलो रङको ढुम्बा तालको आकृति त्रिभुज जस्तो देखिन्छ । ढुम्बा तालको उत्तरी र दक्षिणी भाग फुकेको छ । पश्चिमतर्फको भाग पुच्छरजस्तो गरी फैलिएको छ । करिब १ सय ५० मिटर लम्बाइ र ७० मिटर चौडाइ रहेको ढुम्बा ताल सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्छ । बर्सेनी हिउँदयामको मौसममा तालको पानी जम्छ । यहाँबाट कालिगण्डकी करिडोर, स्याउ बगैचा, जोमसोम आसपासका बस्ती देख्न सकिन्छ ।

जोमसोम देखि कच्ची सडक बिस्तार भइरहेको छ भने गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेट मार्फत कालोपत्रे सडकको योजना समेत परेको छ । रिङरोड सडक अवधारणा अनुसार ढुम्बा तालसम्म कालापत्रे निर्माण तय भएको हो ।

ढुम्बामा ११ सय वर्ष पुरानो कुछ्प तेरंगा गुम्बा पनि छ । गुम्बामा विशेष पूजापाठ गर्नु अघि ढुम्बा तालमा चोखो पानी चढाउने चलन छ । यसरी यस लेकमा चोखो पानी नचढाइकन पूजा गरिए पूजा अपूर्ण हुने लामा सुरेश थकालीले जानकारी दिए । उनका अनुसार ढुम्बा लेकमा माछा मार्न र पौडी खेल्नसमेत मनाही गरिएको छ ।

तपाईको प्रतिक्रिया