कृषि कामदार लैजान जापानी टोली नेपालमा

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १४:०७

समाधान संवाददाता
काठमाडौं

जापानले दोस्रो चरण अन्र्तगत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कृषिका विभिन्न क्षेत्रमा कामदार लैजानका लागि जापानले अध्ययन गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटका क्रममा जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट कृषि, मत्स्य तथा खाद्य क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताए । नेपाल र जापानबीच भएको समझदारी अनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

Advertisement

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धानसमेत गर्ने बताए । नेपाल र जापानबीच भएको श्रम समझदारी अनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे । जापानले नेपाली कामदारलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने जापानी प्रतिनिधि मण्डलले उल्लेख गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र जापानबीचको समझदारी कार्यान्वयन प्रक्रियाले अझ तीव्र एवं व्यवस्थित रूपले अगाडि बढ्ने अपेक्षा राखे । नेपालमा कृषिमा आबद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै मन्त्री विष्टले नेपालबाट कृषिसम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए । उक्त प्रक्रियाका लागि नेपालले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । नर्सिङ केयर गिभर लिने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउनसमेत उनले अनुरोध गरे ।

Advertisement

जापानले नेपालसहित ९ मुलुकबाट कामदार लैजान प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा नर्सिङ केयर गिभरका लागि हालै भाषा परीक्षा सञ्चालन भएको छ । आउँदो डिसेम्बरभित्र भाषा र सीप परीक्षण पूरा गरेर नेपाली कामदार छनोट गर्ने जापानको तयारी छ । जापान भाषा परीक्षाका लागि विद्युतीय लक्की ड्रमार्फत १ हजार परीक्षार्थी छानिएका थिए । तीमध्ये भाषा परीक्षामा उत्कृष्ट हुनेमात्रै जापान जान पाउने छन् ।

छलफलका क्रममा नेपाल र जापानबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै निजी क्षेत्रबीच सम्बन्ध स्थापित गर्ने सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया